रौतहट एसिड काण्ड: एकोहोरो प्रेमकाे परिणाम

१८ वर्षीया सम्झनाले एकोहोरो प्रेम स्वीकार नगर्दा छिमेकी ५० वर्षीय रामबाबु पासवानले एसिड हानेर भागेको प्रहरीको भनाइ, प्रहरीद्वारा अभियुक्त सार्वजनिक

रौतहट । चन्द्रनिगाहपुर–६ का ५० वर्षीय रामबाबु पासवान छिमेकी १८ वर्षीया सम्झनाकुमारी दासलाई खुबै मन पराउथे । घर पनि नजिकै भएको र लामो समयदेखि मन पराउँदै आएका थिए । तर, एकोहोरो रूपमा ।

उनले पटक–पटक सम्झनालाई प्रेम प्रस्तावसमेत राखेका थिए । पासवान छिमेकी भएकाले सम्झनाको घरमा आऊजाऊ पनि बाक्लै हुने गरेको थियो। जुन कुरा सम्झनालाई मन पर्दैनथ्यो। किनकि, उनको आऊजाऊको बाहना अर्कै थियो ।

यसक्रममा पासवानले सम्झनाको मोबाइलमा समेत सम्पर्क गर्न कोसिस गरिरहेका थिए । उनले पटक–पटक फोन गरेर उनलाई प्रेम प्रस्ताव स्वीकार गर्न दबाब दिने गर्दथे । तर, सम्झनाले उनको फोनको वास्ता नै गर्न छाडेकी थिइन् ।

पटक–पटक फोन गर्दा र भेट्न बोलाउँदा पनि आउन नमानेपछि रिसले चुर भएका पासवानले मनमा भयानक योजना बनाए । युवतीको मुखमा एसिड प्रहार गर्ने ।

सोही योजनाअनुसार उनले सम्झनालाई भदौ २६ गते मध्यराति सुतिरहेको ठाउँमा एसिड छर्किएर भागे । सम्झनालाई प्रहार गरेको एसिड उनीसँगै सुतेकी बहिनी १५ वर्षीया सुस्मिता दासलाई पनि पर्यो। एसिड प्रहार भएपछि दुवैजना चिच्याए ।

लगत्तै परिवारका सदस्य छोरीहरू सुतेको ठाउँमा पुगे । त्यसको एकैछिनपछि तिनै एसिड प्रहार गर्ने पासवान पनि त्यहाँ आइपुगे । तेजाब आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।

अनुहारमा तेजाब लागेर घाइते दुवै दिदी–बिहिनीको उपचार काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ । यसबीचमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो । त्यसक्रममा प्रहरीले सम्झनाको कल डिटेलको खोजी गर्न थाल्यो । परिवारजनले पनि पासवानमाथि आशंका व्यक्त गर्दै किटानी जाहेरी दिएका थिए ।

यसक्रममा प्रहरीले घटनाको ७ दिनपछि कीर्तिपुर अस्पतालबाट पासवानलाई प्रक्राउ गर्यो । उनी आफैँ एसिड छर्किएर आफैँ बिरामी कुरुवाका रूपमा बसिरहेका थिए । उनी बिरामीका बुबा जादोलाल दाससित कुरुवा बसिरहेका बेला सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रक्राउ गरेको हो ।

घरदेखि उपचारका लागि कीर्तिपुर अस्पतालसम्म पनि पासवान तेजाबले घाइते भएकी दास दिदी–बहिनीनजिकै थिए । एकतर्फी प्रेम गर्दै आएका पासवानले तेजाब छर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको रौतहट प्रहरीको भनाइ छ । मोबाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीको बयानका आधारमा पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपीले सम्झनाको मोबाइलमा १५ दिनमा १ सय ८० पटक फोन गरेको पाइएको छ । सयौँपटक फोन गर्दा पनि किशोरीले फोन रिसिभ नगर्दा आक्रोशमा आएर तेजाब आक्रमण गरेको हुन सक्ने रौतहटका प्रहरी प्रमुख केदार ढकालले बताएका छन् । जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच, प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि स्थानीयले दोषीलाई कडाभन्दा कडा कारबाहीको मागसमेत गरेका छन् । सम्झनाको शरीरको ३५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । उनको सघनकक्षमा राखेर उपचार भइरहेको छ । बहिनी सुस्मिता भने खतरामुक्त रहेको बताइएको छ। उपचारमा खर्चको अभाव भएपछि विभिन्न संघसस्था तथा व्यक्तिले रकम सहयोग गरेका छन् ।

गरिब परिवारकी दास दिदी–बहिनीको उपचार सहयोगका लागि चन्द्रनिगाहपुरका स्थानीय, संघसंस्था तथा समाजसेवीले दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले २० हजार सहयोग गरेको छ । साथै चन्द्रपुर नगरपालिकाले पनि उपचारका लागि १ लाख ५० हजार दिने प्रशासन कार्यालयले जनाएको छ ।

तेजाब छर्केको विषयमा दोषी ठहरिए नयाँ मुलुकी संहितामा अनुहार कुरूप पारे ५ वर्षदेखि ८ वर्ष कैद र १ देखि ५ लाखसम्म जरिवाना, शरीरको अन्य भाग कुरूप बनाए वा शरीरमा पीडा गराएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख जरिवाना हुने व्यवस्था रहेको छ । घाइते सम्झनाले जनज्योति माविमा कक्षा ७ मा पढेर छाडेकी थिइन् भने १५ वर्षीया सुस्मिता त्यही विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया