तंग्रिदै डा. केसी

जाउलो खाँदा पनि पेट दुख्छ, बनभिटा मिसाएको दूध र सुन्तलाको बेरी जुस नियमित सेवन गर्दै

यसिमा महत

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले आमरण अनशन तोडेको एक साता बितेको छ । चिकित्सा शिक्षा सुधारका लागि गठित उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हातबाट जुस खाएर अनशन तोडेका डाक्टर केसीको स्वास्थ्यमा भने अझै पूर्ण सुधार आएको छैन ।

सरकारसँग भएको सहमतिसँगै डाक्टर केसीले पहिलाको भन्दा फरक शैलीले १५औँ आमरण अनशन तोडेका थिए । जुत्ता सिलाउने पेसामा रहेका मोचीदेखि बिरामीका हातबाट अनशन तोड्दै आएका डा. केसीले पन्ध्रौँ अनशन अन्तिम हुने विश्वाससहित पहिलोपटक राजनीतिक दलका नेताको हातबाट जुस पिएर अनशन तोडे । सात बुँदे माग राखेर १५औँ अनशन बसेका डा. केसीले यसपटक २७औँ दिनमा सरकारसँग ९ बुँदे सहमति गरी अनशन तोडेका हुन् । अनशनमा साथ दिनेदेखि सडकमा आन्दोलन चलाउनेसम्मको बीचबाट बाहिर निस्कँदै डाक्टर केसीले पहिलोपटक सत्तारूढ दलकै नेताको हातबाट जुस पिएर अनशन टुंग्याउनुले पन्ध्रौँ अनशनमा भएको सहमति कार्यान्वयन हुनेमा उनी विश्वस्त रहेको देखाउँछ ।

यही आधारमा उनले नेम्वाङ र माथेमालाई छनोट गर्दै जुस पिएर अनशन तोडेको बुझाइ सहयोगी चिकित्सकको छ । ‘यसपटक सत्तारूढ दलकै नेताको हातबाट जुस पिएर अनशन तोडेर डाक्टर केसीले सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वास आफूमा रहेको र आफ्नो अनशनलाई हतियार बनाएर निकृष्ट चलखेल गर्नेलाई सचेत गराएको रूपमा बुझ्दा हुन्छ,’ केसीका समर्थक एक चिकित्सकले भने । गत १० साउनमा अनशन तोडेका केसी यतिवेला सहमति पूर्ण कार्यान्वयनको पर्खाइसहित त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।

तर, उनको अवस्था अझै पूर्ण रूपमा स्वस्थ छैन । लामो अनशनका कारण स्वास्थ्य निकै कमजोर भएपछि अनशन तोडेलगत्तै उनलाई आइसियुमा राखेर उपचार गरियो । १० साउनको राती प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा संसदीय दलका उपनेता नेम्वाङ र माथेमाको हातबाट जुस पिएर अनशन तोडेलगत्तै उनको स्वास्थ्यस्थितिलाई मध्यनजर गरी आइसियुमा राखिएको हो । स्वास्थ्यमा सुधार देखिएपछि गत मंगलबार बेलुकीबाट केसीलाई मेडिकल वार्डमा सारिएको छ । तर, अझै खानपानमा भने निकै समस्या देखिएको छ ।

के खान्छन् डा. केसी ?

पूर्ण रूपमा स्वस्थ भइनसकेका डा. केसीले खानपानमा निकै ध्यान दिनुपरेको छ । उपचारको क्रममा उनी बिहान बनभिटा मिसाएर दूध पिउँछन् । अनशन नबसेको समयमा पनि उनी दूधमा बनभिटा नै मिसाएर पिउने गर्थे । अनशनपछि निकै कमजोर बनेकाले यसपटक डाक्टर केसीलाई झोलिलो पदार्थ विशेष जोड दिएर खुवाउने गरिएको सहयोगीहरूको भनाइ छ । वेलावेलामा केसीले पानी र सुन्तालाको बेरी जुस पिउँछन् । त्यस्तै, सुगर नभएको कोक, दूधमा पकाएको खानेकुरा र दिउँसो एकपटक जाउलो खाने गरेका छन् ।

केसीका सहयोगी चिकित्सक तथा नतेदारका अनुसार उनले दैनिक दूधमा पकाएको डाइटिङ कुराहरू खाने गरेका छन् । भटमास र कुरिलो मिसाएर बनाइएको मसरुम सुप दैनिक तीनपटकसम्म केसीलाई खुवाउने गरिएको उनका भतिजा (दाजुका छोरा) किशोर केसीले बताए । ‘स्वास्थ्यमा सुधार हुँदै आएको छ, तर जाउलो खाँदा पनि उहाँमा पेट दुख्ने, घोच्ने समस्या अझै छ । त्यसैले ग्यास्ट्रिकको औषधि पनि नियमित सेवन गरिरहनुभएको छ,’ भतिजा केसीले भने, ‘अब दुई–तीन दिनपछि वा आइतबारबाट सामान्य मानिसले जसरी खाना खानुहुन्छ भन्ने आशा हामीले गरेका छौँ ।’

डाक्टर केसीको अवस्थामा सुधार आइरहेको भए पनि पूर्ण रूपमा स्वस्थ हुन समय लाग्ने देखिएको चिकित्सकको भनाइ छ । ‘उहाँ (डा. केसी) पहिलेको अवस्थामा आउन अझै दुई÷तीन हप्ता लाग्छ भन्ने चिकित्सकको भनाइ छ,’ भतिजा केसीले भने ।

प्रतिक्रिया