पत्नीको कलेजोले दियो नयाँ जीवन

खड्कासँगै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भयो तेस्रो कलेजो प्रत्यारोपण

 

 

सौर्य समाचार

भक्तपुर । बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि, भोलि भन्ने मात्रै थियो, तर मेरी पत्नीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।’ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको आइसियू कक्षको शय्यामा रहेका कराते खेलाडी ४३ वर्षीय बद्री खड्काले यसो भनिरहँदा मुहार निकै हँसिलो बन्यो । पीडादायी आवाजमा पनि एक प्रकारको खुसीयालीसँगै उच्च मनोबल झल्कियो ।

बुढानीलकण्ठ नगरपालिका–११ कपन निवासी खड्कामा रहेको १३ वर्षदेखिको निराशा हटेपछि उनीसँगै सिंगो परिवारमा खुसीयाली छाएको छ यतिवेला । ०६२ सालमा कलेजोमा समस्या देखेर उपत्यकाका नाम चलेका विभिन्न अस्पताल धाउँदा झन्डै ३० लाख रुपैयाँ सिद्धिएको थियो । ‘डाक्टरले कलेजोमा प्वालैप्वाल छ भन्थे, इन्फेक्सन हुनबाट जोगाउन औषधि खाइरहेको थिएँ, कलेजो नफेरि हँुदैन भन्थे, त्यो अवसर बल्ल जु¥यो र बाचेँ’, खडकाले भने । नेपालका ओम अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, काठमाडौं मेडिकल कलेज हँुदै भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएपछि गत १० असारमा उनको कलेजो प्रत्यारोपण सफल भएको थियो । सो प्रत्यारोपणसँगै उनले दोस्रो जीवन पाएका हुन् ।

‘पत्नीको रेखदेख र औषधि खाएकै भरमा अहिलेसम्म बाँचेको हुँ । ०६५ सालमा वीर अस्पतालका डाक्टरले खान मन लागेको जे खाए पनि हुन्छ, खान दिनुहोस्, अब घर लानुपर्दैन, आर्यघाट लगे हुन्छ भने, त्यतिखेर मलाईभन्दा बढी गाह्रो मेरी पत्नीलाई भयो ।’ अस्पतालका चिकित्सकले माया मारेको पीडा सुनाउँदै खड्काले भने । ०६० सालमा ललितपुर इमाडोलकी रुसा सुवेदीसँग मागी विवाह गरेका खड्काका १३ वर्षकी छोरी र नौ वर्षका छोरा छन् । छोराछोरी सम्हाल्दै बिरामी पतिलाई विभिन्न अस्पताल पु¥याउँदै अन्त्यमा आफ्नै कलेजो दिएर बचाउने रुसाको हिम्मत र आँटले नै आफू बाँच्न सफल भएको उनले सुनाए ।

‘शरीर सबै सुन्नियो, पेट निकै ठूलो भयो, पटकपटक फोक्सोबाट पानी झिक्दा मलाई भएको पीडा देखेर पत्नीलाई पनि धेरै दुखेछ, मेरो पीडा उनलाई सहन गाह्रो भयो, त्यसैले उनले आफ्नै कलेजो दिने निर्णय गरिन् ।’, खडकाले भने । नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु नभएकाले भारत जाने सल्लाह भए पनि भारतमा प्रत्यारोपणमै एक करोड रुपैयाँभन्दा बढी लाग्ने र डिस्चार्ज भएर आउने वेलासम्म डेढ करोड रुपैयाँ खर्च हुने भएपछि उनी भारत गएनन् । केन्द्रमा भने २० लाख रुपैयाँ डिपोजिट गरेपछि कलेजो प्रत्यारोपणसँगै उपचार सकिएको उनले बताए । नेपालमै थोरै पैसाले प्रत्यारोपण गर्न सकिने हुँदा धेरैको ज्यान बाँच्ने र पैसाको वचत हुने अनुभूतिसमेत उनले सुनाए ।

डाक्टरमार्फत् नै भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि केन्द्रमा आएर सबै जाँच गर्दा पत्नीको कलेजो प्रत्यारोपण गर्न मिल्ने भएपछि गत १० असारमा उनको कलेजो प्रत्यारोपण गरिएको हो । पतिको अवस्था ठीक भएपछि पत्नी रुसा पनि निकै खुसी छिन् । ‘अब त उहाँले घर मात्रै कुरिदिए पनि पुग्छ, अरू केही गर्नु पर्दैन, कमसेकम उहाँ भएपछि मेरो जीवन पूर्ण भएको छ, मेरो धेरै तनाब घटेको छ,’ उनले भनिन् । सानैदेखि माछा मासु नखाने, मदिरा नपिउने भए पनि ०५३ सालमा दुईपटक जन्डिस भएको थियो । करातेका मास्टर र करातेका थ्री डनसमेत भइसकेका बद्रीको दुई वटा आफ्नै डोजोर विभिन्न विद्यालयहरूमा सिकाउन जानुपर्ने हुँदा समयमै खाना खाने व्यवस्था नहँुदा धपेडीकै कारण कलेजो बिग्रिएको उनको भनाइ छ ।

केन्द्रका प्रमुख एवं निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म तीन वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सफल भएको बताउँदै अब सातामा एउटा कलेजो प्रत्यारोपण गर्न सकिने अवस्थामामा केन्द्र पुगेको जानकारी दिए । भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्राडा सुभास गुप्ताको नेतृत्वमा रहेको नौ सदस्यीय टोली र केन्द्रका डा. श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले १४ घण्टा लगाएर खड्काको कलेजो प्रत्यारोपण गरेका थिए । ‘हामीसँग जनशक्ति र प्रविधि तयारी अवस्थामा छ, अब बिरामी आए हरेक साता कलेजो प्रत्यारोपण गर्न सक्छाँै । केन्द्रले २० लाखमै कलेजो प्रत्यारोपण गर्न सक्छ, अब यसकै लागि भारत जानुपर्दैन ।’, डा. श्रेष्ठले भने ।

नेपालमा पहिलोपटक यही केन्द्रमा भक्तपुरका बलराम नागालाई उनकै दिदी सानुमाया लागेजूले कलेजो दिएकी थिइन् भने दोस्रोपटक केन्द्रमै लगनखेलका ५७ वर्षीय हिराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । महर्जनलाई उनकी छोरी सरिताले कलेजो दिएकी थिइन् ।

प्रतिक्रिया