सल्यान । निजामती दिवसको पूर्वसन्ध्यामा कर्मचारी मिलन केन्द्र सल्यानले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
दिवस मनाउने क्रममा जिल्लामा १९ भदौदेखि विभिन्न रचनात्मक कार्यहरू गर्दै आएकोमा बिहीबार अस्पतालमै पुगेर अस्पतालमा स्वास्थोपचार गराउन आएका बिरामीलाई फलपूmल वितरण गरिएको जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धीरेन्द्र भण्डारीले बताए ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको नेतृत्वमा अस्पतालमा गएर बिरामीहरूलाई स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको अधिकृत भण्डारीले बताए ।
प्रत्येक वर्ष दिवसका अवसरमा सामाजिक परोपकारका कामहरू गर्दै आएकोमा यसवर्ष पनि बिरामीहरूलाई फलपूmल वितरण गरिनुका साथै अस्पतालमा बिरामीहरूको अक्सिजनको मात्रा पत्ता लगाउने मेसिन उपलब्ध गराइएको उनले बताए ।
कर्मचारी मिलन केन्द्र सल्यानको तर्फबाट जिल्ला अस्पतालमा आउने बिरामीको अक्सिजनको मात्रा पत्ता लगाउने एसपिओ–टु मेसिन जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अर्जुन बुढालाई उपलब्ध गराइएको हुलाक अधिकृत भण्डारीले बताए । अस्पतालमा सेवा लिन आएका बिरामीहरूलाई सहज होस् भनेर अक्सिजन मेसिन उपलब्ध गराइएको उनको भनाइ छ ।
फलफूल वितरण गर्नुअघि त्रिभुवन जनता मावि लुहापिङ सल्यानको प्रांगणमा वृक्षारोपणसमेत गरिएको थियो । बिहान विद्यालय परिसर वरिपरि वृक्षारोपण गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । विद्यालयलाई सुन्दर तथा हराभरा बनाउने उद्देश्यले परिसर वरिपरि विभिन्न जातका फलफूलका विरुवाहरू रोपिएको उनले बताए ।
यसैबीच, दिवसको अवसरमा बुधबार सल्यान सदरमुकाम खलंगाको पुरानो बसपार्कदेखि खानेपानी कार्यालय सम्मको मोटरबाटो वरिपरि रहेको फोहोर संकलन गरिएको छ । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, प्रहरीप्रमुख वीरेन्द्रबहादुर शाही, तथा सरकारी कार्यालय प्रमुख, कर्मचारी, नेपाली सेना सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।
सडक सरसफाइपछि कार्यालय प्रमुखको नेतृत्वमा जिल्लाका विभिन्न कार्यालयहरूमा सरसफाइसमेत गरियो । दिवसको अवसर पारेर बिहान बजार परिसर सरसफाइ गरिएको र पछि आफ्नै कार्यालय वरिपरि रहेको जंगल फँडानी गरिएको कार्यालय प्रमुख अमरराज शर्माले बताए । दिवस, दिवसमा मात्र सीमित नभएर यस्ता उदाहरणीय काम गर्नाले समाजमा सकारात्मक सन्देश जाने भएकाले यस्तो कामको थालनी गरेको बताए ।
दिवसको अवसरमा निजामति कर्मचारीका बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको फाइनल खेल तथा अन्तरक्रिया कार्यक्रम गरी कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया