स्वास्थ्य क्षेत्रका विकृति हटाउने हो भने सुदूरलाई हेरौँ

वीरेन्द्र रावल  नेपालका अधिकांश ग्रामीण बस्तीका मानिसहरूले आफू बिरामी पर्दा होस् या अन्य कुने दुर्घटना नै किन नहोस् त्यस्तो असहज परिस्थिती आइलाग्दा उपचार नपाएर अकालमै मर्नुपर्ने अवस्था विद्यमान छ । उपचार नपाएर मर्नुपर्ने अवस्था नेपालका कुना कन्दराका जनताको नियति नै बनिसकेको छ ।

आज पनि नेपालका कुना कन्दरामा झारफुक, देवीदेउता र जडिबुुटीमा आधारित स्वास्थ्य उपचारको परम्परा कायमै छ। अन्धविश्वास र कुरीतिले पनि कैयौँ मानिसले अकालमै ज्यान गुमाउनु परिरहेको यथार्थता हाम्रासामु स्पष्ट नै छन् ।

नेपालका सुदूर वस्तीका मानिसहरू (संघीय राजधानीबाहेक) ले अस्पताल र विशेषज्ञ डाक्टर नभएका कारण रोगको पहचना नै नभएर मेडिकल र गाउँमा सञ्चालित झोले क्लिनिकको औषधि खाएर टाट पल्टिनु पररहेको छ भने कतिपय मानिसहरूले रोग एउटा औषधि अर्कै परेर पनि ज्यान गुमाउने गरेका थुप्रै उदाहरण रहेका छन्।

सामान्य टाउको दुख्दासमेत स्वास्थ्यचौकीमा औषधि नपाउने समस्या छ । दुई रुपैयाँ पर्ने सिटामोलको १० रुपैयाँमा खरिद गरेर खानुपर्ने बाध्यता ग्रामीण बस्तीका जनताको बाध्यता बनिसकेको छ। मनिसलाई सर्पले डस्यो भने वा झाडापखाला लाग्यो वा भिरबाट लड्यो भनेसमेत अस्पताल पु¥याउनै नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता ग्रामीण जनताको नियति नै बनिसकेको छ। नेपालको स्वास्थ्य क्षेत्रमा देखापरेका समस्या र त्यसको समाधान गर्ने दायित्व राज्यको हो ।

राज्यले आफ्ना जनताको स्वास्थ्य अधिकारलाई सुरक्षित पार्नुपर्ने र उनीहरूको नैसर्गिक अधिकारकालाई समेत संरक्षण गर्नुपर्ने हो । जनताका स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी लगायतका अधिकारहरूको न्यायोचित सेवा विस्तार अनि त्यसको वितरण गर्नुपर्ने दायित्व राज्यको पनि हो । नेपालको सुदूर बझाङ जिल्लाको काँडा गाविस, अछाम जिल्लाको दुर्गम कालेकाँडाका मानिस र दार्चुला जिल्लाको हिमाली गाउँपालिका अपीका मानिसहरू बिरामी पर्दा अस्पताल देख्नै नपाएर मर्नुपर्ने बाध्यता रहेको छ ।

उनीहरूलाई जिल्ला सदरमुकामस्थित अस्पताल भएको स्थानसम्म पुग्नकै लागि हप्तौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । नेपालका ग्रामीण क्षेत्रमा रहेका अधिकांश स्वास्थ्यचौकी र अस्पताल क्षेत्रहरूमा औषधि पुग्न महिनौँ लाग्ने गर्दछ । स्वास्थ्यचौकी छ डाक्टर र औषधि छैन । कतै त पिएनले समेत सिटामोल दिनुपर्ने नेपालको अवस्था ग्रामीण क्षेत्रमा देखापरिरहेको छ । यति मात्र कहाँ हो र ? सुदूरपश्चिम हालको (७ नम्बर प्रदेश ) को अस्थायी राजधानी भएको ठाउँ धनगढीमासमेत आवश्यक दरबन्दी अनुसार डाक्टरहरू छैनन् ।

सेती अञ्चल अस्पताल प्रदेश–७ कै एक मात्र रेफरल अस्पतालको रूपमा रहेको छ। अस्पतालको भौतिक संरचनाले पूर्णता पाएको छैन । अझैसम्म सो अस्पतालमा एनेथिसियाको डाक्टरसमेत भेटिँदैनन्।  अस्पतालको दूरावस्था हेर्ने हो भने अस्पतालमा उपचार गर्नसमेत जाने बिरामी निको हुनु त परै जाओस् त्यहाँबाट झन् रोगको संक्रमणले बिरामी थला परेर अन्यत्रै उपचारका लागि लैजानुपर्ने बाध्यता रहेको छ ।

अस्पतालमा उपचारका लागि राखिएका डाक्टरहरू अस्पलतालमा होइन अधिकांश समय आफ्ना क्लिनिकहरूमा भेटिने गरेका थुप्रै उदाहरणहरू रहेका छन् । अस्पतालमा उपचार गर्न आउने बिरामीले यहाँ राम्रोसँग चेकजाँच गर्ने समय छैन तसर्थ क्लिनिकमा आउनुहोला है भनेर सुझाउने गरेको पाइन्छ ।

अस्पतालमा उपचार गर्न आएका बिरामीहरूलाई रातबिरातको समयमा औषधि किन्न सहज होस् भन्नका लागि खोलिएको साझा औषधि पसलमा सामान्य सिरिन्जबाहेक अरू केही पनि नपाउने गरेका गुनासाहरू पनि सुनिने गरेका छन् । सेती अञ्चल अस्पतालमा अलि क्रिटिकल खालको बिरामी होस् या थप मिहिनेत गरेर सोही अस्पतालमा उपचार सम्भव हुने खालको बिरामीलाई बाहिर पठाउनका लागि अस्पतालकै कर्मचारीहरूले दलालीको काम गरिरहेको पाइन्छ ।

अधिकांश बिरामीमाथि ब्यापार :
सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा जाने प्रदेश–५, कर्णाली प्रदेश र प्रदेश–७ का अधिकांश बिरामीहरूलाई भारतीय क्षेत्रका लखनउ, बहराइच, खटीमा हल्दवानी लगायतका क्षेत्रमा पुगाउनका लागि दलालहरू सक्रिय रूपमा लागिपरेका हुन्छन् ।

अस्पतालका कर्मचारीदेखि लिएर एम्बुलेन्स चालकहरूले समेत भारतीय क्षेत्रका लुटाहा अस्पताल र नर्सिङ होमसम्म बिरामी पठाएबापत कमिसन पाउने भएकाल पनि बिरामीहरूलाई भारतीय क्षेत्रमा पुर्याउने गरेको पाइन्छ । मेहन्द्रनगर, नेपालगञ्ज र धनगढी लगायतका ठूला बजारहरूबाट भारतीय क्षेत्र १ देखि ३ किलोमिटरको दूरीमा मात्र रहेका छन् ।

ती बजारहरूबाट सोझै भारतीय अस्पतालहरूमा बिरामी पुर्याउन सहज बनेको छ भने नेपाली क्षेत्रमा डाक्टरहरू राम्रो पाइँदैन भनेरसमेत हल्ला फैलाउने गरेकाले पनि अधिकांश नेपाली बिरामीहरूलाई भारतीय बजारसम्म पुर्याउने कार्यहरू भइरहेका छन्। भारत र नेपालसँग सिमाना जोडिएका अधिकांश नेपाली भूमिमा उपचार गर्न आएका बिरामीहरूलाई भारतीय भूमिसम्म पुर्याएर बिरामीहरूबाट ठूलो रकम उपचारका नाममा लुट्ने प्रवत्ति पनि नेपालमा विद्यमान रहेको छ ।

नेपाली बजार वा ग्रामीण क्षेत्रमा खोलिएका स्वास्थ्यचौकीदेखि लिएर जिल्ला अस्पतालमा बढ्दै गइरहेको बेथिति निकै भयावहको अवस्थामा देखिन्छ । यो नै नेपालको स्वास्थ्य क्षेत्रको यथार्थता होे । यतिसम्मकी गाउँ घर नजिक अस्पताल नहुँदा मानिसहरू अकालमै मरिरहेका छन् । जहाँ रोग, भोग अशिक्षा र अभाव छ त्यो ठाउँमा अस्पताल खोल्न र दक्ष जनशक्ति भित्र्याउनका लागि लामो समयसम्म देशको बागडोर सम्हालेको नेपाली कांग्रेसले किन सकेन ?

किन सुधार गर्न सकेन नेपालको स्वाथ्य क्षेत्रमा भइरहेको विकृति विसंगतिलाई ? किन नेपाली कांग्रेसजस्तो पार्टीले विगतमा गोबिन्द केसीहरूका मागलाई सुनुवाई गरेनन् । किन लेखेनन् नेपालका वरिष्ठ पत्रकारहरूले ती विकटताका समाचारहरू र त्यहाँका जनताले भोग्नुपरिरहेका पीडाका बारेमा । डा. गोविन्दले नेपालमा देखिरहेका र जनताले भोग्नुपरिरहेका स्वास्थ्य समस्याका बारेमा किन बोलेनन् ।

विगतमा पनि त गोविन्द केसीले अनशन जारी राख्दाका बखत नेपाली कांग्रेसले किन सम्बोधन गर्न सकेन गोविन्द केसीका मागहरूलाई । कता हराएका थिए नेपालको नागरिक समाज जहाँ मानिसहरूले सिटामोलसमेत खान नपाउँदा आवाज उठाउने बेलामा । झाडापखालाले गाउँ नै सोत्तर हुँदाका बखत कता थिए नेपालका मानव अधिकारवादीहरू । आज देखाउनका लागि जनताले कसैलाई पनि पत्याउनेवाला छैनन् ।

यथार्थ धरातलमा रहेर उठाइने हरेक मागहरूको पक्षमा जनताले साथ दिनेछन् । विगतमा पनि जनताले यसरी नै हरेक आन्दोलनलाई साथ दिँदै आएका पनि हुन् । तर, गोविन्द केसीलाई अगाडि सारेर जसरी नेपाली कांग्रेस र कांग्रेस निकटहरूले आन्दोलन गरिरहेका छन्। अस्पतालका सेवाहरूलाई प्रभावित गरिरहेका छन् ती के चरम मानवअधिकारका विरुद्धमा भएनन् र ?  एक जना गोविन्द केसीको कुरा नगरौँ यहाँ दैनिक मानिसहरूले अकालै ज्यान गुमाउनु पररहेको छ अस्पतालमा उपचार नपाएर ।

गाेविन्द केसीलाई अगाडि सारेर गरिएको आन्दोलनको स्वरूप भोलि के हुने हो त्यो आन्दोलनकारीहरूलाई नै थाहा होला । गोविन्द केसीले थालेको आन्दोलनका मुद्दाहरू सबै गलत छन् भन्ने होइन । कतिपय मागहरू जायज पनि होला तर गोविन्द केसीलाई जसरी यति वेला नेपाली कांग्रेसले वैतरणी तर्ने साधन बनाउँदै छ यसले केसीका मुद्दालाई झनै कठिन मोडहरूमा लगेर धेकेलीदिने खतरा पनि देखिन्छ । डा. गोविन्द केसीले विगत लामो समयदेखि अनशन बस्ने लत बसाल्दै पनि आएका हुन ।

अधिकांश अनशनहरू नेपाली कांग्रेस सत्तामा रहेका बेला नै थालिएका थिए पनि तर त्यति वेला नेपाली कांग्रेसले मागहरूलाई सम्बोधन गर्न नसकेको यथार्थतालाई कसैले पनि भुलेको छैन। त्यसकारण डा. गोविन्द केसीले के बुझ्न जरुरी छ भने नेपालको स्वाथ्य क्षेत्रलाई व्यवस्थित, मर्यादित र स्वच्छ बनाउनका लागि पनि राज्यका सबै सरोकारवाला निकायका बीचमा कडा मुद्दाको रूपमा राखेर बहस चलाउनुपर्ने दिशामा केन्द्रित हुनुको सट्टा स्वाथ्य संस्थाहरूलाई रणभूमि बनाउने जुन कुचेष्टा गरिँदै छ ।

त्यो नेपाली माटो सुहाउँदो भने पक्कै पनि देखिँदैन । नेपाली कांग्रेसले पनि प्रतिपक्ष सरकारसँग कुनै मुद्दा राष्ट्रिय हित विपरीत छन् भने त्यसलाई सम्बोधन गर्ने र समाधान निकाल्ने संसद् छ त्यसबाट सहजै निकास निकाल्ने बाटोमा ध्यान केन्द्रित गर्नुपर्ने हो त्यो नेपाली कांग्रेसबाट गरेको देखिएन ।

जबसम्म जिम्मेवार प्रतिपक्षको भूमिकामा नेपाली कांग्रेसजस्तो पार्टी जसले आफूलाई लोकतान्त्रिक र प्रजातान्त्रिक भएको दुहाइदिन्छ त्यसले किन अराजकताको पक्षमा देशलाई लान खोज्दै छ ? किन देशलाई भिडन्तको अवस्थामा पु¥याउन खोज्दै छ यस विषयलाई आमसमीक्षाको विषय बनाइनुपर्दछ । स्वास्थ्य क्षेत्रलाई युद्धभूमि बनाउने कार्य कसैबाट पनि नहोस् ।

प्रतिक्रिया