ओली र प्रचण्डको संकीर्ण वामपन्थी सोच

पूर्व मालेले बहुदलीय र निर्दलीय व्यवस्थालाई एउटै ड्याङको मुला ठान्ने सोचाइ राखेको थियो । प्रतिगमनविरुद्ध संघर्षका क्रममा पूर्व–माओवादीको राजा र कांग्रेसलाई समान रूपले विरोध गर्ने विचार पनि यस सन्दर्भमा उल्लेखनीय छ यद्यपि, व्यवहारमा उनीहरूले राजापरस्त सोचाइ अपनाउन पुगेका थिए ।

चिजहरूलाई हेर्ने द्वन्द्वात्मक दृष्टिकोणका कारणले पञ्चायतकालीन समयमा राजाका राष्ट्रियता वा कोदारी राजमार्गसम्बन्धी कतिपय नीतिहरूलाई हामीले समर्थन गरेका थियौँ । तर, यसको अर्थ यो थिएन कि, हामीले सम्पूर्ण रूपले राजावादी नीति अँगालेका थियौँ।

त्यस्तै, अरू विषयमा पनि हाम्रा नीतिका कुराहरू इतिहासमा साक्षीका रूपमा रहेका छन्, जस्तो कि, उग्रवामपन्थी विचार धाराका विरुद्ध भयानक संघर्षहरू चलेका छन् तर यसको अर्थ यो थिएन कि, उनीहरूको सुधारको स्थिति वा प्रगतिशील कार्यहरूलाई समेत अस्वीकार गर्नु।

माओवादीहरूले आफ्नो सशस्त्र गतिविधिको अवधिमा हाम्रा कैयौँ साथीहरूलाई अपहरण गर्ने, कुटपिट गरी अंगभंग बनाउने र ज्यानसमेत लिएका कैयौँ उदाहरणहरू जीवित छन् र त्यसका विरुद्ध हाम्रो पार्टीको ठूल्ठुला संघर्षहरू पनि भए । यी सबैका बाबजुद पनि हामीले उनीहरूलाई दुश्मन शक्तिका रूपमा व्याख्या गरेका थिएनौँ र उनीहरूलाई सधैँ नै मित्रशक्तिको रूपमा लिएका थियौँ ।

कुनै संगठन वा शक्तिप्रतिको हाम्रो नीति त्यसका तत्कालीन गतिविधि र कार्यशैलीका आधारमा तय गरिएको भएता पनि त्यसलाई हेर्ने हाम्रो मूल दृष्टिकोण त्यसको वर्ग चरित्रका आधारमा नै निर्धारित हुन्छ। कमरेड राम सिंहले भने झैँ पहिले भएको बैठकमा हामीबीचमा पार्टी एकताका लागि आधार तयार पार्न बहस र छलफल गर्दै जाने सहमति भएको हो ।

हाम्रो पार्टीले उनीहरूसँग मात्र होइन, देशका अन्य वामपक्षीय वा सार्वजनिक रूपले पनि त्यस प्रकारको बहस र छलफलका लागि ढोका खुला राखेको कुरा स्पष्ट छ । यस सन्दर्भमा यो कुरामा पनि स्पष्ट हुन आवश्यक छ कि बहस र छलफलका लागि ढोका खुला रहनु र पार्टी एकता गर्नु फरक कुराहरू हुन् । महामन्त्री कमरेड मोहन विक्रम सिंहले पार्टीको यस प्रकारको नीतिबारे बारम्बार प्रकाश पार्दै आएका छन् ।

कमरेड राम सिंहले लेखेका छन्, ‘नेकपा (मसाल) ले पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्ने कुरा तत्कालको विषय हुन नसक्ने र कार्यगत एकताका लागि मात्र छलफल गर्ने कुरा आएपछि नेकपा  (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा पार्टीको एकताका लागि आधार तयार पार्ने छलफल र बहस गर्ने कुरा तत्कालका लागि स्थगित भएको छ।’

कमरेड राम सिंहले रणनीतिक विषयहरूलाई उल्लेखित गरेर वर्तमान राजनीतिक भूमिकाका लागि अपनाइने कार्यनीतिबाट आफ्नो दृष्टिकोणलाई पूरै अलग गरेर पार्टी एकताको आधार तयार हुने कुरामा जोड दिनुभएको छ । रणनीतिक महत्व राख्ने विषयहरूमा कुरा गर्दा हामीले इतिहासका यी घटनाहरूलाई स्मरण गर्नु आवश्यक छ कि, झापा विद्रोहको उद्देश्य नेपालमा जनवादी व्यवस्था स्थापना गर्ने भनिएको थियो ।

हो, नेपालमा जनवादी व्यवस्था स्थापना गर्नुपर्दछ र यसका लागि हामीले लामो संघर्ष गर्दै आएका छौँ तर किन झापा विद्रोहसित हाम्रो सहमति हुन सकेन ? हामीले किन माओवादी सशस्त्र गतिविधिलाई सही मानेनौँ ? इतिहासले हाम्रो समझदारी र विश्लेषणलाई कसरी सही सावित गरिदियो ? यी प्रश्नका उत्तरहरूका लागि हामीले नेपालको कम्युनिस्ट आन्दोलनको वास्तविकतालाई हेर्नुपर्दछ।

के कमरेड राम सिंहले यो वास्तविकतालाई विचार गरेर कार्यनीतिका विषयहरूको महत्व र औचित्यमाथि ध्यान दिन आवश्यक ठान्छन् ? यदि, त्यसो हो भने रणनीतिक विषयहरूमा हाम्राबीचमा रहेका सहमतिहरू मात्र पार्टी एकताको आधार तयार पार्नका लागि काफी छैनन् भन्ने कुरा प्रष्ट छ ।

तर, कमरेड राम सिंहले केही रणनीतिक विषयहरूलाई हाम्रा मुख्य सहमतिका आधार बताएर यो कुरा लेख्छन, ‘कतिपय कार्यनीतिका विषयहरूमा समान दृष्टिकोण नहुँदानहुँदै पनि पनि नेकपा (क्रान्तिकारी माओवादी) ले नेकपा (मसाल) सँग पार्टीको एकताको आधार तयार पार्न छलफल बहस गर्ने प्रस्तावलाई अगाडि बढाएको हो ।

पार्टी एकताका लागि आधार तयार पार्ने छलफल बहस र अगाडि बढेको भए समान दृष्टिकोण नभएका कार्यनीतिका विषयहरू दुई पार्टीका बीचमा आन्तरिक छलफलको विषय हुने थियो ।’ यस विषयमा हामी उनीहरूलाई इतिहासको यो पक्षतर्फ ध्यान आकर्षण गराउन चाहन्छौँ । नेकपा (मसाल) र तत्कालीन नेकपा (एकता केन्द्र) को करिब चार वर्षे लामो गृहकार्यपछि पनि केही कार्यनीतिका विषयहरूमा सहमति हुन सकेन ।

तर, त्यसका बाबजुद पनि अन्तरपार्टी बहस र छलफलद्वारा ती समस्याहरूलाई समाधान गर्ने निर्णयका साथ पार्टी एकीकरण भएको थियो । भविष्यमा यो कुरा सावित भयो कि, कार्यनीतिका विषयमा रहेका तिनै मतभेदहरू नै पार्टी विभाजनका लागि कारण बने । त्यो विभाजनले पूर्व मसालको शक्तिलाई धेरै नै धक्का पुग्यो ।

कमरेड राम सिंहले यो कुरालाई बिर्सेर कार्यनीतिका प्रश्नमा मतभेद भए पनि ती प्रश्नहरूमा आन्तरिक रूपमा छलफल गर्दै पार्टी एकता गर्न सकिन्छ भन्ने विचार प्रकट गरेका छन् तर एकता केन्द्रसँगको पार्टी एकताको कटु अनुभवमाथि विचार गर्दा त्यस प्रकारको सोचाइ अत्यन्त घातक हुने कुरा प्रष्ट छ ।

त्यस प्रकारको गलत पार्टी एकताको परिणाम थियो कि उनीहरूसित पार्टी एकता गरेको चार वर्षसम्म पार्टीमा आन्तरिक र सार्वजनिक दुवै रूपमा द्वन्द्व चलिरह्यो । त्यो द्वन्द्वको क्रममा नै स्वयं कमरेड राम सिंहको नेतृत्वमा एउटा पक्ष हाम्रो पार्टीबाट अलग भएर गएको उदाहरण पनि हाम्रा अगाडि छ । हामीले पुनः त्यस प्रकारको गलत सांगठनिक पद्धतिलाई पुनः दोहोर्याउन चाहदैनौँ।

स्वयं उनको लेखबाट हाम्राबीचमा कार्यनीतिका प्रश्नहरूमा तीव्र मतभेद भएको कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरूसित पार्टी एकतालाई स्थगित गर्ने हाम्रो विचार सही भएको कुरा बुझ्न गाह्रो पर्दैन । यदि, त्यो पक्षको उपेक्षा गरेर हामीले उनीहरूसित पार्टी एकता गरेको भए हामी एकता केन्द्रसित पार्टी एकता गरेर दलदलमा फसेजस्तो स्थिति सिर्जना हुने कुरा निश्चित थियो ।

त्यो दलदलबाट निस्कन हामीलाई अर्को चार वर्ष लाग्न सक्दथ्यो वा हाम्रो पार्टी पूरै नै त्यसमा डुबेर गायव हुन्थ्यो । नेकपा (क्रान्तिकारी माओवादी) का कमरेडहरूमा रणनीतिक विषयहरूलाई कार्यनीतिका रूपमा राख्ने गम्भीर वैचारिक समस्या छ। प्रतिक्रियावादी राज्यसत्ताभित्र क्रान्तिकारीहरूले तत्कालीन परिस्थितिको ठोस विश्लेषणसहित निर्वाह गर्नुपर्ने राजनीतिक भूमिकाप्रति उनीहरूले नकारात्मक दृष्टिकोण राख्छन् ।

यही नकारात्मक दृष्टिकोणका कारणले संविधानसभा, गणतन्त्र, संविधानसभाको चुनाव, संविधान आदि विषयहरूलाई बुर्जुवा ठानेर तिनीहरूको विरोध गर्न वा निषेध गर्न पुगेका छन् । यस प्रकारको सोचाइले माक्र्सवादी र लेनिनवादी सोचाइसित होइन, अराजकतावादी सोचाइसित बढी मेल खान्छ ।

त्यस प्रकारको सोचाइको नै परिणाम हो कि उनीहरूले जनआन्दोलनका उपलब्धिहरूलाई पूरै नै अस्वीकार गर्छन् । त्यस प्रकारको सोचाइले उनीहरूलाई अग्रगमन होइन, प्रतिगमनको नजिक पुर्याउँछ । पूर्वमाओवादीमा त्यस प्रकारका सोचाइहरू प्रशस्त थिए । त्यसका अवशेषहरू अहिले उनीहरूमा पनि केही न केही पाइन्छन् ।

हाम्रो पार्टीले केपी–प्रचण्डद्वारा नेतृत्व गरिएको नेकपालाई कम्युनिस्ट पार्टीको रूपमा स्वीकार गर्दैन र उनीहरूले निर्माण गरेको सरकारलाई वामपन्थीको सरकार पनि भनेको छैन । हामीले खालि वामपक्षको सरकार भनेका छौँ । वामपन्थी र वामपक्ष अलग अलग अर्थ बोकेका शब्दहरू हुन्। नेपालको सन्दर्भमा वामपक्ष एउटा ढुलमूले र सुधारवादी शक्ति हो ।

त्यसमा सामन्त, दलाल नोकरशाही पुँजीपति वर्ग वा साम्राज्यवाद र विस्तारवादसित साँठगाँठ गर्ने प्रवृत्ति हुन्छ । त्यसैले, त्यो ढुलमूले, अवसरवादी र सम्झौतापरस्त शक्ति हो। अहिलेको नेकपामा भएका प्रवृत्तिहरूको सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ र हुने पनि छ । अहिलेको नेकपाको निम्न पुँजीपति चरित्रको कारणले त्यसमा त्यस प्रकारका प्रवृत्तिहरू हुन्छन् र हामीले त्यस प्रकारका प्रवृत्तिहरूको सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ र हुने पनि छ ।

तर, त्यो कारणले त्यसलाई दुश्मन शक्तिको पंक्तिमा घचेट्नु वामपन्थी संकीर्णवादी सोचाइ हो । उनीहरूले त्यसलाई सामन्त र दलाल तथा पुँजीपतिको संगठन बताएर त्यसलाई वर्गीय र रणनीतिक रूपले नै दुश्मन शक्तिको रूपमा व्याख्या गर्छन् । तर, त्यो निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने संगठन भएको हुनाले वर्गीय र रणनीतिक रूपमा नेकपा हाम्रो मित्रशक्ति हो।

यस सन्दर्भमा हामीले एमाले र माओवादी केन्द्रको एकतालाई सकारात्मक रूपमा लिएको कुरा पनि उनीहरूका लागि आपत्तिको विषय बनेको छ । खासगरी, उनीहरूको एकताबाट बनेको नेकपालाई प्रतिक्रियावादी शक्तिका रूपमा नै विश्लेषण गर्ने र त्यो शक्तिलाई कुनै पनि गुञ्जायसको रूपमा देख्न नसक्ने उनीहरूको दृष्टिकोणका कारण हाम्रो उनीहरूप्रतिको दृष्टिकोणप्रति त्यो आपत्ति आएको बुझ्न कुनै गाह्रो पर्दैन ।

वास्तवमा देशको तत्कालीन परिस्थिति र आवश्यकता आधारमा नै हामीले यो कुरालाई सकारात्मक बताएका थियौँ । नेपाली कांग्रेस गठबन्धनको सरकारको विजय भएको भए गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतासमेतमा गम्भीर आँच पुग्ने खतरा थियो । त्यसको तुलनामा एमाले र माओवादी गठबन्धनका नीतिहरू बढी सकारात्मक थिए ।

त्यसैले, हामीले उनीहरूसित सहकार्य गरेका थियौँ र चुनावमा उनीहरूको विजयलाई स्वागत गरेका थियौँ । उनीहरूको (नेकपा र नेका) लाई समान रूपले प्रतिक्रियावादी र दुश्मन शक्ति ठान्ने सोचाइ ठीक त्यस्तै हो । जस्तै : कि कुनै वेला पूर्व मालेले बहुदलीय र निर्दलीय व्यवस्थालाई एउटै ड्याङको मूला ठान्ने सोचाइ राखेको थियो ।

प्रतिगमनका विरुद्धको संघर्षको क्रममा पूर्व माओवादीको राजा र कांग्रेसलाई समान रूपले विरोध गर्ने विचार पनि यस सन्दर्भमा उल्लेखनीय छ । यद्यपि, व्यवहारमा उनीहरूले राजापरस्त सोचाइ अपनाउन पुगेका थिए । कमरेड राम सिंहले वर्तमान सरकारको आलोचना गर्दै नेकपासम्बन्धी जुन धारणा व्यक्त गरेका छन्, त्यसले सैद्धान्तिक महत्व राख्दैन ।

राजनीतिक रूपमा ती कतिपय कुराहरूको महत्व भए पनि एउटा जिम्मेवार राजनीतिक शक्तिले सैद्धान्तिक महत्वलाई बढी प्राथमिकतामा राखेर नै आफ्ना दृष्टिकोण बनाउन आवश्यक हुन्छ ।

हामीले नेकपासितका गम्भीर सैद्धान्तिक र राजनीतिक मतभेदका बाबजुद पनि देशको आवश्यकतका आधारमा उनीहरूसितको कार्यगत एकतालाई जोड दिने कुरालाई कमरेड राम सिंहले रणनीतिक दृष्टिकोणजस्तो अर्थमा परिभाषित हुनेगरी प्रस्तुत गरेकाले त्यसबाट भ्रमहरू पनि सिर्जना भएका छन् ।

कुनै शक्तिप्रतिको विश्लेषण एउटा सैद्धान्तिक पक्ष हो भने त्यससित अपनाइने व्यवहार कार्यगत एकताको नीति अन्तर्गतको विषय हो । कार्यगत एकता देशको तत्कालीन आवश्यकता वा अन्य परिस्थितिमा पनि तत्काल पैदा हुन सक्ने विशेष अवस्थामा निर्धारण गरिने कुरा हो ।

तर, उनीको कार्यनीतिका रूपमा पनि रणनीतिक विषयहरूलाई जोड दिने ‘वामपन्थी’ संकीर्ण सोचाइका कारणले उनीहरूले ती दुवैका बीचको अन्तरलाई ठीकसँग बुझ्न सक्दैनन् र हामीले कार्यनीतिकरूपमा अपनाएका नीतिहरूलाई पनि रणनीतिक रूपमा बुझ्ने गल्ती गर्छन् । यो उनीहरूको चिन्तनमा भएको गम्भीर कमजोरी हो । त्यही प्रकारको कमजोरीका कारणले कुनै कार्यनीति रणनीतिक अनुरूप नभएको कारणले त्यसको विरोध गर्न पुग्छन् ।

प्रतिक्रिया