ट्यांकी भत्किँदा खानेपानीको हाहाकार

बझाङ । खानेपानी आयोजनाको ट्यांकी भत्किँदा बझाङको तलकोट गाउँपालिका–५ खौला बजारवासीलाई एक सातादेखि खानेपानीको निकै हाहाकार भएको छ । गाउँपालिकाकै पुरानो र ठूलो मानिने पायल खानेपानी आयोजनाको रिजर्ब ट्यांकी जीर्ण भई भत्किएपछि खौला बजारवासीलाई खानेपानीको समस्या भएको हो ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा ०५२ सालमा निर्माण भएको सो खानेपानी आयोजना जीर्ण भई भत्किएपछि आजकाल सो क्षेत्रका २ सय ५० घरधुरीका बासिन्दालाई पिउनेपानीको समस्या भएको छ ।

खानेपानी आयोजना जीर्ण हँुदा सो क्षेत्रमा रहेका गाउँपालिका कार्यालय, विद्यालय, स्वास्थ्यचौकीलगायत खौला बजारमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले जानकारी दिएका छन् । आयोजना पुरानो र जीर्ण भएकाले खानेपानीका धारासमेत भत्किएका छन् भने पाइपहरू छताछुल्ल अवस्थामा रहेका छन् ।

खानेपानी आयोजना भत्किँदा स्थानीयवासीलाई कपडा धुन, सरसफाइ गर्न, पिउन र गाईबस्तुलाई खुवाउन निकै समस्या भएकोे छ । पानी नहँुदा खौला बजारमा आवतजावत गर्नेहरूलाई समेत खानेपानीको समस्या भएको स्थानीयवासीले जानकारी दिएका छन् । खानेपानीको समस्या समाधानका लागि स्थानीयवासीले सरकोकारवाला निकायसँग माग गर्दै आएका छन् ।

विगतमा खौलावासीलाई खानेपानीको निकै सहज भएको थियो स्थानीय रघुवीर सिंहले भने, ‘आजकाल आयोजना अलपत्र भएपछि खानेपानीको निकै हाहाकार भएको छ ।’

बजारमा पानीको अभाव भएपछि शौचालय पनि प्रयोगविहीन अवस्थामा छन् । खानेपानीको अभाव देखिएपछि आजकाल तरकारी खेती गर्न पनि असहज भएको खौलाबासी बताउँछन् । स्थानीय निकायसँग पटकपटक माग गर्दै आएका भए पनि खानेपानीको समस्या भने हालसम्म सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ ।

यस आवमा गाउँपालिकाले खानेपानी समस्या समाधान गर्न योजना बनाएको तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले बताए । उनले भने, ‘अलपत्र अवस्थामा रहेको यो योजना विगत लामो समयदेखि निरन्तर थियो तर आजकाल जीर्ण हँुदा भत्किएको हो यसको निर्माणका लागी गाउँपालिका तयार रहेको छ ।’

प्रतिक्रिया