निर्देशिकाविपरीत अस्पतालहरू

काठमाडौं । स्वास्थ्य निर्देशिकाविपरीत मनोमानी ढंगले निजी मेडिकल कलेज, अस्पताल र स्वास्थ्यसंस्थाले विज्ञापन गर्दै आएका छन् ।

श्रव्यदृश्य सामग्री बनाएर कुनै पनि निजी स्वास्थ्यसंस्थाले विज्ञापन गर्न नपाउने कानुनी प्रावधान छ । सामाजिक उत्तरदायित्व राख्ने सन्देशमूलक विज्ञापन गर्नुपरेमा पहिल्यै जनस्वास्थ्य कार्यालयबाट स्वीकृति लिनुपर्ने नियम छ ।

तर, यो नियम अहिलेसम्म अधिकांश मेडिकल संस्थाले पालना गरेका छैनन् । विज्ञापन गरेर निजी स्वास्थ्यसंस्थालाई व्यापारीकरण गर्न नपाउने निर्देशिकामा प्रस्ट उल्लेख गरिएको छ ।

यो उपचार यस अस्पतालमा हुन्छ भनेर कतिपय सञ्चारमाध्यममा आएको छ, तर त्यो आउनु गतल हो । निजी मेडिकल कलेज, निजी अस्पताल र स्वास्थ्यसंस्थाले त्यसरी विज्ञापन बनाएर प्रसारण गर्न नपाउने स्वास्थ्य मन्त्रालयका चिकित्सा विभाग प्रमुख डा. रमण सिंहले जानकारी दिए । ‘विज्ञापन डाक्टरहरूको गर्न पाउँदैनन्,’ उनले भने, ‘स्वास्थ्यको कुरा गर्दा यो मिल्दैन ।’

अहिलेसम्म जति पनि विज्ञापन प्रकाशन, प्रसारण भएका छन्, यी सबै कानुनविपरीत भएको उनले बताए । स्वास्थ्य, जनसंख्या विधेययकमा यो गर्न पाइने, यो गर्न नपाइने भन्ने कुरा स्पष्ट रूपमा व्यवस्था गरिएको छ । अब कारबाहीको प्रक्रिया अघि बढाइने सिंहले जानकारी गराए । ‘डाक्टरहरूले म राम्रो छु, मेरो औषधि राम्रो छ भन्न पाउँदैनन्,’ उनले भने ।

निजी अस्पतालहरूको छाता संगठन अफिनका वरिष्ठ उपाध्यक्ष कुमारले कुनै पनि स्वास्थ्यसंस्थाले निःशुल्क सेवा दिने कुराहरू मात्रै प्रसारण गर्न पाउने बताए । मेरो स्वास्थ्यसंस्थामा यस्ता डाक्टर छन् भनेर प्रचारप्रसार गर्न नपाइने उनले बताए । उनले भने, ‘कुनै पनि निजी अस्पतालले निःशुल्क सेवा दिन्छु, औषधि पनि निःशुल्क दिन्छु भन्ने कुरालाई प्रचारप्रसार गर्न पाइन्छ ।

किनकि, त्यसले गर्दा गरिब, असहाय, निमुखा वा उपचार गर्न नसक्नेहरूले सुनेर उपचारको लागि आउँछन् ।’ उनले थपे, ‘तर विज्ञापनकै हिसाबले हो भने त्यो गर्न पाउँदैनन् । कसैले म ५० प्रतिशत निःशुल्क गर्छु, म २५ प्रतिशत निःशुल्क गर्छु, मेरो अस्पतालमा यस्तो डाक्टर हुनुहुन्छ भनेर प्रचारप्रसार गर्न पाइँदैन । कतिपयले निःशुल्क मात्रै भनेर पनि प्रचारप्रसार गर्छन्, तर स्वास्थ्यसंस्थामा निःशुल्क नै पनि गर्ने गरेका छैनन् । यस्तोलाई अझ कारबाही गर्न पर्छ ।’

प्रतिक्रिया