सात लाख पुस्तक न्यून दृष्टियुक्तको पहुँचमा

काठमाडौं । न्यून दृष्टियुक्त व्यक्तिले अब करिब सात लाख पुस्तक अनलाइनबाटै पढ्न पाउने भएका छन् । डेजी नेपाल मञ्चले पत्रकार सम्मेलन गरी पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट न्यून दृष्टियुक्तका लागि पढाइ दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नदेखे नि पढौँ’ अभियानअन्तर्गत डेजी र इपब पुस्तक अनलाइनमा उपलब्ध गराउने ‘बुकशेयर’ ले ती पुरस्तक अनलाइनमा राखेको जानकारी दिएको छ ।

ती पुस्तक अनलाइनमा अंग्र्रेजी र हिन्दीलगायत ३६ भाषामा पढ्न पाइन्छ । बुकशेयरले नेपाली न्यून दृष्टियुक्तलाई समेत बुकशेयरको निःशुल्क सदस्यता प्राप्त गर्ने निर्णयसमेत गरेको छ ।

नेपाली न्यून दृष्टियुक्त तथा एन्ड्रोइडको प्रयोगबाट श्रव्य पुस्तक पढ्ने अभ्यासलाई सर्वव्यापक बनाउने सन्दर्भमा अपांगता, अधिकार र विकासका लागि क्रियाशील–नेपाल (एड्राइ) नामक संस्थाको समन्वय र बुकशेयर, नेपाल नेत्रहीन संघ र रोटरी क्लब जावलाखेललगायतको सहकार्यमा ‘नदेखे नि पढौँ’ विषयको क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी काठमाडौँ र पोखरामा सञ्चालन भएको थियो ।

डेजी नेपाल मञ्चका संयोजक डा. वीरेन्द्रराज पोखरेलले अभियानअन्तर्गत मोबाइल ई–पुस्तक पढ्नका लागि पोखरा र काठमाडौँमा गरी ६०० न्यून दृष्टियुक्त विद्यार्थीलाई ई–एन्ड्रोइड मोबाइल उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिक्रिया