वर्तमान अवस्थामा कांग्रेसले खेल्नुपर्ने भूमिका

‘अहिले कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ । अब कांग्रेसले आफूलाई सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने खतरा हुन्छ । त्यसैले कांग्रेसले पुनः जागरण अभियान चलाउनु पर्छ ‘

लेखक -डा. डिआर उपाध्याय

 नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनमा लडाइँ लड्दै अघि बढ्दै आएको पार्टी हो । यो पार्टीले गौरवपूर्ण इतिहास बोकेको छ । हरेक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आन्दोलनलाई निष्कर्षमा पुर्याएको इतिहास छ ।

नेपाली कांग्रेस मुलुकको पुरानो र प्रजातान्त्रिक आन्दोलनको भरपर्दो पार्टी हो ।नेपाली कांग्रेसले नेपालको एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्यगरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेकै हो।

नेपाली कांग्रेसको अगुवाइमा गरिएको जनक्रान्तिले १ सय ४ वर्षसम्म लामो समय निरंकुश सत्ता चलाउँदै आएको राणा शासनलाई समाप्त पारेको थियो । प्रजातन्त्र प्राप्तिको लडाँमा कांग्रेसले कुनैवेला पनि पिठ्यूँ फर्काएर भागेन ।

बिपी कोइरालाको दूरदर्शीता, गणेशमान सिंहको त्याग तपस्या र कृष्णप्रसाद भट्टराईको इमानदारीताले कांग्रेस पार्टीको संगठन बिस्तार भएको हो। बिपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् हस्ती हुन्। सन् १९५० को दशकमा विश्व पुँजीवादी र साम्यवादी गरी दुईधारमा विभाजित थियो।रूस र चीनले युरोप र एसियाका केही देशको साम्यवादीकरण गर्ने प्रक्रियालाई तीव्रता दिएका थिए ।

नेपालमा बिपीले समाजवादको सोच, चिन्तन र आदर्श बोकेर अघि बढिरहेका थिए । उनको त्यो सोच चिन्तन र दूरदर्शीता अहिले आएर कांग्रेसलाई खड्किरहेको छ । नेपाली कांग्रेसले समाजवादी आन्दोलनको नारा बोकेर अघि नबढेको भए, हाम्रो देश यहाँसम्म आउने थिएन । बिपी एक आर्दशवादी राजनेता हुन् । उनी राजनीतिक दाउपेचमा भन्दा राजनीतिक मूल्य–मान्यता र आदर्शमा विश्वास गर्थे ।

उनको जीवनको अधिकांश समय तानाशाही शासन व्यवस्थाविरुद्ध लड्दा लड्दै बितेर गयो । ०१५ सालमा नेपालमा पहिलोपटक सम्पन्न भएको आमनिर्वाचनमा कांग्रेसले १ सय ९ सिटमध्ये ७४ सिटमा विजयी भई दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भएका थिए ।

उनले लोकप्रिय कार्यक्रम ल्याएर चर्चामा आए । राजा महेन्द्र बिपीका लोकप्रिय कामबाट अत्तालिएर १ पुस ०१७ मा प्रथम जननिर्वाचित सरकार र संसद् अपदस्थ गरी दलीय प्रतिबन्धसहितको पञ्चायती शासन व्यवस्था लागू गरे । बिपीलगायतका नेताहरूलाई पक्राउ गरी जेल हालियो । राजा महेन्द्रले दलीय प्रतिबन्ध लगाएपछि नेपालमा बसेर राजनीति गर्न धेरै कठिनाई थियो ।

जसका कारणले गर्दा नेताहरू भारत जाने गर्दथे । ०२५ साल कात्तिक १४ गते बिपी जेलमुक्त भए । त्यसपछि लगत्तै उनी भारत गए । उनले निर्वासित जीवन बिताउँदै पार्टीको गतिविधिलाई अघि बढाइ रहेका थिए । उनी देश र जनताको हकहितलाई केन्द्रमा राखेर काम गर्न चाहन्थे । पछि, १६ पुस ०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किए ।

बिपी स्वदेश फर्किंदा उनका विरुद्ध राजद्रोहको मुद्दा लागेको थियो । पञ्चायतसँग लडेर बहुदलीय व्यवस्था ल्याउन ३० वर्षसम्म लडाइँ लड्नु परेको थियो । ०३९ साल साउन ६ गते बिपीको निधन भयो । बिपीको निधनपछि अब आन्दोलन के हुने होला भनेर सबैलाई चिन्ता थियो । बिपीको विचार चिन्तन र आदर्शअनुसार नै आन्दोलनअघि बढाउन कांग्रेसभित्र गम्भीर छलफल चलेको थियो।

०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वाम मोर्चासहितका राजनीतिक दलहरूको सहभागितामा जनआन्दोलन सफल भई प्रजातन्त्र पुनः स्थापना भयो । त्यो नेपाली कांग्रेसको योगदान र त्याग तपस्याको परिणाम थियो । बहुदलीय व्यवस्था पुनः स्थापनापछि ०४८ सालमा आमनिर्वाचन भयो । आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो र सरकार बनायो ।

सरकार पूरा अवधि टिक्न सकेन । कांग्रेसभित्र गुट उपगुट मौलाउँदै गएको थियो । जसका कारणले कांग्रेस कमजोर बन्यो । बहुमतको सरकार पूरा अवधि टिकाउन नसकेर ०५१ सालमा मध्यावधि निर्वाचन गराइएको थियो । ०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो दलमा खुम्चिन बाध्य भयो । एमाले पहिलो दल बन्यो ।

एमालेले नौ महिनासम्म अल्पमतको सरकार चलायो । एमालेको नौ महिने शासनकाल धेरै लोकप्रिय थियो । एमालेलाई पनि पूरा अवधि शासन चलाउन दिइएन । किनभने, एमालेको सरकार अल्पमतको सरकार थियो । एमालेले सुरुसुरुमा राम्रो काम गरेजस्तो देखायो । तर, पटकपटक सरकारमा गएपछि देश र जनताको पक्षमा काम गर्न सकेन ।

बिस्तारै तत्कालीन एमाले अलोकप्रिय बन्दै गयो । ०५६ सालमा फेरि आमनिर्वाचन सम्पन्न भएको थियो । कांग्रेस ०५६ सालको आमनिर्वाचनमा बहुमत प्राप्तगर्न सफल भएको थियो । तर, देश र जनताको मन जित्ने काम भने गर्न सकेको थिएन । कांग्रेसले अवसर पाउँदा पनि दशका लागि खासै प्रगति गर्न सकेन । जसको कारणले वामपन्थीको प्रभाव बढ्दै गयो। ०५८ सालमा दरबार हत्याकाण्ड भयो ।

ज्ञानेन्द्र शाह राजा बनेर श्रीपेच भिरे । ज्ञानेन्द्र शाहले सक्रिय शासन चलाउने चाहना देखाउँदा दलहरूमाथि प्रतिबन्ध लगाए । ज्ञानेन्द्र पनि महेन्द्रको बाटोमा लागे । फेरि कांग्रेस प्रजातान्त्रिक आन्दोलनको लडाइँमा लड्नु परेको थियो । तत्कालीन विद्रोही ‘नेकपा’ माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने काम र प्रमुख भूमिका नेपाली कांग्रेसले निर्वाह गरेको थियो ।

०६२÷०६३ सालको जनआन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको थियो । तत्कालीन माओवादीसँग १२ बुँदे सम्झौता गरी त्यसैको जगमा टेकेर जनआन्दोलन सफल भएको थियो । ऐतिहासिक जनआन्दोलनमार्फत संसद् पुनः स्थापना गर्ने काम सम्पन्न भएको थियो । संसद् पुनः स्थापनासँगै अन्तरिम सरकार, अन्तरिम संविधान हुँदै संविधानसभा निर्वाचन सम्पन्न भएको थियो ।

पहिलो संविधानसभाले संविधान बनाउन नसकेर दोस्रो संविधानसभाको निर्वाचन गर्नुपरेको थियो । दोस्रो संविधानसभाले संविधान बनाउन सफल भयो । अहिले नयाँ संविधानअनुसार देशको शासन–व्यवस्था चलेको छ । देशमा संघीयता चलेको छ । तीनतहका सरकार छन्। यी उपलब्धि प्राप्त गर्नुमा कांग्रेसको ठूलो भूमिका छ । तर, अहिले कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ । अब कांग्रेसले आफूलाई सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने खतरा हुन्छ । त्यसैले कांग्रेसले पुनः जागरण अभियान चलाउनु पर्छ । कांग्रेस एउटा शक्ति हो, कम्युनिस्ट अर्को शक्ति हो । यी दुई शक्तिबीच प्रतिस्प्रर्धाको खाँचो छ । देशमा अहिले कम्युनिस्टको नेतृत्वमा सरकार छ । सरकारले राम्रो काम गरेको छ कि छैन।

सरकारले राम्रो काम गरेको छ भने रचनात्मक ढंगले सहयोग गर्ने र नराम्रो काम गरेको छ भने सडक र सदनबाट खबरदारी गर्नुपर्ने हो । कांग्रेस किन सुतिरहेको छ ? कम्युनिस्ट सरकारका गलत क्रियाकलापलाई भन्डाफोर गर्नु प्रतिपक्ष दलको भूमिका हो । नेपाली कांग्रेस यो काममा अघि बढेको छ कि छैन ? कांग्रेसको भूमिकाबारे जनताले हेरिरहेका छन् ।

सरकारले पनि दुईतिहाइको दम्भ देखाएर निरंकुश शासनशैली देखाउँनु हुँदैन । सरकार मुलुकको भविष्य निर्माण गर्ने काममा त्यति गतिका साथ अघि बढ्न सकेको छैन । नेपाली कांग्रेसले किन दवाव दिँदैन ? के नेपाली कांग्रेसभित्र ऊर्जा, अक्सिजनको अभाव भएकै हो ? नेपाली कांग्रेसले विगतका कमी कमजोरीलाई सच्चाएर जाने मौका पनि हो, यो ।

सरकारमा हुँदा जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकेन कांग्रेसले । यो हारको परिणाम त्यही हो । जुनसुकै राजनीतिक दलहरूले पनि राजनीतिलाई व्यापार, व्यवसाय बनाए । राजनीतिलाई दुर्गन्धित बनाए । यो सिकाएको नेपाली कांग्रेसले हो । अब कांग्रेस सच्चिनु पर्छ । सात दशकदेखिको गौरवपूर्ण इतिहासलाई जोगाएर राख्न सक्नुपर्छ । यो नै नेपाली कांग्रेसको प्रमुख भूमिका र कर्तव्य हो ।

प्रतिक्रिया