स्तनपान गराउनेको संख्या बढ्यो


विष्णु नेपाल

काठमाडौं । नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ । सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ । राष्ट्रसंघीय बालकोष र विश्व स्वास्थ्य संगठनले विश्व स्तनपान दिवसका सन्दर्भमा बिहीबार जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा सयमध्ये ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइने जनाइएको छ ।

बाँकी शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने एवं उनीहरूको निरन्तर रूपमा स्तनपान गर्ने सम्भावना कम रहेको प्रतिवेदनले उजागर गरेको छ । विश्वमा जन्मेको एक घण्टामै स्तनपान नगराइने शिशुको संख्या ७ करोड ८० लाख छ । यीमध्ये धेरै शिशु निम्न र मध्यम आय भएका देशका रहेका छन् ।

प्रदेश–७ मा सबैभन्दा बढी स्तनपान गराउने

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश–७ मा सबैभन्दा धेरै ७० दशमलव ७ प्रतिशत रहेको छ । प्रदेश–२ मा सबैभन्दा कम अर्थात् ४५ दशमलव ३ प्रतिशत छ । सो प्रदेशमा जन्मिएका शिशुमध्ये पहिलो तीन दिनमा मह, पानी र अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको सर्वेक्षणले देखाएको थियो ।

प्रतिवेदनले जन्मेको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशु जीवित रहने सम्भावना धेरै हुने औँल्याएको छ । प्रतिवेदन अगाडि भन्छ, ‘केही घण्टा मात्र ढिलो स्तनपान गराउनाले पनि जीवन जोखिममा पार्न सक्छ । आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ । बिगौती दूध एकदमै पोषिलो हुन्छ । रोग प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुन्छ ।’

शिशुको ‘पहिलो खोप’ को रूपमा स्तनपानलाई लिइन्छ । अर्काेतर्फ ‘क्याप्चर दी मोमेन्ट’ नामक प्रतिवेदनले जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने कुरा महत्वपूर्ण भए पनि विभिन्न कारणले स्तनपानका लागि शिशु लामो समय प्रतीक्षा गर्न बाध्य रहेका जनाएको छ ।
‘बिगौती दूध फाल्ने, शिशुलाई मह चटाउने, पानीजस्ता तरल पदार्थ खुवाउने अभ्यासले आमाको पहिलो महत्वपूर्ण सम्पर्कबाट शिशु टाढिइरहेका छन्,’ प्रतिवेदनमा उल्लेख छ । नेपालसहित विश्वका ७६ देशको तथ्यांक प्रतिवेदनमा विश्लेषण गरिएको थियो ।

शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि

अर्काेतर्फ, पाँच वर्षमा नेपालमा शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ । सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४ दशमलव ६ थियो । सन् २०१६ मा आइपुग्दा नौ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ । यसरी जन्मेका शिशुमध्ये कमैले मात्र एक घण्टाभित्र स्तनपान गर्ने मौका पाउँछन् ।

स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने प्रतिशतमा सामान्य सुधार देखिएको छ । सन् २००६ मा यो संख्या ३९ प्रतिशत थियो । सन् २०१६ मा ५५ प्रतिशतमा उक्लेको छ । शिशुलाई जन्मनासाथ आमाबाट टाढा नराख्न र स्वास्थ्यकर्मीको सल्लाह बढाउन प्रतिवेदनले सुझाव दिएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य पदार्थमा कडाइ गर्न र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९ लाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन जोड दिएकोे छ ।

प्रतिक्रिया