सबै व्यक्तिको जीवनस्तर उकास्ने छडी नगरप्रमुखमा छ

निर्वाचित प्रतिनिधिले काम सुरु गरेको १ वर्षभन्दा बढी भइसकेको छ । अधिकांस स्थानीय तह आफ्ना लागि काम कर्तव्य र अधिकार निर्धारण गर्ने काममा व्यस्त छन् । अरु कतिले स्थानीय आवश्यकता पहिचान गरिरहेका छन् । गोकर्णेश्वर नगरपालिका काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नगरपालिका हो । यो नगरपालिकाले अहिले आफ्ना आवश्यकता, सम्भावना र चूनौतीहरु पहिचान गरी योजना निर्माणको काम गरिरहेको छ ।

केही विकास निर्माणको काम पनि सुरु गरिसकेको यो नगरपालिकाका आगामी योजना र भावी रणनीतिका विषयमा हामीले नगरप्रमुख सन्तोष चालिसेसँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत् छ, नगरप्रमुख चालिसेसँग सौर्यकर्मी सुभानु आचार्यले गरिको कुराकानीको सम्पादीत अंश ।

एक वर्षको कार्यकालमा गोकर्णेश्वर नगरपालिका प्रमुखले के के काम गर्नुभयो ?
नगरपालिका गठन हुनुपूर्व गोकर्णेश्वरको प्रशासनिक क्षेत्र फितलो थियो । सुदृढ प्रशासनिक क्षेत्र विस्तारका लागि प्रशासनिक शुद्धीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्यौ । दोस्रोमा विकास निर्माण र भौतिक निर्माणको कामलाई बढवा दियाैँ । गोकर्णेश्वर नगरपालिकाभित्र रहेका फोहोरमैला व्यवस्थापनका लागि विदेशबाट मेसिन ल्याउने काम गयौँ ।

महिला र किसानलाई आत्मनिर्भर बनाउन विभिन्न प्रशिक्षण दियौँ । उपत्यकामा सबैभन्दा धेरै बजेट प्रक्षेपण गोकर्णेश्वर नगरपालिकालाई भएको छ । नगरपालिकाको वडामा विभिन्न योजनाका कामहरू सम्पन्न गराइँदै छ । विगत लामो समयदेखि खाल्डाखुल्डी परेको चाबहिल–साँखुको सडक मर्मत तथा विस्तारको योजना अघि बढेको छ ।

विगत एक वर्षदेखि चाबहिल–साँखुको सडक सहज बनाउन वर्षमा दुई÷तीनपटक टालटुल मात्रै गर्दै आएका थियौँ । अहिले व्यवस्थित र सरल सडक निर्माणको योजना अघि बढेको छ । सडक र व्यापक बस्तीको कारणले बिग्रिएको वातावरण सन्तुलित बनाउन नगरपालिकाबाट विभिन्न कामहरू अघि बढेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको मुख्य आवश्यकता के हुन् ?
गोकर्णेश्वर नगरपालिकामा एक मात्र होइनन्, अनेक आवश्यकता रहेका छन् । फोहोरमैला व्यवस्थापन तथा वातावरण सन्तुलनलाई गोकर्णेश्वर नगरपालिकाले मुख्य आवश्यकतामा राखेको छ । गोकर्णेश्वर नगरपालिकाको दोस्रो आवश्यकतामा भौतिक निर्माणका कामहरू पर्दछन् । सामाजिक विकासका कामहरूलाई गोकर्णेश्वर नगरपालिकाले तेस्रो नम्बरको आवश्यकतामा राखेको छ ।

गोकर्णेश्वर नगरपालिकाले पशुपतिदेखि शिवपुरीसम्म धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्नुपर्ने हुन्छ । पशुपतिदेखि सुन्दरीजलसम्म एउटै धार्मिक पर्यटन प्लेट बनाउनु उपयुक्त देखिन्छ । शिवपुरीको सहिद पार्कबाट केबुलकार लाने तयारी भएको छ । फोहोरमैला व्यवस्थापन गराउन विदेशी मेसिनको प्रयोजन नगरपालिकाले गर्दै छ।

आउँदो साउनबाट नगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा निरन्तरता दिँदै अघि बढ्नेछ ।गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाको विभिन्न माग पूर्तिका लागि भर्खरै ९२ करोडको नयाँ बजेट प्रक्षेपण गरिसकेको छ । गोकर्णेश्वर नगरपालिकाको प्रत्येक वडाको भागमा लगभग तीन करोड बजेट माग पूर्तिका लागि दिएको छ।

अन्य नगरपालिका खानेपानीको समस्याबाट गुज्रिरहेका छन् । गोकर्णेश्वर नगरपालिकामा खानेपानीको अवस्था कस्तो छ ?
गोकर्णेश्वर नगरपालिका जलस्रोतमा धनी छ । गोकर्णेश्वर नगरपालिकाभित्र खानेपानीको केही मात्रमा समस्या छ । खानेपानीको धनी क्षेत्रका रूपमा गोकर्णेश्वर नगरपालिकालाई चिनिँदै आएको छ ।

त्यसमाथि सम्पन्न हुन लागेको मेलम्चीको पानीको वितरणका लागि पनि यसै नगरपालिका भित्रबाट सुरु हुन्छ । गोकर्णेश्वर नगरपालिका नगरवासीले बाग्मतीको २० देखि ३० इन्चीको पाइपमा पानी ल्याएर खाइरहेका छन् । गोकर्णेश्वर नगरपालिका पानीको स्रोतमा धनी भए पनि यसको प्रयोगमा भने गरिब देखिन्छ । यस नगरपालिकामा भएका सबै पानीको मूललाई एकत्रित गरी उपत्यकाभर वितरण गरिन्छ ।

यदि, यहाँको पानीलाई व्यापारिक प्रयोजनमा नलगाउने हो भने यहाँका जनतालाई पानीको कुनै समस्या आउँदैन ।मेलम्चीको पानी जनतालाई खुवाउन गोकर्णेश्वर नगरपालिका संघर्षरत छ । रिङरोड बाहिरको जनसंख्यालाई मेलम्चीको पानी नदिने सरकारको योजनालाई गोकर्णेश्वर नगरपालिकाले चाहिन्छ भनी माग गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाले मेलम्चीको पानीका लागि आवाज उठाइरहेको छ । गोकर्णेश्वर नगरपालिकाका नगरवासीले मेलम्चीको पानी खान थालेपछि सुन्दरीजलको पानी बौद्धसम्म मात्र दिने भन्ने योजना अघि बढेको छ । गोकर्णेश्वर नगरपालिकामा हाल खासै पानीको समस्या छैन । भविष्यमा पनि नहोस् भनी मेलम्चीको पानी माग गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको चुनौतीहरू के के हुन् ?
गोकर्णेश्वर नगरपालिकाको मुख्य चुनौती भनेकै सडक हो । गोकर्णेश्वर नगरपालिकाको सडक निर्माण तथा विस्तारले विभिन्न समस्याको अन्त्य गर्नेछ । गोकर्णेश्वर नगरपालिकामा रहेका विभिन्न सडकको कारणले यात्रुलाई दैनिक समस्यामा पारेको छ । सडकको अन्योलताले गोकर्णेश्वरको वातावरणमा पनि निकै असर पारेको छ ।

खाल्डाखुल्डी परेको सडकले घाममा धुवाँ धुलो र बर्खामा हिलो छ्यापी प्रभाव पारिरहेको छ । नगरपालिकालाई सडक मर्मत तथा विस्तारको काम कहिले सिध्याउने भन्ने चटारो परेको छ ।

आगामी चार वर्षभित्र गोकर्णेश्वर नगरपालिकाले के कस्ता काम सम्पन्न गराउनेछ ?
गोकर्णेश्वर नगरपालिकाको मुख्य समस्या भनेकै फोहोरमैला हो । व्यापक फोहोरमैला वृद्धिका कारण गोकर्णेश्वर नगरपालिकाको वातावरण नाजुक छ त्यसलाई शुद्धीकरण गराउनुपर्नेछ । सडकहरू पूर्णरूपमा विस्तार तथा विकसित गराउँदै लानुपर्नेछ ।

गोकर्णेश्वर नगरपालिकाभित्र रहेका विभिन्न मठमन्दिर, धार्मिक क्षेत्र तथा प्रर्यटन विस्तारमा नगरपालिकाले जोड दिँदै जानेछ । गोकर्णेश्वर नगरपालिकालाई जनताको सोच अनुरूपको नमुना नगरपालिकामा विकास गर्ने योजना रहेको छ ।

गोकर्णेश्वर नगरपालिकामा लालपुर्जाविहीन व्यक्तिहरू कति छन् । उनीहरू नगरपालिकामार्फत के चाहान्छन् ?
गोकर्णेश्वर नगरपालिका रहेका विभिन्न वडा मध्ये ४ र ८ मा ७५ घर धुरीको लालपुर्जा छैन । लालपुर्जाको अभावमा उनीहरूले पाउन नसकेको भूकम्प प्रभावितको रकम नगरपालिकले मिलाइदेओस् भन्ने उनीहरूको माग छ । गोकर्णेश्वर नगरपालिकामा हदबन्दी लागेको जग्गा भोगचलन गर्ने १ सय ६५ घर लालपुर्जाविहीन रहेका छन् ।

भूमिसुधार मन्त्रालयले लगाएको हदबन्दी फुकुवाको समाधान जनताले चाहेका छन् । हदबन्दी फुकुवाको काम क्याबिनेट बैठकबाट निर्णय भई पास हुनुपर्नेछ । गोकर्णेश्वर नगरपालिकामा २८ घरधुरी सुकुम्बासी रहेका छन् । विगत ५० वर्षदेखि ती सुकुम्बासी गोकर्ण मन्दिरको आसपासमा बस्दै आएका छन् । गोकर्णेश्वर नगरपालिकाले लालपुर्जाविहीन र सुकुम्बासीको हितमा सहयोग हुने काम गर्नेछ ।

गोकर्णेश्वर नगरपालिकामा रहेका कुनकुन क्षेत्रले पर्यटन विस्तारमा सहयोग गर्छन् ?
गोकर्णेश्वर नगरपालिका उपत्यकाको सबैभन्दा बढी पर्यटन भित्र्याउने क्षेत्र हो । गोकर्णेश्वर नगरपालिकाको तुलनामा अन्य नगरपालिकाले पर्यटन भित्र्याउन सक्दैनन् । गोकर्णेश्वर नगरपालिकामा हरेक समय बढी पर्यटकको ध्यानाकर्षण हुन्छ । आन्तरिकका साथै बाह्य पर्यटकको आवागमन हुने मुख्य स्थान गोकर्णेश्वर नगरपालिका हो ।

गोकर्णेश्वर नगरपालिकाको छेउमा विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथको मन्दिर छ । पशुपतिनाथको दर्शन गर्न विश्वका विभिन्न मुलुकबाट मानिस आउछन् । यस नगरपालिकासँगै जोडिएका बौद्धनाथ, गुह्येश्वरी तथा पशुपतिनाथको मन्दिरले पर्यटकलाई यस नगरपालिकामा रहेका गोकर्णेश्वर, उतरवाहिनी–उतरगया, सुन्दरीमाई, शिवपुरी र बाघद्वारजस्ता नाम चलेका मन्दिर तथा चैत्यले आकर्षण गर्ने गरेका छन् ।

यी विभिन्न परिचित धार्मिक स्थानलाई पर्यटन प्लेट बनाउने उद्घोष नगरपालिकाले गरेको छ । गोकर्णेश्वर नगरपालिकाले धार्मिक क्षेत्र निर्माणमा ठूलो रकमको बजेट विनियोजन गरेको छ । गोकर्णेश्वर नगरपालिकाको मुख्य चिनारी भनेकै धार्मिक पर्यटनको आधार हुन् । गोकर्णेश्वर नगरपालिकालाई विभिन्न मोडलमा विस्तार गर्ने उद्देश्य नगरपालिका प्रमुखको रहेको छ ।

गोकर्णेश्वर नगरपालिकामा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीच कस्तो सम्बन्ध छ ?
विगतमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीच खासै कस्तो समस्या थियो त्यस बारेमा मलाई केही थाहा छैन । नगरपालिकाको गठन र मेरो नेतृत्वमा सबै जनप्रतिनिधि, कर्मचारी र स्थानीय बीच भाइचाराको सहयोगी सम्बन्ध देखिन्छ । आवश्यकताको पूर्ति र मागअनुसार नगरपालिका अघि बढ्ने हो कुनै पनि समस्या होलाजस्तो मलाई लाग्दैन ।

गोकर्णेश्वर नगरपालिकाका नगरवासीले तपाईंबाट कस्तो कामको अपेच्छा गरेका छन् ?
गोकर्णेश्वर नगरपालिका नगरवासीले मेरो तर्फबाट सकारात्मक कामको अपेच्छा गरेका छन् । सबैले जनताले सफल मेयरको रूपमा भूमिका निर्वाह गरोस् भन्ने चाहान्छन् । गोकर्णेश्वर नगरपालिकामा भएका अन्योलता हटाई सुशासनको साथै हरभरा बनाउन दिशाबोध गरेका छन् ।

नगरप्रमुखले सबै वर्ग तथा समुदायको इच्छा तथा आकांक्षा पूरा गरिदियोस् भन्ने जनताको अपेच्छा छ । नगरपालिकामा रहेका सबै व्यक्तिको जीवनस्तर विकास गर्ने छडी नगरप्रमुखमा छ । त्यसैले भनेको समयमा काम पूरा गरिदिन आग्रह गर्ने गर्छन् । (सौर्यकर्मी सुभानु अचार्यसँग गरिएको कुराकानीको संपादित अंश)

प्रतिक्रिया