भरतपुर क्यान्सर अस्पताल जग्गा प्रकरण: अस्पताल धरासायी बनाउने षड्यन्त्र


चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जमिनमा सिटी हल निर्माण गर्ने निर्णयको चौतर्फी तीव्र विरोध भएको छ । सिटी हल निर्माण गर्ने बहानामा अस्पताललाई धरासायी बनाउने गम्भीर षड्यन्त्र सुरु भएको भन्दै नागरिक समाज तथा राजनीतिक दलबाट विरोध सुरु भएको हो ।

नागरिक समाजका अगुवाहरूले अस्पतालजस्तो संवेदनशील स्थानमा अन्य प्रयोजनका कुनै पनि संरचना निर्माण गर्न नहुने दबाब दिन थालेका छन्। सोमबार विभिन्न दल तथा समाजका व्यक्तिहरूले भरतपुर महानगरकी प्रमुख रेणु दाहाललाई भेटेर अस्पताल बाहेकको अन्यत्र खाली जमिनमा सिटी हल बनाउन माग गरे ।

वरिष्ठ समाजसेवी तथा भ्रष्टाचारविरुद्ध अभियानका प्रमुख भीमबहादुर श्रेष्ठले अस्पताल सञ्चालक समितिदेखि महानगरकी मेयर दाहाललाई भेटेर अस्पतालको जमिन अन्य प्रयोजनमा नदिन माग गरिएको जानकारी दिए । ‘हामीले अस्पताललाई कतै धराशायी बनाउन त लागेका छैनौँ, यसलाई रोक्न सबै एकजुट हुनुपर्ने भएको छ,’ श्रेष्ठले भने, ‘कुनै हालतमा अस्पतालभित्र सिटी हल बनाउन पाइँदैन ।’

यो राष्ट्रिय सम्पति जोगाउनु सबैको दायित्व भएको उनले बताए ।  क्यान्सरको जमिन अरू काममा उपयोग गर्न नहुने माग मेयरसँग राखिएको उनले जानकारी गराए । ‘मेयर सकारात्मक भएको पाएँ, तर यो षडयन्त्र कहाँबाट गरियो, बुझ्न सकिएन,’ श्रेष्ठले भने । सोमबार नै अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई श्रेष्ठसहित, कांग्रेसका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा लगायतले भेटेर अस्पतालको जमिन अरूलाई प्रयोग गर्न नदिन आग्रह गरेका थिए ।

क्यान्सर अस्पतालको जमिनमा सिटी हल निर्माणको सत्तारूढ दल भित्रकै एक तप्काले विरोध जनाएको छ। आफ्नै पार्टीको सरकार भएकोले व्यापक विरोधमा नउत्रे पनि कम्युनिस्ट नेताहरूले असन्तुष्टि जनाएका हुन्। अस्पताललाई नै जग्गा खाँचो हुँदाहुँदै अन्य निकायलाई दिएर भौतिक संरचना बनाउन नहुने उनीहरूको धारणा छ । अहिले सत्तापक्षदेखि प्रतिपक्ष सबैले अस्पतालको जमिनमा सिटी हल निर्माण गर्ने निर्णयको विरोध सुरु गरिसकेका छन् ।

‘मलाई पूरै जानकारी नभए पनि अस्पतालको जमिन अस्पतालले नै उपयोग गर्नुपर्छ,’ नेकपाका नेता तथा एमालेका पूर्वअध्यक्ष जेएन थपलियाले भने, ‘यस्तो विषयमा सञ्चालक समिति जिम्मेवार बन्नुपर्दथ्यो ।’ स्वास्थ्य मन्त्रालयले आफ्नो जमिन आफ्नै संरचना निर्माणमा उपयोग गर्नुपर्ने धारणा पनि उनले राखे । सिटी हल बनाउन भरतपुरभरि प्रशस्त जमिन भएको उनको भनाई छ।

भरतपुरको यज्ञपुरीमा अवस्थित अस्पतालले जमिन अपुग भएको भन्दै केही वर्ष पहिले नवलपुरस्थित गैँडाकोटको पेन्सन क्याम्पमा २० बिघा जमिन किनेको छ । जग्गा नपुगेको भनेर अस्पतालले अन्यत्र जग्गा किन्ने तर अहिले महानगरलाई सिटी हल बनाउन जमिन दिने विषय रोचक भएको जानकारहरू बताउँछन् । अस्पताल नजिकै सिटी हल बनाउने निर्णयले अस्पताललाई खलल पार्ने धेरैको ठम्याइ छ ।

कांग्रेस नेता कोइरालाले पनि अस्पतालको जग्गा कुनै हातलमा सिटी हल निर्माणका लागि दिन नहुने बताए । ‘अस्पतालको जग्गामा सिटी हल बनाउने कुरा चितवनका जनतालाई स्वीकार्य छैन, यसलाई तत्काल रोक्नुपर्छ,’ कोइरालाले भने । चितवनका कांग्रेस नेताहरू यसै विषयलाई लिएर विभिन्न दलका नेतासँग भेट्न राजधानी पुगेका छन् ।

सोमबार नै चितवनका कांग्रेस युवा नेता दिनेश कोइराला, पूर्वसांसद एकनाथ रानाभाट लगायतका व्यक्तिले राजधानीस्थित विभिन्न नेताहरूलाई भेटेर क्यान्सर अस्पतालको जमिनमा सिटी हल बनाउन रोक्न अनुरोध गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइरालासँग भेटेर क्यान्सरको जमिन अन्य काममा उपयोग गर्न नदिन जानकारी गराइएको नेता कोइरालाले बताए । उनका अनुसार, भेटमा महामन्त्री कोइरालाले त्यस्तो निर्णय भएको हो भने अस्पताललाई ठूलो असर पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘त्यो अस्पतालमा हामी सबैको योगदान छ,’ महामन्त्री कोइरालाले भने, ‘अस्पतालको जमिन अरुलाई दिन हुन्न ।’ स्वास्थ्यमन्त्री लगायतसँग कुरा गरेर उक्त निर्णयलाई रोक्न पहल गर्ने उनको भनाइ थियो। अस्पतालले भने भरतपुर महानगरलाई जग्गा दिने कुनै निर्णय वा सिफारिस नगरिएको जनाएको छ। ‘हामीले कुनै सिफारिस गरेका छैनौँ, कार्यकारी निर्देशक आचार्यले सौर्यसँग भने, ‘स्वास्थ्य मन्त्रालयको जग्गा भएकोले उसैले निर्णय गरेको हो ।’

अस्पतालको जमिन अन्य काममा दिन नहुनेमा सबै संवेदनशील रहेको उनले बताए । यसै विषयलाई लिएर कांग्रेस जिल्ला समिति चितवनले क्यान्सर अस्पतालको जमिनमा सिटी हल निर्माणको विरोध गरेको छ । समितिले विज्ञप्ति जारी गरी क्यान्सर एकेडेमी बनाउने जमिनमा सिटी हल बनाउन नहुने धारणा सार्वजनिक गरेको हो ।

सभापति श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अस्पतालको भोगचलन रहेको जमिनमा अस्पतालकै मात्र संरचना निर्माण हुनुपर्ने उल्लेख छ। क्यान्सर अस्पतालको खाली जमिनमा भरतपुर महानगरलाई सिटी हल बनाउन स्वास्थ्य मन्त्रालयले केही महिनाअघि निर्णय गरेको थियो।

अहिले उक्त निर्णयको फाइल मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट पास गराउन चितवनका सांसद कृष्णभक्त पोखरेलले पहल गर्दै आएका छन् । पोखरेलले जनचाहना र अस्पतालको मर्मविपरीत पहल गरेकोप्रति यहाँका सर्वसाधारण रुष्ट भएका छन् ।

प्रतिक्रिया