बर्सेनि ३५ हजार नयाँ क्यान्सर रोगी


चितवन । नेपालमा बर्सेनि ३५ हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ । चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै नेपालमा हरेक एक लाखमध्ये १ सय २० जनामा क्यान्सर रोग लाग्ने गरेको बताएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यका अनुसार नेपालमा क्यान्सर रोग लाग्नेमध्ये २० प्रतिशतको मात्रै रोग पत्ता लाग्ने गरेको छ । केही व्यक्तिको अस्पतालमा उपचार गर्न ल्याउने क्रममा मृत्यु हुने तथा केही व्यक्तिको रोग पत्ता नलाग्दै मृत्यु हुने गरेको आचार्यको भनाइ छ ।

नेपालमा हाल ६० हजारभन्दा बढीलाई क्यान्सर रोग लागेको उल्लेख गर्दै आचार्यले ३० प्रतिशत क्यान्सर रोगीले मात्रै समयमा उपचार पाउँदा निको हुने गरेको बताए ।  नेपालमा १० देखि ७० प्रतिशत व्यक्तिलाई खानपिनका कारण क्यान्सर रोग लाग्ने गरेको भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपप्रमुख एवं जनस्वास्थ्य अधिकृत भोला सिवाकोटीले बताए ।

क्यान्सर रोग लागेका व्यक्तिमध्ये ८० प्रतिशत व्यक्तिले धूमपान गर्ने गरेको पाइएको भए पनि धूमपान मात्रै गर्ने मानिसलाई क्यान्सर हुने सम्भावना १६ प्रतिशत हुने सिवाकोटीको भनाइ छ । नेपालमा धूमपान गर्ने मानिसको संख्या घटेको भए पनि किशोरावस्थामा धूमपान गर्नेको संख्या भनेको बढेको अध्ययनले देखाएको सिवाकोटीले बताए ।

स्वास्थ्य अभियानका अभियन्ता डाक्टर मृगेन्द्र पाण्डेले गरेको अध्ययनअनुसार नेपालमा धूमपान गर्ने पुरुषको संख्या ४८ बाट घटेर ३६ प्रतिशत तथा महिलाको संख्या २४ बाट घटेर १८ प्रतिशत पुगेको सिवाकोटीले बताए । नेपालमा सबैभन्दा बढी क्यान्सरका बिरामी काठमाडौंमा रहेको सिवाकोटीले बताए ।

सन् २०१५ को अध्ययनअनुसार काठमाडौंमा १ हजार ८९ जनामा क्यान्सर भेटिएको तथा चितवनमा सोही समयमा ३ सय ९० जना क्यान्सरका बिरामी भेटिएको सिवाकोटीले बताए ।  सन् २०१७ मा नेपालमा ९ हजार ५ सय व्यक्तिमा क्यान्सर रोग भेटिएकोमा भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीमध्ये ४ हजार ९ सय ७५ जनामा क्यान्सर भेटिएको थियो ।

क्यान्सरको उपचारलाई सहज बनाउनका लागि अस्पतालले ‘किमो क्याबिनेट’ (किमो बनाउने उपकरण) समेत थप गर्दै छ । हाल अस्पतालले चारवटा किमो क्याबिनेटबाट क्यान्सरका बिरामीलाई किमोथेरापी गराउँदै आएको छ ।

अस्पताल भर्ना भएर बसेका बिरामीलाई ५२ बेडबाट किमो चढाउने काम भइरहेको भए पनि डे–केयर सेन्टरमार्फत दैनिक ६० जना बिरामीलाई किमो चढाउँदै आइएको कार्यकारी निर्देशक आचार्यले बताए ।

अस्पतालले नयाँ भवन थप गरेसँगै किमो चढाउनुपर्ने बिरामीको लागि सय बेड पुर्याउने तयारी गरेको आचार्यको भनाइ छ । सय बेडबाट किमो सेवा पुर्याउनका लागि थप तीनवटा किमो क्याबिनेट जडान गर्ने तयारीमा अस्पताल रहेको आचार्यले बताए ।
क्यान्सरका बिरामीहरूले चाँडो अप्रेसन पाऊन् भन्ने उद्देश्यले अस्पतालले नयाँ भवनमा आठवटा मेडुलर अप्रेसन कक्ष थप गर्ने तयारी गरेको आचार्यको भनाइ छ । हाल दुईवटा मोडुलर अप्रेसन कक्ष निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आचार्यले क्यान्सरका बिरामीले अब उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको उपस्थितिमा भरतपुरको क्यान्सर अस्पतालले विविध कार्यक्रमसहित बुधबार १९औँ वार्षिकोत्सव तथा १४औँ क्यान्सर सतर्कता दिवस मनाएको छ ।

प्रतिक्रिया