रौतहटमा स्वाइन फ्लु र हङकङ फ्लु

राजविराज । सप्तरीको कञ्चनरूप र हनुमाननगर कंकालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेलापरेका छन् ।

ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि कञ्चनरूपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेलापरेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताए ।

कञ्चनरूप नगरपालिका–७ का हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण देखिएको बताउँदै उनले भारतको झारखण्डस्थित बाबाधाम गएर आएका कञ्चनरूप नगरपालिका–४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं ७ का साहमा स्वाइन फ्लुको संक्रमण देखिएपछि उतैबाट रोगको संक्रमण सुरु भएको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।

कञ्चनरूप र हनुमाननगर कंकालनी नगरपालिकामा बिरामी बढ्न थालेपछि २४ भदौदेखि सप्तरीको कञ्चनपुर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा १ हजार १ सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये, २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रमुख यादवले बताए ।

सोही परीक्षणपश्चात् कञ्चनरूप नगरपालिका–७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण भएको पाइएको र कञ्चनरूपका अन्य चार जना तथा हनुमाननगर कंकालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेलापरेको यादवले जानकारी दिए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबार सम्पन्न आपत्कालीन बैठकबाट प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा सहायता कक्ष राख्ने विषयमा निर्णय भएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिए ।

साथै, प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै स्वाइन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भिडभाडका कारण चाँडो फैलने भएकाले भिडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गरे ।

यसअघि, ज्वरो र रुघाखोकीबाट ग्रसित कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र वडा नं ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । यस्तै, ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरूप नगरपालिका–४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको पनि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया