राष्ट्रिय विज्ञान दिवस : समृद्धिका लागि विज्ञान–संस्कृति

नेपाली जनमानसमा विज्ञान प्रविधिसम्बन्धी सचेतना जगाउने अभिप्रायले हरेक वर्ष असोज २ गतेका दिनलाई राष्ट्रियस्तरमा विज्ञान दिवसको रूपमा मनाउने गरिएको छ । यसवर्ष विज्ञान दिवसको नारा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ भन्ने रहेको छ

वास्तवमा कुनै पनि मुलुकको सामाजिक–आर्थिक समृद्धिका लागि विज्ञान प्रविधिको विकास हुनु अति नै आवश्यक मानिन्छ । विज्ञान प्रविधिले कुनै पनि मुलुकको सामाजिक आर्थिक समृद्धिमा अहम् भूमिका भूमिका निर्वाह गरेको हुन्छ ।

विगत केही दशकदेखि विज्ञान प्रविधिको समुचित विकास र प्रयोगले गर्दा विश्वका धेरै मुलुकहरू आफ्नो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तरमाथि उकास्दै उन्नतिको शिखरमा पुग्न पूर्ण रूपमा सफल भएका छन् ।

टाढाको कुरा नगरौँ । हाम्रै दुुई छिमेकी मुलुक चीन र भारत पनि आज विज्ञान प्रविधिको यथोचित प्रयोगद्वारा सामाजिक तथा आर्थिक विकासको दिशामा प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेका छन् । त्यसैले, हामीले पनि आफ्नो मुलुकको उन्नति र विकासका लागि विज्ञान प्रविधिको विकासमा यथेष्ट ध्यान दिनुपर्ने खाँचो देखिएको छ ।

वास्तवमा मुलुकमा नयाँ संविधान निर्माणपछि आर्थिक समृद्धिको प्रसंग उठिरहेको वेलामा समयको माग र आवश्यकतासँगै विज्ञान र प्रविधिको पनि विकास गरी यसलाई उचित प्रयोग गर्न सकिएको खण्डमा नै नेपाल र नेपाली जनताको आर्थिक सामाजिक जीवनस्तर उकास्ने कार्यमा महत्वपूर्ण टेवा पुग्न जाने कुरा निर्विवाद छ ।

विडम्बनाको कुरा के छ भने विज्ञान प्रविधि क्षेत्रको यति व्यापक महत्व र भूमिका रहँदा रहँदै र जनताको आर्थिक–सामाजिक जीवनस्तर उकास्न गहन योगदान पुर्याउन सक्ने स्पष्ट हुँदाहुँदै राज्यबाट अझै पनि यसले उचित प्राथमिकता पाउन सकिरहेको छैन । जसको फलस्वरूप नेपालले विज्ञान प्रविधिको अधिकतम उपयोग गरी हाल गम्भीर समस्याको रूपमा देखा परिरहेको गरिबी न्यूनीकरण गर्न एवं जनताको आर्थिकस्तर उकास्न यसको प्रयोग समुचित रूपमा गर्न सकिरहेको छैन ।

जबकि, विज्ञान प्रविधिको समुचित विकासले नै गरिबी निवारण गर्न, कृषि व्यवसायको आधुनिकीकरण गरी जनताको जीवनस्तरमाथि उकास्न र वातावरणीय विनाशलाई रोक्न वा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा घाम जत्तिकै छर्लंग भइसकेको छ । निश्चय पनि विज्ञान र प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान भनेको छोटो वा अल्प समयमै पूरा हुने कुरा होइन ।

यसका लागि निकै लामो समय, श्रम र लगानीको आवश्यकता पर्दछ । त्यसमाथि विज्ञान प्रविधिको क्षेत्रमा राज्यले गर्ने लगानी अत्यन्त कम रहेको कतिपय बुद्धिजीवीको धारणा आफ्नो ठाउँमा छँदै छ । तर, एउटा यथार्थ र व्यावहारिक कुरा चाहिँ के पनि हो भने नेपालजस्तो गरिब मुलुकका लागि राज्यले आफ्नो राष्ट्रिय बजेटको ठूलो अंश केवल विज्ञान प्रविधिको क्षेत्रमा मात्र भनेर छुट्याउन सक्तैन ।

त्यसैले, यसका लागि सामान्य नेपाली जनताको आधारभूत आवश्यकीय वस्तु परिपूर्ति गरी उनीहरूको जीवनस्तरमाथि उकास्न सघाउ पुग्ने क्षेत्रहरू जस्तै : कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधीको पहिचान एवं प्रशोधन, वैकल्पिक ऊर्जा स्रोत जस्तै : सौर्य ऊर्जा, वायु ऊर्जा, वायो ग्यास आदिजस्ता क्षेत्रमा बढी केन्द्रित रहेर आफ्नो लगानी बढाउन सकियो भने यसबाट देशको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने ठहर विज्ञहरूको रहेको छ ।

अर्को महत्वपूर्ण पक्ष के हो भने हाम्रो अर्थ व्यवस्था कृषिमा आधारित छ । त्यसैले, कृषि प्रधान मुलुकमा कृषि पैदावार बढाउने र यसमा आधारित उद्योग धन्दाको खाँचो हुन्छ । त्यसैले, हामी मुलुकको सन्दर्भमा भन्नुपर्दा कृषि क्षेत्रलाई आधुनिकीकरण तथा वैज्ञानिक कृषि प्रणालीलाई बढी महत्व दिइनु आवश्यक हुन्छ ।

यसका लागि स्थानीय कच्चा पदार्थलाई नै अधिकतम प्रयोग गर्न सकिने किसिमको निर्माण क्षेत्रको प्रविधिलाई बढावा दिनुपर्दछ । त्यसपछि अहिलेको परिप्रेक्ष्यमा वैकल्पिक ऊर्जा स्रोत जस्तै  सौर्य शक्तिलाई अधिकतम् उपयोग गर्ने, प्रशोधन वा अर्ध प्रशोधन, चिस्याउने, सुकाउने, संरक्षण गर्नेजस्ता विज्ञान प्रविधिको माध्यमबाट गर्नुपर्ने अन्य कार्यहरूलाई पनि हामीले प्राथमिकतासाथ अघि बढाउनुपर्ने हुन्छ ।

त्यस्तै, वर्तमान समयलाई सूचना प्रविधिको युग पनि भनिन्छ । साँच्चै भन्ने हो भने विश्वमा एक प्रकारको नयाँ क्रान्ति नै ल्याइदिएको छ सूचना प्रविधिले । सूचना प्रविधिको विकासले गर्दा सिँगो मुलुक आज एउटा सानो गाउँमा परिणत हुन पुगेको छ र हामी घरको एउटा सानो कोठामा बसेर विश्को कुना कुनामा सन्देश आदनप्रदान गर्न र विश्व गतिविधि हेर्न र बुझ्न समर्थ भएका छौँ ।

त्यसैले, सूचना प्रविधिको यो व्यापकतालाई हृदयंगम गरी हामीले विज्ञान प्रविधिको माध्यमबाट मुलुकको समग्र विकासका लागि यस क्षेत्रको अधिकतम उपयोगतर्फ पनि यथोचित ध्यान पुर्याउनु अति नै आवश्यक देखिन्छ । खासगरी, मुलुकमा सुशासन कायम गरी जनताको दैनिक काम चुस्त र पारदर्शी ढंगले समयमै सम्पन्न गर्नका लागि विद्युतीय शासन पद्धतिलाई प्रभावकारी रूपमा लागू गर्न विज्ञान प्रविधिको प्रयोग आवश्यक मात्र नभई अपरिहार्य नै देखिन्छ ।

विज्ञान प्रविधिको सन्दर्भमा चर्चा गर्दा यहाँ उल्लेखित गर्नैपर्ने कुरा के हो भने विज्ञान प्रविधिसम्बन्धी विकास, खोज, अनुसन्धान र प्रवर्धनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को स्थापना ०३९ साल मंसिर २० गते भएको हो ।

नास्टले मुख्यतया मुलुकमा विज्ञान तथा प्रविधिको विकासका निमित्त उपयुक्त वातावरणको सिर्जना गर्ने, राष्ट्रका लागि आवश्यक विज्ञान तथा प्रविधिसम्बन्धी नीति तथा योजना तर्जुमा गर्ने र वैज्ञानिक तथा प्राविधिक क्षमताको अभिवृद्धिमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने गर्दछ। नास्टका गतिविधिहरू मुख्यतः विज्ञान प्रविधिसम्बन्धी क्षेत्रकै अध्ययन र अनुसन्धानमा केन्द्रित छ ।

नास्टद्वारा सञ्चालित यस्ता अनुसन्धानमूलक गतिविधिहरूमा वैकल्पिक ऊर्जा जस्तै: सौर्य ऊर्जा, वायु ऊर्जा, हरित ऊर्जा, वायोमास आदि र औषधीजन्य वनस्पति आदि रहेका छन् भने यसको अलावा ग्रामीण समुदायमा उपयुक्त हुने किसिमको स्थानीय प्रविधिको विकासमा पनि यसले अध्ययन अनुसन्धान गर्दै आइरहेको छ । विज्ञान र प्रविधिको विकासले विश्वमा मानवीय जीवन सरल र सहज बन्दै गएको छ ।

मानिसको भौतिक सुविधामा वृद्धि हुनाका साथै जीवनशैली परिवर्तन हुनुमा समेत विज्ञान प्रविधिको देन महत्वपूर्ण रहेको छ । विज्ञान प्रविधिको चामत्कारिक विकासले एकातिर विश्वमा मानव जीवनशैलीमा नै कायापलट भएको छ भने अर्कोतिर भोक, रोग, गरिबी र पछौटेपनजस्ता विसंगति र अकाल मृत्युजस्तो त्रासदी व्यहोर्नु परेको अवस्था पनि हाम्रा सामु विद्यमान छन् ।

त्यसो त खाद्यान्न, लत्ताकपडा, आवास, शिक्षा एवं स्वास्थ्यजस्ता नेपाली जनताका आधारभूत मानवीय आवश्यकता पूरा गर्न विज्ञान र प्रविधियुक्त सीप, कौशल र जनशक्तिको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैले, उन्नत प्रविधिको हस्तान्तरण, आर्थिक स्रोतको व्यवस्थित परिचालन तथा नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाका माग वास्तवमा विज्ञान एवं प्रविधिको पृष्ठभूमिको सन्दर्भमा सोच्नुपर्ने कुरा हुन् ।

तथापि, नेपालजस्तो अल्पविकसित मुलुकको हकमा भने हाम्रो आफ्नै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी विज्ञान प्रविधिको विकासद्वारा नयाँ आर्थिक समृद्धि र जनताको जीवनस्तर उकास्नेतर्फ अग्रसर रहनुपर्ने खाँचो देखिएको छ ।

यहाँ उल्लेखित गर्नैपर्ने एउटा महत्वपूर्ण कुरा के पनि छ भने हाम्रोजस्तो भौगोलिक विकटता र प्राकृतिक विविधता भएको मुलुकमा विश्व बजारबाट आयातित सबै प्रविधि उपयुक्त र उपलब्धिमूलक हुन्छ भन्न सकिँदैन ।

तिनलाई मुलुकको भौगोलिक स्थिति र वातावरण सुहाउँदो किसिमले परिवर्तन एवं परियोजनपरक बनाउनु आवश्यक हुन्छ । जुन राष्ट्रको विज्ञान र प्रविधिको क्षमतामा नै निर्भर रहने कुराहरू हुन् ।

समग्रमा भन्नुपर्दा देशमा विद्यमान गरिबी, बेरोजगारी र दक्ष जनशक्तिको अभावलाई अन्त्य गरी सामाजिक–आर्थिक विकासका गतिविधिहरूलाई अपेक्षित रूपमा अघि बढाउनुका साथै कृषि व्यवसायलाई आधुनिकीकरण एवं व्यवसायीकरण गरी वर्तमान सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा सफलीभूत पार्नका लागिसमेत विज्ञान प्रविधिको विकासतर्फ राज्यको ध्यान पुग्नु आवश्यक मात्र होइन अपरिहार्य देखिन्छ । लेखक : नास्टका निवृत्त बरिष्ठ प्रवर्धन अधिकृत हुन् ।

प्रतिक्रिया