डा. केसीको समर्थनमा चिकित्सक संघ आन्दोलित

सौर्य समाचार

जुम्ला । सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्यप्रति बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले मंगलबार कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।

चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन लागिपरेका डा. केसीलाई अस्पतालमा उपचारसमेत गर्न नदिएको विरोधमा पहिलो दिन मंगलबार अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा. प्रवीणकुमार गिरीले जानकारी दिए ।

उपाध्यक्ष गिरीले भने, ‘चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता प्राडा केसीको जीवनरक्षाका लागि सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमाभित्र प्रशासनको कुनै पनि पहल नभएपछि हामी आन्दोलनमा उत्रेका हौँ ।’
मंगलबारदेखि नै प्रदेशस्तरका आकस्मिक कक्षबाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालीन बन्दका लागि आह्वान गरिएको उनको भनाइ छ । प्राडा केसीले आफूले राखेका माग सरकारले पूरा नगरेसम्म जीवनमरणको लडाइँ जारी राख्ने बताएका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जनताका हितमा बोल्ने सच्चा नागरिकमाथि दमन र अपमान गरेर सरकारले नेपाली जनतामाथि अन्याय गरेको बताए । सरकारले संविधानको मौलिक हक कुण्ठित गरेको औँल्याउँदै उनले डा. केसीको मानवअधिकार हरण गरिएको गुनासो गरे ।

चिसो र अँध्यारो ठाउँमा राखिएकाले डा. केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले बताए । डा. केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको उनको भनाइ छ । पर्याप्त स्वास्थ्य सामग्रीको अभावमा डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको पनि उनले बताए ।

प्रतिक्रिया