गुफामा फसेका किशोरहरू ९ दिनपछि जीवितै फेला

एजेन्सी । थाइल्याण्डमा ९ दिन अघिदेखि हराएका १३ जना भेटिएका छन् । तर उनीहरूको उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उद्धारकर्ताहरूले पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन्।

ती स्कूले विद्यार्थी र उनीहरूका प्रशिक्षक गत नौ दिनदेखि हराइरहेका थिए। फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए।

पानीले घेरिएको चट्टानमाथि बसिरहेको अवस्थामा उनीहरुलाई उद्धारकर्ताले भेटेका थिए । गुफामा किशोरहरू जीवितै पाइएपछि अब उनीहरूलाई निकाल्ने चुनौती छ।

गुफाको मुखैमा पुगेका बीबीसी संवाददाता जोनाथन हेड भन्छन्, थाइ अधिकारीहरूले औषधि र चिकित्सकलाई गुफाभित्र पुर्‍याउने सोच बनाएका छन्।

सबैभन्दा पहिला फसेका स्कूले बालकहरूलाई बलियो बनाउन आवश्यक छ। तर पानीको भेल पसेको गुफाभित्रबाट उनीहरूलाई निकाल्ने काम निकै कठिन छ।

उद्धारकर्ताहरूले गोता लगाउने उपकरणको प्रयोगमार्फत फसेकाहरूलाई निकाल्ने या उनीहरूमा शक्ति आएपछि र त्यहाँको पानी तानेपछि मात्रै निकाल्नेबारे अब निर्णय गर्नुपर्ने हुन्छ।

हराइरहरेका किशोरहरू र उनीहरूका प्रशिक्षकसम्म पुग्न ब्रिटिश गोताखोरहरूलाई घण्टौँ लागेको थियो।

प्रतिक्रिया