बलात्कारीलाई फाँसीको माग

काठमाडौं । महिला नेतृहरूले बलात्कारका घटना वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै दोषीलाई फाँसीको सजाय दिनुपर्ने आवाज उठाएका छन् । दिनहुँ बलात्कार र महिला हिंसाका घटनामा वृद्धि भएको भन्दै उनीहरूले घटनालाई निरुत्साहित र अपराधीलाई सजाय बढाउन माग गर्दै सरकारको ध्यानकर्षण गराएका हुन् ।

प्रदेश—३ को नेपाल कम्युनिस्ट पार्टीकी इन्चार्जसमेत रहेकी सांसद अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर अपराध र अपराधी मनोवृत्तिलाई निरुत्साहित र निमिठ्यान पार्न सरकारले समयमै ठोस निर्णय लिन दबाब दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले बलात्कारीलाई फासीको सजाय हुनुपर्छ भन्ने आम माग भइरहेको सन्दर्भमा सरकारले पनि यसमा सोच्ने बेला आएको बताएका छन् । ज्ञापन पत्रमा भनिएको छ,‘महिला हिंसा विशेष गरेर बालिका र किशोरीमाथि हुने बलात्कार र हत्याजस्ता जघन्य अपराधमा गरिनुपर्ने सजाय अपर्याप्त छ अब सजायलाई अझै कठोर बनाउन फाँसी दिने व्यवस्था गरिनुपर्छ भन्ने आम माग भइरहेको सन्दर्भमा सरकारले गम्भिर भएर सोच्ने र निर्णय लिने बेला भएको छ ।’

महिला नेतृहरूले वर्षदिन नपुगेका बालिकादेखि ७० वर्ष कटेका वृद्ध आमाहरू समेत बलात्कृत हुने गरेको भन्दै महिला विरुद्धका हिंसात्मक घटनाहरू दिनप्रतिदिन त्रूmरतापूर्वक डरलाग्दो तरिकाले बढिरहेको उल्लेख गर्दै महिला शरिर लिएर जन्मनु अपराधजस्तै भएको बताएका छन् ।

‘यदि समयमा बालबालिका, किशोरी र महिला हिंसाका विरुद्ध कठोर कानुन बनाउन र पीडितलाई समयमै न्याय दिने कुरामा सरकार चुक्यो भने लोकतन्त्र फेरि पनि खतरामा नपर्ला भन्न सकिदैन ।’, ज्ञापनपत्रमा अगाडी भनिएकोछ,‘तसर्थ, नेपाली जनता विशेष गरी नेपाली महिलाहरूको धैर्यको बाँध फुट्नुभन्दा पहिला अपराध र अपराधी मनोवृत्तिलाई निरुत्साहित र निमिट्यान पार्न सरकारले समयमै ठोस निर्णय लिओस् यसका लागि हामी सरकारको ध्यानाकर्षण र जोडदार माग गर्दछौँ ।’

पत्र बुझेपछि मन्त्री थापाले दोषीलाई दिने कानुन परिमार्जन गरिने बताएका छन् । देशका विभिन्न स्थानमा पछिल्लो पटक भइरहेको महिला हिंसाका घटनामा संलग्न दोषीलाई कानुनको कठघरामा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘कानुन अनुसारका सजाय अपर्याप्त छन, अब कठोर कानुन निर्माण गरिन्छ, यस्ता घटना न्यूनीकरणका लागि बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने गरी कानून परिमार्जन गर्न सुझाव आएका छन्’, मन्त्री थापाले भेटका भने । नेत्री शाक्यसहित, सांसद दीपक भट्ट, रामकुमारी झाक्री, नेत्री गरिमा शाह, दिलु पन्तलगायत गृहमन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया