क्यान्सर अस्पतालको जग्गा बचाउन चितवनवासीको दौडधूप

काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा प्रकरणलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले चासो व्यक्त गरेका छन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी क्यान्सर अस्पतालको जग्गा जोगाउन आग्रह गरेका छन्। चितवनबाट राजधानी आएको कांग्रेस टोलीसँग देउवाले क्यान्सर अस्पतालको जग्गा अन्य प्रयोजनमा दिन नहुने धारणा राखेका थिए ।

देउवाले अस्पतालको जग्गा अन्य प्रयोजनमा प्रयोग हुनबाट रोक्न आफूले सक्दो प्रयास गर्ने सहभागी टोलीलाई आश्वासन दिएका छन् । स्वास्थ्य मन्त्रालयले भरतपुर महानगरलाई अस्पतालको जग्गामा सिटी हल बनाउन दिने निर्णय गरेकोमा मन्त्रालयको उक्त निर्णयप्रति कांग्रेसले तीव्र विरोध जनाएको छ । क्यान्सर अस्पतालको जमिन अन्यत्र प्रयोग हुन लागेको विषयमा केही दिनअघि सौर्य दैनिकमा समाचार प्रकाशन भएको थियो ।

केही दिनदेखि कांग्रेसले जिल्लादेखि केन्द्रसम्म क्यान्सर अस्पताल बचाउ अभियान नै चलाएको छ । यसमा नागरिक समाजले पनि साथ दिएको छ । राजधानी गएको कांग्रेस टोलीले विभिन्न दलका नेतासँग भेट गरी अस्पताल बचाउन पहलका लागि आग्रह गरेको छ । टोलीले कांग्रेस सभापति देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का लगायतसँग भेटेर भरतपुरको क्यान्सर अस्पतालको जग्गा अरू कसैलाई नदिन माग गरेको थियो ।
भेटमा सबैजसो नेताले यसमा समर्थन जनाउँदै आवश्यक सहयोग गर्ने बचन दिएका छन् । कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठ, दिनेश कोइराला, पूर्वसांसद एकनाथ रानाभाट लगायतले यो अभियान चलाएका हुन् । सभापति देउवासँग भएको सामूहिक भेटमा उनीहरूले क्यान्सर अस्पताल राष्ट्रको सम्पत्ति भएकोले यसलाई जोगाउनुपर्ने बताएका थिए ।

भेटकै समयमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी चितवनको क्यान्सर अस्पतालको जग्गा अरूलाई नदिन अनुरोध गरेका टोलीका सहभागी दिनेश कोइरालाले जानकारी दिए । ‘सभापतिले हाम्रा अगाडि नै प्रधानमन्त्रीलाई फोन गरेर बिपीको नामको अस्पतालमा कुनै बहानामा कसैले अवरोध गर्न नपाउने जानकारी गराउनुभो,’ कोइरालाले भने । ‘अस्पतालको जग्गा अरूलाई नदिनू, प्रधानमन्त्रीज्यू ।

त्यो जग्गा दिएमा राम्रो हुँदैन । देशको नाम कमाएको अस्पतालको जग्गा अरूलाई दिनुहुन्न है !’ भनेर प्रधानमन्त्री ओलीलाई सभापतिले जानकारी दिएको देउवाको भनाइ उद्धृत गर्दै कोइरालाले बताए । सभापति देउवालगायत उपसभापति निधी र महामन्त्री कोइरालाले समेत यो विषयमा चिन्ता व्यक्त गरेका सहभागी टोलीले जनाएको छ ।

मन्त्रालयले स्थानीयसँग समन्वय नगरी महानगरको प्रस्तावलाई स्वीकार गरेर अस्पतालको जग्गा सिटी हल बनाउन दिने भएपछि दिनप्रतिदिन विरोध बढ्दै गएको छ । अस्पताल परिसरमा रहेको ७ बिघा जमिन महानगरलाई दिन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा फाइल पठाइसकेको छ । तर, यही विवादका कारण मन्त्रिपरिषद्बाट फाइल पास हुन सकेको छैन।

अस्पताल सञ्चालक समितिसँग परामर्श गरेर मात्र जग्गाको निर्णय गर्ने मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीले बताएका छन्।  विरोध बढ्दै गएकाले अब फाइल पेस गर्ने वा नगर्ने विषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अन्योलमा परेका छन् । मन्त्री यादव एक कार्यक्रममा भाग लिन बुधबार थाइल्यान्ड पुगेका छन् । तर, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कुनै पनि हालतमा मन्त्रालयको निर्णयबाट पछाडि हट्न नहुने बताएकी स्रोतले जनायो ।

यसमा पूर्वएमालेको एउटा पक्ष खटेर लागेको छ। प्रधानमन्त्री ओलीसमक्ष नै यो विषय पुगेकाले मन्त्रिपरिषद्बाट अस्पताललाई असर गर्ने निर्णयको फाइल पास नहुने सम्भावना पनि बलियो बन्दै गएको छ । मन्त्रालयको निर्णयपछि भरतपुर महानगरले क्यान्सर अस्पतालको जग्गामा सिटीहल बनाउने निर्णय गरेको छ। सहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ।

महानगर प्रमुख रेणु दाहालले जग्गाको विवाद टुंगिएलगत्तै सिटीहल निर्माणको काम थालिने बताएकी छन् । महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खाली रहेको पाँच बिघा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधासम्पन्न सिटीहल निर्माण गरिने, जसमा पाँच हजार मानिस अट्न सक्ने ठूलो हल र अरू साना हल, पार्किङ, फुडल्यान्ड, बगैँचासमेत रहने महानगर प्रमुख दाहालको भनाइ थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गा ७५ बिघा १० धुर छ ।

यसैबीच, नेपाली कांग्रेसले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी क्यान्सर अस्पतालको जग्गा अरू कुनै प्रयोजनमा प्रयोग नगर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा बिपी कोइरालाका नाममा राष्ट्रिय सम्पत्तिका रूपमा रहेको क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्दै लैजानुपर्ने उल्लेख छ । सरकारले अस्पतालको जग्गा जबरजस्ती अरू काममा प्रयोग गरे कांग्रेसले त्यसको कडा प्रतिकार गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया