धनी र शिक्षितले नै गर्दैनन् स्वास्थ्य बिमा

यसिमा महत

काठमाडौं । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम धनी वर्गका र शिक्षित व्यक्तिले नै नगरेको पाइएको हो । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. मदन कुमार उपाध्यायका अनुसार सरकारी अस्पतालमा सेवा नै पाइँदैन भन्ने मानसिक सोचका कारण पनि धनी वर्गका व्यक्तिले स्वास्थ्य बिमा नगरेको पाइएको हो । नेपाल सरकारबाटै सबैले स्वास्थ्य बिमा गर्नै पर्ने भन्ने कार्यक्रम ल्याए मात्रै सबै नेपाली बिमामा आबद्ध हुने उनले बताए । त्यस्तै, साधारण रुघाखोकीका बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रमको सेवाबाट उपचार नगराउने भएकाले पनि कार्यक्रम विस्तार हुन सहज नभएको हो । जटिल किसिमका रोग उपचारमा मात्रै बिमा सेवाको प्रयोग भएको पाइएको छ । हालसम्म भएका बिमित व्यक्ति पनि बढी भन्दा बढी दीर्घरोगी रहेका छन् । स्वस्थ व्यक्तिले स्वास्थ्य बिमा कार्यक्रमलाई उचित रूपमा प्रयोग गर्न नजानेको निर्देशक उपाध्यायको गुनासो छ । उनले भने, ‘जो स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुहुन्छ उहाँहरू बिरामी नै हुनुहुन्छ । ९ लाख बिमितमध्ये अधिकांश बिरामी हुनुहुन्छ, दीर्घरोग, उच्चरक्तचाप, मधुमेह, मृगौलाको डायलासिस गर्नुपर्ने, सधैँ औषधि किनेर खानुपर्ने क्यान्सर रोगीहरूको यस कार्यक्रममा आबद्ध बढी छ ।’ उनले थपे, ‘स्वस्थ व्यक्तिलाई आबद्ध गरेर सबैलाई निरोगी बनाउने उद्देश्य र उहाँहरूलाई यदि स्वास्थ्य समस्या आइहाल्यो भने पनि जोखिम न्यूनीकरण गर्नको लागि यो कार्यक्रम हो ।’

स्वास्थ्य बिमा कार्यक्रम यसै आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए । स्वास्थ्य बिमा कार्यक्रम ४२ वटा जिल्लामा सुरु भए पनि ३६ वटा जिल्लाबाट मात्रै सेवा सुरु भएको छ । गरिबी निवारण कोषले विपन्न धेरै भएको जिल्ला भनेर कर्णालीलाई सम्बोधन गरेपछि विपन्नलाई सेवा दिने उद्देश्यले कर्णालीबाटै स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

९ लाखले गरे बिमा

स्वास्थ्य सेवा बिमामा हालसम्म ९ लाख ७६ हजार १ सय ६७ व्यक्ति बिमित रहेका छन् । सबैभन्दा बढी स्वास्थ्य बिमा गर्ने जिल्ला चितवन हो । अहिले चितवनमा १ लाख ३९ हजार ६ सय ८९ जनाले स्वास्थ बिमा गरेका छन् जसमा पुरुष ६६ हजार ४ सय १७ छन् भने ७३ हजार २ सय ६२ महिला रहेका छन् । सबैभन्दा कम रुकुममा ११ सय ३५ छन् त्यसमा ६ सय ८ महिला छन् भने पुरुष ५ सय २७ रहेका छन् ।

२५ सयमा ५० हजार

वर्षको २५ सय प्रिमियम दर तिरे वापत् नेपाल सरकारले वार्षिक ५० हजारको स्वास्थ्य सेवा दिन्छ । कुनै पनि व्यक्ति वा परिवारले स्वास्थ्य बिमा गरेको छ भने उसले एक वर्षमा

५० हजार वापतको उपचार निःशुल्क पाउँछ ।
परिवारका पाँच सदस्य एक इकाई

स्वास्थ्य बिमा कार्यक्रममा पाँच जना परिवारको सदस्यलाई एक इकाई मानेको छ । यसरी हेर्दा एक जनाको प्रिमियमदर पाँच सयले पाँच जनाको २५ सय हुन आउँछ । एक व्यक्तिले बिमा गरेपश्चात् उसले आफूसहित ५ जना परिवारलाई उपचार गराउन पाउँछ । तर, पाँचै जना व्यक्तिले ५०–५० हजार भने पाउने छैनन् । २५ सय प्रिमियम दरको वार्षिक जम्मा ५० हजार बराबरको स्वास्थ्य सेवा निःशुल्क हुने हो । यदि परिवारमा पाँच जना छैनन् दुई जना मात्रै छन् भने पनि दुई जनाको पनि प्रिमियम दर २५ सय नै लाग्दछ । कुनै व्यक्ति वैदेशिक रोजगारमा छन् भने उसको बिमा हुँदैन । यदि उ नेपालमा नै बसेको छ भने उक्त व्यक्तिको बिमा गर्न र उपचार गर्न सजिलो हुन्छ ।

अहिलेको तथ्यांकलाई हेर्दा परिवारमा जो दीर्घरोगी छ उसकै कारण उसको मात्रै स्वास्थ्य बिमा गर्ने गरेको पाइएको छ । यस्तो किसिमको समस्या हुन्छ भन्ने भएर नै सरकारले बनाएको स्वास्थ्य बिमा कार्यक्रममा पाँच सदस्यको एक इकाई कार्यक्रम गरेको बुझिन्छ । स्वास्थ्यको जोखिम न्यूनीकरणकै लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको निर्देशक उपाध्यायले बताएका छन् । अन्य कर्मसियल बिमा भन्दा स्वास्थ्य बिमा राम्रो भएको भन्दै उनले भने, ‘कर्मसीयल पोलीसिमा यति वर्षको गर्ने भन्ने हुन्छ, तर स्वास्थ्य बिमामा २५ सय तिरेपछि एक वर्षभित्र ५० हजारको स्वास्थ्य सेवा निःशुल्क दिने गरेको छ ।’

प्रतिक्रिया