अब गरिबी सहिन्न : खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरिबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताएका छन् ।

सहिद अजबलाल स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको ‘सहिदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उनले देश र जनताको पक्षमा बलिदान गर्ने सहिदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘मुलुकले गरिबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । जनताले विश्वास गरेर दुईतिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्छ । सहिदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ लैजानैपर्छ ।’

उनले विभिन्न खाले संघर्षबाट प्राप्त संघीय गणतन्त्रलाई संस्थागत गरी संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । नेकपा प्रदेश–२ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका सहिदलाई सरकारले राष्ट्रिय सहिदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

समाज रूपान्तरणका खातिर जीवन बलिदान गर्ने सहिद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरूलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए । नेकपाका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले सहिदको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिष्ठानका अध्यक्ष शीला यादवले राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गर्ने सहिदलाई राष्ट्रले उच्च सम्मानका साथ परिवारको हेरचाहमा ध्यान दिनुपर्ने बताए । तत्कालीन नेकपा (माओवादी) जनयुद्धका क्रममा ०५८ चैत ९ मा अजबलाल यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया