सी र पुटिनबीच शिखर बैठक हुने

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरू पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गरेका छन् । सम्मेलन यहि सेप्टेम्बर ११–१३ मा हुँदैछ । किमले भने सहभागिताका बारेमा घोषणा गरेका छैनन, तर उनको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ ।

चिनियाँ अधिकारीहरूले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरू नेताहरूसँग अलगअलग भेट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए । चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरू मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरूलाई बताए । यसैवर्ष उत्तर कोरियाली नेता किमसँग राष्ट्रपति सीले तीनपटक भेट गरिसकेका छन् ।

राष्ट्रपति सीले चिनियाँ वरिष्ठ सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औँ वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाएका छन् । यो वार्षिकोत्सवमा चिनियाँ राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए ।

उत्तर कोरियाका सन्दर्भमा ‘रोलर–कोस्टर कुटनीति’ अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गरेका छन् ।

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मंगलबार र बुधबार रहनेछन् । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनियाँ नेताको यो पहिलो सहभागिता हो ।

प्रतिक्रिया