स्क्रबटाइफस र डेंगुको संक्रमण घट्दै

चितवन । जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३÷०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४÷०७५ मा दुई हजार २ सय ३७ जनाको रगत परीक्षण गर्दा ४ सय १० जनामा स्क्रबटाइफस पोजेटिभ देखियो । आव २०७३÷०७४ मा एक हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा ५ सय ९ जनामा स्क्रबटाइफस भेटिएको थियो ।

मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्ने गर्दछ । घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

उनका अनुसार गत आवमा एक हजार ४ सय ८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको थियो । आव २०७३÷०७४ मा दुई हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा ६ सय ८७ जनामा डेंगुको संक्रमण भेटिएको उनले बताए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने उत्तम उपाय भएको केसीले बताए ।

प्रतिक्रिया