डा. केसी आइसियुमा

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना, केसीले हठ देखाउँदै उपचार गर्न नमानेको गृहमन्त्रीको स्पष्टोक्ति

सौर्य समाचार

जुम्ला । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत त्रि.वि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहले अस्पताल पुर्यारएका छन् ।

१५औँ अनसन बसेको ५औँ दिन बुधबार दिउँसोसम्म बोल्दै गरेका केसीलाई स्वास्थप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्स मगाएर अस्पताल लगिएको हो । अनसन बस्न निषेधित क्षेत्र भए पनि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । उनलाई तत्काल आइसियुमा राख्नुपर्ने भए पनि त्यहाँ नभएका कारण केही उपकरण जोडेर केसीकै लागि अस्थायी आइसियु कक्ष बनाइएको छ । डा. केसीलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गरी उपचार गरिँदै आएको छ ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसियु छैन, तर डा. केसीलाई गाह्रो भएकाले आइसियुको सम्पूर्ण उपचार पद्धति मिलाएर उपचार भइरहेको छ ।’ डा. केसीको उपचार गरिरहेका किशोर केसीले भने ।’ डा. केसीलाई काठमाडौंमा नै ल्याउनुपर्ने अवस्था नभएको किशोरले बताएका छन् । अहिले अवस्था स्थिर भएपनि डा. केसीको अवस्था थप गम्भीर भए काठमाडौंमा ल्याउनुपर्ने उनले जानकारी दिएका छन् । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापा र डिएसपी तपन दाहालको टोली अस्पताल पुगेका छन् । दुवै जनाले डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

केसीले नै उपचार गर्न मानेनन्ः सरकार

गृहमन्त्री रामबहादुर थापाले केसीको स्वास्थ्य अवस्थावारे सरकार गम्भीर रहेको बताएका छन् । डा. केसीले चाहेमा काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा रहेको र उनको उपचारका लागि चिकित्सक पठाउन तयार रहेको पनि बताए ।

केसीको स्वास्थ्य उपचारकाका लागि सदनले आदेश दिए काठमाडौं ल्याउन पनि तयार रहेको बताएका हुन् । ‘सरकारले डा. केसीलाई स्वास्थ्य परीक्षणका लागि रोकिरहेको भन्ने कुरा शतप्रतिशत झुटो कुरा हो । उहाँको स्वास्थप्रति हामी गम्भीर छौँ । हामी त चाहन्छौँ, उहाँलाई काठमाडौं ल्याएर उपचार गर्छौं’ गृहमन्त्री थापाले भने, ‘उहाँले आफ्ना डाक्टरको समेत उपचार लिन मान्नुभएन । उहाँको अनशन व्यवस्थित होस्, सुविधाजनक ढंगले आफ्ना माग उठाउन पाउन भनेर आवश्यक सामग्री जुटाइदिन कोसिस गरेका हौँ । तर, आफ्नै डाक्टरको पनि उपचार लिन मान्नुभएन ।’ ‘केसीको उपचार गर्न जबर्जस्ती काठमाडौं ल्याउने हो भने सदनले आदेश दिनुपर्छ, उहाँलाई काठमाडौं ल्याएर उपचार गर्नुपरे पनि हेलिकप्टर ठीक पारेर राखेका छौँ, उनले थपे, ‘तर उहाँको हठ छ, जिद्दी छ । अनशन गरेकै ठाउँमा उपचार गर्नुपर्ने भए पनि हामीले डाक्टर ठीक पारेर राखेका छौँ ।’

प्रतिक्रिया