१० वर्षपछि पुल बन्दा जोखिमको यात्रा सकियो

सल्यान । कुमाख गाउँपालिका बडागाउँको चिसापानी–रागेचौर–स्यानिपिप्ली हुँदै चौरजहारी जोड्ने सडक खण्ड १० वर्षपछि नियमित सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै विगत १० वर्षदेखि खोलामा गुड्ने गरेका यातायातका साधन अब सडकमा गुड्ने भएका छन् । विगत १० वर्षदेखि सो सडक खण्डमा पर्ने चिसापानीदेखि रागेचौरसम्म तीन किलोमिटर सडक खण्डको खोलामा हिँड्नुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी भएका छन् ।

यसअघि, थारमारे चौरजहारी सडक खण्डको भल्चौरको मौलहाल्नेसम्म मात्र नियमित जाँदै गरेका गाडीहरू गाउँपालिकाले सडक मर्मत गरेपछि चौरजहारीसम्म पुगेका छन् । १० वर्षअघि कम लागतमा खोलाबाट सडक बनाएको तर स्थायी नभएको भन्दै विभिन्न क्षेत्रबाट गुनासो आइरहेका वेला सडक सञ्चालनमा आएपछि यो वर्षदेखि यात्रुलाई सहज हुने भएको छ । स्थानीय तह बनिसकेपछि पहल थालिएको सडक यो वर्षबाट सञ्चालनमा आएको स्थानीय नवीन रावतले बताए ।

गत आर्थिक वर्षमा गाउँपालिकाको एक करोड लगानीमा निर्माण गरेको सडक वर्षालगत्तै बन्द हुने गरेको थियो । सडकमा खोलाको गिट्टी बालुका सहितको माटो भरेर वर्षामा पनि सडक सुचारु गर्न गाउँपालिकाले पहल थाले पनि यो सडक विगत दुई महिनादेखि बन्द रहेको उनले बताए ।

वर्षाका कारण दुई महिनादेखि गाडी नचलेको कुमाख गाउँपालिकाको बडागाउँ चिसापानी रागेचौर स्यानिपिप्ली चौरजहारी सडकमा बुधबारदेखि गाडी सञ्चालनमा आउँदा स्थानीय खुसी भएका छन् । गाउँपालिकाले सडक मर्मत गरेपछि बुधबारबाट गाडी सञ्चालनमा आएको अर्का स्थानीय काशीराम कुमाईंले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दिलमाया बुढाले आगामी आर्थिक वर्षदेखि नियमित सडक सुचारु हुने बताइन् । उनले भनिन्, ‘अब खोलामा हिँड्नुपर्ने समस्या टरेर गयो अनि पाखाबाट बनाएको सडकमा खोलाको भन्दा सजिलो र छोटो पनि हुने भएपछि सहज हुने भयो ।’ अप्ठेरो रहेको स्थानमा मर्म खोलामा ठूलाठूला ढुंगा र गिट्टी बालुवा राखेर भरेकाले सजिलो भएको उनले बताइन् ।

सो सडक खण्डमा पर्ने खोलामा केही दिन अघिसम्म खोलामा बाइक चलाउनुभन्दा पनि बगाउँदै गन्तव्यस्थलसम्म लैजाने गरेको स्थानीय लालबहादुर रावतले अहिले भने खोलाको छेउबाट सडक भएपछि रागेचौरदेखि माथि पर्ने चिसापानी र तलपर्ने स्यानी पिप्लीसम्म साइकलमा नै यात्रा गर्न सकिने बताए । कालागाउँ, बडागाउँ, मर्मपरिकाँडा, जिमाली र स्विकोट मिलेर बनेको कुमाख गाउँपालिका सडकले सुगम बनेमा जिल्लाकै मिलेको गाउँपालिका मानिने उनको भनाइ छ ।

वर्षामा बागचौर नगरपालिकाको केही भू–भागमा पर्ने सडकमा पनि पहिरोका कारण वर्षामा केही समय थारमारेबाट अगाडि नबढेका गाडी बागचौरले सडक मर्मत गरेपछि मौलो हाल्नेसम्म पुग्ने गर्थे । अहिले चौरजहारीसम्म गाडी चल्न थालेका छन् ।

यो बाटो बनेपछि सल्यान, रुकुम, जाजरकोट र डोल्पा सम्मका यात्रुलाई सहज भएको छ । स्थानीय सरकार बनेपछि स्थानीय जनता प्रतिनिधि र कर्मचारीले पनि सरोकार राख्ने भएकाले अघिल्ला वर्षहरूभन्दा अब विकासका काम पनि चाँडै हुने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया