स्तनपान नगराएका बालबालिकामा समस्या

बच्चाका लागि आमाको दूध पेटको साथी र अमृत पनि मानिन्छ । आमाको दूधमा प्रोटिन, काब्रोहाइडे«ड र पानीको मात्रा सन्तुलित हुने भए पनि दूध नचुसाउँदा बच्चा बिरामी हुने गरेका छन् । आमाको दूधमा रोगनाशक तत्व हुन्छ, आमाको दूधमा ‘लेक्टोफोर्मिन’ नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्

नारायण अधिकारी

चितवन । स्तनपान कम गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता थोरै हुने गरेको छ । चिकित्सकका अनुसार स्तनपान कम गरेका बालबालिका रोगी हुने गरेको र उनीहरूमा रोगसँग लड्ने क्षमता नहुँदा विभिन्न रोगले छिटो आक्रमण गर्ने गरेको छ । भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले बालबालिकालाई आमाले ६ महिनासम्म आफ्नै दूध मात्रै चुसाउनुपर्ने बताए । दूध नचुसाएका बच्चामा विभिन्न रोगको संक्रमण हुने गरेको छ, उनले भने ‘रोग प्रतिरोधात्मक क्षमता कम हुँदा बालबालिकामा झाडाबान्ता भइरहने, रुघाखोकी लाग्ने, तौल नबढ्नेजस्ता समस्या आउने गर्दछन्, त्यसैले बच्चा जन्मिएको एक घण्टाभित्र अनिवार्य रूपमा आमाको दूध चुसाउनुपर्दछ ।’

नेपालमा ४० प्रतिशत सुत्केरीले मात्रै एक घण्टाभित्र दूध चुसाउने गरेको तथ्यांक छ । दुई घण्टादेखि २३ घण्टाभित्र दूध चुसायो भने बाल मृत्युदर ३३ प्रतिशत कम हुने जानकार बताउँछन् । बच्चालाई जन्मेदेखि ६ महिनासम्म पानी नखुवाउन र आमाको दूध मात्रै खुवाउन चिकित्सकको सुझाव छ । बसौलाको भनाइमा नेपालमा ६४ प्रतिशत आमाले छ महिना पनि बच्चालाई दूध चुसाउँदैनन् । जसका कारण बच्चा बिरामी हुनेक्रम बढ्दो छ । यसले मृत्युदर पनि बढाएको पाइन्छ । भरतपुरको निको बाल अस्पतालका अध्यक्ष डा. रवीन बानियाँ आमाको दूध शिशुका लागि पहिलो खोप भएको बताउँछन् । बच्चाका लागि आमाको दूध पेटको साथी र अमृत पनि मानिन्छ । आमाको दूधमा प्रोटिन, काब्रोहाइडे«ड र पानीको मात्रा सन्तुलित हुने भए पनि दूध नचुसाउँदा बच्चा बिरामी हुने गरेको उनको भनाइ छ ।

अस्पतालमा आमाको दूध चुस्न नपाएका बच्चा धेरै आउने गरेको उनले बताए । विश्व स्वास्थ्य संगठनले २५ प्रतिशत बाल मृत्युदर आमाको दूध चुसाउँदा घटाउन सकिने जनाएको छ । आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छ, आमाको दूधमा ‘लेक्टोफोर्मिन’ नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झा आमाको दूध अमृतसरह भए पनि विभिन्न कारण देखाउँदै आमाले दूध नचुसाउँदा बच्चाको मृत्युदर बढेको र समयसमयमा बिरामी हुने गरेको बताउँछन् । आमाको दूध पर्याप्तरूपमा खान नपाएका बच्चामा मधुमेह, मुटुको रोगसमेत हुने गर्दछ भने दूध कम चुसाउने आमामा पाठेघर र स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । बच्चाको वृद्धि र विकासका लागि आवश्यक पर्ने सबै तत्व आमाको दूधमा हुने गर्दछ, प्रमुख झाले भने ‘आमाको बिगौती दूध फाल्ने होइन, खुवाउने हो, जतिसक्दो छिटो खुवाउनुपर्छ, चाहिने सबै तत्व आमाको दूधमा हुन्छ ।’ दैनिकरूपमा कम्तीमा ८ पटक दूध चुसाउनुपर्ने र दुई वर्षसम्म नियमित दूध चुसाउन विज्ञहरूको सुझाव छ ।

आमामा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रनेजस्ता गलत धारणा रहेका छन् । यससँगै आमाको कुपोषण, स्वास्थ्य अवस्था कमजोर हुनु, मधुमेह, उच्च रक्तचापजस्ता रोग आमामा हुनु, आमालाई फुर्सद नमिल्नु, रोजगारी गर्ने आमाका लागि स्तनपान कक्षको अभाव हुनु, सानो बच्चा छोडेर विदेसिनुजस्ता कारणले पनि आमाहरूले पर्याप्त मात्रामा स्तनपान गराउँदैनन् । शिशुलाई स्तनपान गराउँदा आमालाई अत्मीयता र भावनात्मक सहानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी, उनले मानसिकरूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टिसमेत प्राप्त हुने गर्दछ । यद्यपि, आमाको दूधको महत्व बुझाउन नसक्दा र बेवास्था गर्दा दूध चुसाउने क्रम घट्दै गएको पाइन्छ ।

सहरमा आमाको दूधको विकल्पका रूपमा भन्दै बहुर्राष्ट्रिय कम्पनीले विभिन्न उत्पादन बिक्री वितरण गर्ने गर्दछन् । यस्ता उत्पादन बिक्री गर्न नपाइने भए पनि खुल्लमखुल्ला बिक्री वितरण गरेको पाइन्छ । यस्ता उत्पादनसँगै गाईभैँसीको दूध, सर्वाेत्तम पिठो, लिटोजस्ता खाद्यवस्तु बालबालिकालाई आमाको दूधको विकल्पका रूपमा खुवाउने गरेको पाइन्छ । यो गलत भएको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया