बुटवलको गुरुयोजना तयार


बुटवल उप–महानगरपालिकाले पहिलो वर्षलाई अध्ययनका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा महत्वपूर्ण कामहरू अगाडि बढाएको बताएको छ । मंगलबार उपमहानगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गर्दै उपमहानगरपालिकाले पाँच वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना तयार गरेको सार्वजनिक गरेको छ।

गुरुयोजना निर्माणको निम्ति विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासीहरू र विभिन्न सरोकारवाला निकायहरूसँग सुझाव संकलनसमेत गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् ।

‘यो चरणसँगै विभिन्न विषयगत समितिहरूमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट बुटवल उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरिएको छ’, प्रमुख सुवेदीले नगर प्रोफाइल पाश्र्वचित्र निर्माण गर्ने कामसमेत सम्पन्न भएको बताए ।

हिलपार्कमा विशाल बुद्ध मूर्ति बन्ने
हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे तथा जग्गा एकिन गर्ने काम सम्पन्न गर्दै डिपिआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए । यो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने गरी डिजाइन भइरहेको बताइएको छ ।  यस्तै शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने काम भइरहेको छ । मिलनपार्कको विकासका लागि गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

जितगढीमा सिंहको सालिक र राष्ट्रिय झण्डा
तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिर सिंहको पूर्णकदको सालिक बनाइने भएको छ । जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको प्रमुख सुवेदीले बताए । यो कामको डिजाइन तयार पारी निर्माण कार्यका प्रक्रिया अगाडि बढाइएको छ ।

विभिन्न विज्ञहरूसँगको अन्तक्रिया र छलफलमार्फत ऐतिहासिक धरोहर जितगढी किल्लाको संरक्षण र प्रवद्र्धन गर्न कार्यपालिकाको बैठकबाट ७ वैशाखलाई जितगढी विजयोत्सवका रूपमा मनाउने ऐतिहासिक निर्णय गरिएको साथै जितगढी किल्लाको बारेमा पर्चा निर्माण गरी वितरण भइरहेको छ ।

वडा १ र २ पुरातात्विक बस्ती
बुटवल उपमहानगर–१ र २ लाई पुरातात्विक बस्तीको रूपमा विकास गर्र्न र बुटवल–१ मा अवस्थित पुरानो नपा भवन भएको स्थानमा बटौली संग्रहालय निर्माण गरिने भएको छ । यो कामका लागि डिपिआर तयार पार्ने काम अगाडि बढाइएको छ । हिलपार्कमा जनजाति संग्रहालय र मोतिपुरमा थारू संग्रहालय निर्माणका लागि गुरुयोजना निर्माण गर्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले बताए । बुटवलको खास पहिचान नै पारि बुटवल (वडा १ र २ का क्षेत्र) मानिन्छ ।

नरैनापुरमा भ्यू टावर बन्ने
पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ । नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रूपमा विकास गर्ने अवधारणाको डिपिआर तयार पार्ने काम भइरहेको छ ।

साथै पार्क संरक्षणका लागि कम्पाउन्ड वाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेसनका रूपमा विकास गर्न निजी क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ । यसका साथै तिनाउ गाउँपालिकाको सहकार्यमा विकास योजना तयार पार्ने काम भइरहेको बुटवलले जनाएको छ ।

डिजिटल प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करिब ४० हजारभन्दा बढी घरहरूको डिजिटल प्रविधिमा आधारित घर नम्बरिङ गर्ने काम सम्पन्न भएको छ । निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक उपकरणहरूको खरिद गरी प्रयोगशाला निर्माण गर्ने काम भइरहेको छ ।

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरधुरीको लगत संकलन गरी अमिनमार्फत नापजाँच गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

जवाईमा उजिर सिंह जवई रंगशाला बनाइने
जवई खेल मैदानलाई फुटबल रंगशालाको रूपमा विकास गर्न डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ । यो खेलमैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँगसमेत समन्वय गरिरहेको छ । प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो । उपमहानगरले यहीँ मैदानलाई बनाउन प्रस्ताव गरेको छ ।
यस्तै सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरिपरि हिँडडुल गर्न ट्रयाक बनाउने काम भएको छ । सेमलारमा आधुनिक कबर्डहल निर्माण र नगरका अन्य वार्डहरूमा स–साना खेलमैदानहरूलाई स्तरोन्नति गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा तथा क्षमता विकास
७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र एकल महिला गरेर कुल ७ हजार २ सय ७४ जना लाभग्राहीलाई जनही दुई हजारका दरले चाडपर्व खर्च वितरण गर्नुका साथै पाँच वर्ष मुनिका दलित बालबालिकालाई पोषण प्रोत्साहन कार्यक्रमअन्तर्गत जनही दुई हजार प्रदान गर्ने काम सम्पन्न भएको छ ।

जेष्ठ नागरिक परिचयपत्र र सामाजिक सुरक्षा परिचयपत्र सम्बन्धित वडाबाट वितरण गर्ने, एकल महिलाहरूको तथ्यांक संकलन गर्ने, अपांग मैत्री सहर बनाउन अपांगता भएका व्यक्तिहरूको तथ्यांक संकलन गरी कार्ययोजना निर्माण गर्ने र लैंगिक हिंसामुक्त बुटवलको कार्ययोजना निर्माण गर्ने काम सम्पन्न गर्नुका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत ११ व्यक्तिलाई ह्विलचियर र २० जनालाई सेतो छडी प्रदान गर्ने काम सम्पन्न भएको छ ।

नगरप्रमुख युवा इलम कार्यक्रमअन्तर्गत सरोकारवाला निकायहरूसँगको सहकार्यमा कोर्स डिजाइन गर्ने, वडा स्तरबाट तालिम लिन चाहने व्यक्तिहरूको छनोट गर्ने र तालिम प्रदायक संस्थाहरूसँग सम्झौता गर्ने काम सम्पन्न गरी ३ सय ५० जना युवालाई तीन महिने सीपमूलक तालिम प्रदान गर्ने काम सुरु गरिएको छ । यसका अतिरिक्त करिब पाँच सय जनालाई कौसी तरकारी तालिम प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ज्ञवाली, महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाललगायतले पत्रकारहरूका जिज्ञासाबारेमा बोल्नुभएको थियो ।

पत्रकारहरूले बुटवलको प्राथमिकता, सडक,खानेपानी, घरबहाल कर, पर्यटन क्षेत्र, अव्यवस्थित बसोबासी र अबको लक्ष्य लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया