खानेपानी अभावले स्कुल बन्द

पाँचथर । तुम्बेबा गाउँपालिकामा खानेपानीको चरम अभाव छ । खानेपानीका अभावले विद्यालय बन्द हुन थालेका छन् । गाउँमा पानीका मूल छैनन् । पानी लिन घण्टौँ हिँडेर टाढा जानुपर्ने बाध्यता छ ।

विद्यार्थीहरू पानीका कारण स्कुल जान छाडेका छन् । विद्यालय जाने विद्यार्थी पानी खान नपाएर कक्षा छोड्दै घर फर्किन थालेको शिक्षकहरू बताउँछन् । विद्यार्थी पढ्न जान छोडेपछि स्कुल बन्द भएका छन् ।

खानेपानी नभएर विद्यार्थीहरू स्कुल आउन नमान्ने आहालेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक तिलक दाहालले बताए । यो क्षेत्रलाई सुख्खाग्रस्त भनेर गाउँपालिकाले घोषणा गरेको छ । यो गाउँमा ४० वटा सामुदायिक विद्यालय छन् । तर, अधिकांश स्कुल पानी अभावकै कारण बन्द भएका छन् ।

खानेपानीको समाधान गर्न यहाँका गाउँलेले तलब दिएर कर्मचारी भर्ति गरेका छन् । सरस्वतीे स्कुलमा दिनको ३ गाग्रो पानी बोक्न महिनाको ३ हजार तलब दिएर कर्मचारी खटाएको विद्यालयका प्रअ दाहालले जानकारी दिए ।

चन्द्र कुमारी तामाङलाई स्कुलले पानी बोक्न कर्मचारी राखेको छ । उनले दैनिक ३ घण्टा हिँडेर पानी बोक्छिन् । पानी र भवनको समस्या स्कुलले झेलिरहेको छ । भूकम्पले भत्किएको भवन अझै मर्मत गरिएको छैन । रकम नभएकोले मर्मत गर्न कठिन भएको स्कुल व्यवस्थापन समितिले जनायो । खानकै लागि पानी छैन, भवन बनाउन त झन् बजेट छैन, प्रअ दाहालले भने ।

स्कुलमा मात्र नभई सिंगो गाउँमै खानीपानी अभाव छ । पानी नपरेर अन्न उत्पादनमा कमी छ । यो गाउँमा केही वर्षदेखि पानी परेको छैन । पानी नपरेपछि प्रदेश सरकारले गाउँको अध्ययन सुरु गरेको छ । प्रदेश–१ का अर्थमन्त्री इन्द्रबहादुर आङवोले मौसम विज्ञको टोलीको साथ उक्त ठाउँको अनुगमन गरेको छ ।

खानेपानी नहुँदा बालबालिका स्कुल जानबाट वञ्चित भएको विषय गाउँलेले मन्त्रीसमक्ष गुनासो पोखेका छन् । स्कुलको लागि चन्द्रकलाले ३ घण्टाको उकालो–ओरालो बाटो हिँडेर दिनमा ३ गाग्रो पानी ल्याउने गरेकी छिन् । जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटाले तत्कालै पानीको व्यवस्था गर्न गाउँपालिकालाई सुझाव दिएको जनाए ।

प्रतिक्रिया