जिल्ला अस्पतालमा नाभी मलम अभाव

संखुवासभा । जिल्ला अस्पताल खाँदबारीमा गत २४ गते आइतबार चैनपुर–४ की ३२ वर्षीया शर्मिला राई सुत्केरी भइन् । तर, तीन दिन बितिसक्दासमेत बच्चालाई नाभी मलम नलगाइएको उनका पति मनकुमार लिम्बूले बताए । लिम्बूका अनुसार यसबारे अस्पतालका चिकित्सकसँग बुझ्दा नाभी मलम नभएकाले प्रयोग नगरेको जवाफ दिए ।

सोही दिन सुत्केरी भएकी सभापोखरी–१ की २५ वर्षीया दीपा राईले पनि शिशुको नाभी मलम लगाएकी छैनन् । यस अस्पतालमा औसतमा दैनिक पाँच जना सुत्केरी हुन्छन् । तर, दुई महिनादेखि जिल्ला अस्पतालमा जन्मिएका शिशुको नाभीमा नाभी मलम लगाइएको छैन ।

जिल्ला अस्पताल खाँदबारीमा दुई महिनादेखि शिशु जन्मिने बित्तिकै लगाउने नाभी मलमको अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने नाभी मलम जिल्ला अस्पतालमा अभाव भएको हो ।

एक गैरसरकारी संस्थाले उपलब्ध गराउँदै आएको नाभी मलम यस वर्षदेखि नेपाल सरकारले उपलब्ध गराउने भनिए पनि हालसम्म उपलब्ध नभएको अस्पतालका निमित्त प्रमुख लक्ष्मण खड्काले बताए । उनले जिल्ला अस्पतालमा जन्मिएका शिशुको नाभीमा नाभीमलम दुई महिनादेखि नलगाइएको स्वीकार गरे ।

उनले भने, ‘क्षेत्र र केन्द्रमध्ये कसले उपलब्ध गराउने भन्ने अन्योल भएकाले अभाव भएको हो ।’ मलम आपूर्तिका लागि पहल भइरहेकाले चाँडै उपलब्ध खड्काको भनाइ छ । जिल्ला अस्पतालमा यति लामो समयसम्म सामान्य मलमसमेत व्यवस्था हुन सकेको छैन ।

यसरी बच्चा जन्मनेबित्तिकै पाउने अधिकारसमेत उनीहरूले नपाउँदा संविधानको भाग तीन धारा ३५ मा उल्लेख गरिएको अधिकार कुण्ठित भएको छ ।

संविधानको भाग तीन धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी व्याख्या गरिएको छ भने उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनी व्याख्या गरिएको छ ।

प्रतिक्रिया