वीरको क्षमता र सेवामा विस्तार

काठमाडौं । नेपालकै पुरानो एवं ठूलो अस्पतालको रूपमा परिचित वीर अस्पतालमा क्रमैसँग क्षमता र सेवा विस्तार हुँदै आएको छ । वीरको इमर्जेन्सीमा शय्यालगायत भवने थप गरिएको हो ।

सस्तो रकममा स्वास्थ्य सेवा पाइने अस्पतालमा यसअघि इमर्जेन्सीमा २२ शय्या मात्र थिए । सोमबारदेखि थप १० गरी अब ३२ शय्या भएको छ । चाँडै नै ४२ वटा पु¥याउने लक्ष्य रहेको निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।

‘सबैभन्दा धेरै बिरामी आउने भनेकै वीर अस्पतालमा हो । बेड नथप्दा त चाप बढी नै थियो तर, हाल १० वटा थपियो तर पनि एउटै बेडमा दुईजनाको समेत उपचार गर्नुपर्ने अवस्था छ’ वीर अस्पतालका निर्देशक डा. बस्नेतले भने ।

दुई हप्ताभित्रै फेरि १० शय्या थपेर ४२ वटा पु¥याउने भन्दै निर्देशक डा. बस्नेतले भने, ‘धेरै गाह्रो भएको बिरामीलाई डाक्टरको आँखाले ठ्याक्कै देखिने वा अगाडि पट्टि राख्ने त्यसपछिको लाइनमा ठिकै खालका बिरामी गर्दै राखिने गरेका छौँ’ उनले थपे, ‘इमर्जेन्सीकै अगाडि नयाँ भवन बन्दै छ ।

अबको दोस्रो हप्ताभित्रै माथिल्लो तलामा बिरामीलाई कसरी उपचार गर्ने भन्ने परामर्श वा डाक्टरहरूको सल्लाह गर्ने कोठा बनाइनेछ । त्यसको मुनि १० इमर्जेन्सीको बिरामीको लागि बेड थप्छौँ ।’

१ सय २९ वर्षअघि ५ शय्याबाट सुरु भएको अस्पतालमा हाल ३ सय ८० शय्या रहेका छन् । भूकम्पअघि ४ सय ८६ शय्या थियो तर भुकम्पपछि अस्पतालको भवनमा क्षति भयो, त्यसपछि ३ सय ८० शय्या हुन पुगेको हो ।

वीरमा नेपाल सरकारले उपचार सहायताका लागि तय गरेका विरामीको स्वास्थ्य उपचार निःशुल्क दिँदै आएको छ । मुटु, मृर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेलका बिरामीको लागि सेवा निःशुल्क छ ।

निर्देशक डा. बस्नेतका अनुसार गतवर्ष सरकारले निःशुल्क उपचारका लागि पाँच करोड दिएको र अस्पतालले पनि पाँच करोड बराबरकै स्वास्थ्य सेवा निःशुल्क गरेको थियो । गरिब र विपन्न वर्गका बिरामीलाई भने अवस्था हेरेर अस्पतालले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया