रेलमार्गका लागि घरधुरी सर्वेक्षण


कञ्चनपुर । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्वेक्षणको काम पूरा भएको हो ।

रेलमार्गमा पर्ने पाँच सय घरधुरी प्रभावित हुने देखिएका छन् । सामुदायिक विद्यालयका दुई शौचालय र इलाका हुलाक कार्यालय अत्तरियाको भवन रेलमार्गमा पर्ने देखिएको मेची–महाकाली विद्युतीय रेलमार्ग परियोजनाका सामाजिक विज्ञ सुभाषचन्द घिमिरेले बताए ।
विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड–गड्डाचौकी गरी चार भागमा विभाजन गरी काम अगाडि बढाइएको उनले बताए ।

परियोजनाअन्तर्गत रेल्वेको ट्र्याक राख्ने ठाउँ यकिन गर्ने, जग्गाको लेखाजोखा राख्ने, आवासीय क्षेत्रको घरधुरी सर्वेक्षणको काम, रुख, सञ्चार र स्टेसन राख्ने ठाउँको सर्भेको काम सेप्टेम्बर महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।

ओभरहेड ब्रिज, क्रसिङ सडक, नदी खोलालगायत क्षेत्रको माटो परीक्षणको काम पूरा भएको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए)सँगै विस्तृत इन्जिनियरिङ, सर्भे तथा डिजाइनको काम अगाडि बढाइएको छ ।

वातावरण संरक्षण नियमावली ०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्यांकन तयार गरी जनसंख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनुपर्ने प्रावधान रहेको छ । वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसायन क्षेत्र र जैविक क्षेत्रबारे मूल्यांकन गरिन्छ ।

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरिया, उदासीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साँढेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको काम र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ ।

विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि चाइनिज, कोरियन कम्पनी र नेपाली सिल्ड कम्पनीलाई जिम्मा दिइएको छ । २ सय २० किलोमिटर प्रतिघण्टाका दरले कुद्ने क्षमताको रेलमार्ग निर्माण गरिने बताइएको छ । पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ झन्डै ९ सय ५० किलोमिटर रहेको छ ।

प्रतिक्रिया