सबैलार्इ निःशुल्क सेवा

यसिमा महत

काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले बिरामी परेका सर्वसाधारणलाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा दिन सुरु गरेको छ । दुई वटा एम्बुलेन्सले गाउँपालिकाभित्र रहेका बिरामीलाई कुनै शुल्क नलिइकनै अस्पतालसम्म लैजानेछन् ।

बिरामीलाई सदरमुकाम मन्थली वा काठमाडौंसम्म ल्याउनुपरे पनि कुनै रकम नलिने गरी एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले जानकारी दिए । जनताका लागि सहयोगस्वरूप सेवा भित्र्याइएको बताउँदै उनले भने, ‘एम्बुलेन्स त पहिला पनि थियो, तर थप ल्यायौँ । अब यी एम्बुलेन्सबाट बिरामी जनताका लागि सहयोग हुन्छ । यी एम्बुलेन्स प्रयोग गरेबापत कुनै पनि पैसा तिर्नुपर्दैन ।’ शुक्रबारबाट गाउँपालिकाले दुई वटा एम्बुलेन्स निःशुल्क सेवाका लागि सञ्चालन गरेको हो । भन्सार छुटसहित ११\११ लाख रुपैयाँ लागतमा खरिद गरिएका एम्बुलेन्सको ड्राइभर खर्च, इन्धन खर्च सबै गाउँपालिकाले बेहोर्ने अध्यक्ष खड्काले जानकारी दिए । एम्बुलेन्स सेवाको सञ्चालनार्थ समिति बनाएर व्यवस्थित बनाउने र समितिमा रकमका विषयमा सहमति हुन नसके आफ्नै तलबबाट सो रकम निकालेर खर्चको व्यवस्थापन गर्ने अध्यक्ष खड्काले बताए । उनले पाउने तलब सुरुदेखि नै गाउँपालिकाभित्रका निम्न आय भएका जनतालाई दामासायी हिसाबले बाँड्दै आएका छन् । उनले चुनावको समयमा नै आफ्नो तलब जनताको लागि समर्पित गर्ने घोषणा गरेका थिए ।

जिल्लामा एम्बुलेन्स धेरै भए पनि बिरामी हुँदा समयमा गाउँ–गाउँमा नपुग्ने, बाटो अप्ठ्यारो भन्दै बिरामीलाई सेवा नदिने हुँदा गाउँपालिकाले नै आफ्नै खर्चमा एम्बुलेन्स भित्र्याएको हो । ३ नम्बर वडाका वडाध्यक्ष यमबहादुर महतले ७ सय ५३ स्थानीय तहमध्ये नै सबैभन्दा राम्रो काम गरेको दाबी गरेका छन् । उनी भन्छन्, ‘एम्बुलेन्सजस्तो सेवा निःशुल्क गर्नु गाउँपालिकाकै उदाहरणीय काम हो । हामीले अहोरात्र घरपरिवार, आफ्नो स्वास्थ्य नभनी गाउँका जनताको स्वास्थ्य सेवामा सम्पूर्ण जीवन समर्पण गरेका छौँ । यस्तै काम गर्दै जाने हो भने ठूला–ठूला विकास गर्नुपर्दैन ।’ गाउँपालिकाद्वारा दिइने अत्यावश्यक सेवाहरू जनतालाई निःशुल्क प्रदान गर्ने चुनावी नारा बनाएर चुनाव जितेका अध्यक्ष खड्का पछिल्लो समय जनताको सेवामा समर्पित रहेका वडाध्यक्ष महतले बताए ।

प्रतिक्रिया