एजेन्सी । अमेरिकाले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको घोषणा गरेको छ । परिषद् राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो भएको अमेरिकाको आरोप छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले भनिन् ‘पाखण्डी र आफ्नै सेवा गर्ने निकायले मानव अधिकारलाई मजाक बनाएको छ।’
उनले परिषद्का सदस्य राष्ट्रहरूले आफूकहाँ हुने मानव अधिकार उल्लघंनका घटनाबाट ध्यान मोड्न राम्रो अवस्था भएका देशहरूलाई निशाना बनाउने गरेको आरोप समेत लगाइन्।
गत वर्ष राजदूत हेलीले राष्ट्रसंघको मानव अधिकार परिषद् ‘इजरेलप्रति सधैँ पूर्वाग्रही’ भएको आरोप लगाउँदै अमेरिकाले आफ्नो सदस्यताबारे पुनर्विचार गरिरहेको बताएकी थिइन्।
सन् २००६ मा गठित जेनेभास्थित मानव अधिकार परिषद्ले मानव अधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएकोमा आलोचना खेप्दै आएको छ।
प्रतिक्रिया