गर्भपतन गराउने किशोरीको संख्या अत्यधिक

सौर्य समाचार

काठमाडौं । राजधानीमा गर्भपतन गराउने किशोरीको संख्या वार्षिक रूपमा बढ्न थालेको छ । गर्भपतन गराउने कुल संख्याको २५ प्रतिशत किशोरी रहने गरेका छन् । यौन शिक्षाको कमी, परिवार नियोजनका साधनको प्रयोगमा अनिच्छा वा कमी र अनिच्छित गर्भका कारण यस्ता किशोरीको संख्या बढिरहेको हो ।

गर्भपतन गराउने किशोरीहरूको सख्या वर्षेनी बढ्दै गइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका कुल ८ हजार ७ सय ८० गर्भपतनमध्ये २ हजार २ सय १३ जना २० वर्षमुनिका किशोरी रहेका छन् । चार वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष यो संख्या बढ्दै गएको देखिएको छ । आव ०७१/७२ मा मान्यता प्राप्त संस्थाबाट भएका १३ हजार ६ सय ९ गर्भपतनमध्ये ३ हजार ४ सय २ जना २० वर्षमुनिका थिए । ०७२/७३ मा यो संख्या बढेर ४ हजार ५ सय ९१ पुगेको थियो भने ०७३/७४ मा यो संख्या केही घटेर ३ हजार १ सय ३३ रहेको थियो । गैरकानुनी रूपमा गर्भपतन गराउने किशोरीको संख्या यो भन्दा धेरै हुन सक्ने कार्यालयको अनुमान छ । खासगरी यसरी गर्भपतन गराउन आउनेमा विद्यालयस्तर सकेर ११÷१२ कक्षा पढ्दै गरेका किशोरी बढिरहेका छन् ।

कक्षा ११ र १२ पढ्ने किशोरीको संख्या अत्यधिक, चालु वर्षको १० महिनामा २ हजार २ सय १३ जना किशोरीले गर्भपतन गराए

उपत्यकामै रहेको अर्को जिल्ला ललितपुरको पनि अवस्था उस्तै रहेको छ । त्यहाँ पनि किशोरीले गर्भपतन गराउने क्रम घट्नुभन्दा बढ्ने क्रममै रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको पछिल्लो तथ्यांक अनुसार गर्भपतन गराउनेको संख्या बढ्दो छ । आव ०७२÷७३ मा भएका कुल २ हजार ४ सय ६ जना गर्भपतनमध्ये २ सय १० जना २० वर्ष मुनिका किशोरी थिए । यो संख्या घट्दै ०७३÷७४ मा १ सय ४६ मा झरे पनि चालु आवको जेठ मसान्तसम्म पुनः बढेर १ सय ८७ पुगेको छ । सोही अवधिमा क्रमशः २ हजार ४ सय ६ (आव ०७२÷७३) र २ हजार ३ सय २७ जना (आव ०७३÷७४) महिलाले गर्भपतन सेवा लिएका थिए ।

गर्भावस्था र प्रसूतिका क्रममा देखापर्ने जटिलता १५ देखि १९ वर्षका किशोरीको मृत्युको प्रमुख कारण रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार विश्वमा बर्सेनि १५ देखि १९ वर्षका ३९ करोड किशोरीले असुरक्षित गर्भपतन गराउने गरेका छन् । कलिलो उमेर गर्भपतन गराउँदा बाँझोपन, पाठेघरको क्यान्सरजस्ता स्वास्थ्य समस्या आइपर्ने गर्दछ । राजधानीमै यो अवस्था रहेको छ भने बाहिरी जिल्लाको अवस्था पनि यस्तै रहेको कार्यालयले जनाएको छ । अझ विभिन्न जिल्लामा हुने बालविवाहका कारण बालिकाहरू सानै उमेरमा आमा बन्दा स्वास्थ्यमा निक्कै ठूलो समस्या आउने गरेको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् ।

ह्युमन राइट्स वाचले सार्वजनिक गरेको ‘हाम्रो नाच्ने गाउने वेला नेपालमा बालविवाह’ शीर्षकको प्रतिवेदनका अनुसार नेपालमा झन्डै ३७ प्रतिशत किशोरीहरूको १८ वर्ष नपुग्दै विवाह भइरहेको छ । युनिसेफले सन २०१६ मा प्रकाशित गरेको तथ्यांकअनुसार १० प्रतिशत बालिका १५ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । नेपाल बालविवाह गर्ने दक्षिण एसियाली मुलुकका प्रमुख देशहरू मध्ये बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्दछ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर प्रत्येक दिन १८ वर्षभन्दा कम उमेरका ३७ हजार किशोरीहरू विवाहित हुन्छन् । युनिसेफ र युएनएफपिएले संयुक्त रूपमा २०१७ जुनमा सार्वजनिक गरेको बालविवाह अन्त्य विषयक कार्यक्रमको अध्ययन प्रतिवेदनले प्रत्येक चार बालिकामध्ये एक बालिकामा बालविवाह भएको देखाएको छ ।

कलिलो उमेरमा हुने गर्भपतनले उनीहरूकै स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसमा सरकारले जनचेतना जगाउने तथा उनीहरू स्वयं पनि सचेत रहनुपर्ने महिला स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया