बंगलादेश । रोहिंग्या मुसलमानहरूलाई म्यानमार हुँदा परम्परागत सारोङ र पाइन्ट लगायतका पूरा लुगा लगाउन निषेध गरिएको थियो । उनीहरूले सधैँ अनौपचारिक कपडा मात्र लगाउन पाउँथे जसले उनीहरूलाई तल्लो जातिका रूपमा पहिचान गराउने गरेको उनीहरू बताउँछन् ।
कानुनी रूपमा यसरी फुल ट्राउजर लगाउनेमाथि कुनै प्रतिबन्ध नभए पनि स्थानीय सुरक्षाकर्मीहरूले उनीहरूलाई पाइन्ट नलगाउन चेतावनी दिने गरेको द वासिङटन पोस्टले उल्लेख गरेको छ। गतवर्ष म्यानमारका सेनाले क्रुरतापूर्वक राखिनेका यस मुसलमान जातिमाथि आक्रमण गरेपछि ७ लाख शरणार्थीहरू आफ्नो ज्यान बचाउँदै बंगलादेश भागेका थिए ।
त्यसकारण अहिले बसिरहेको शरणार्थी शिविरमा भने आफ्नो इच्छा अनुसारको लुगा लगाउन पाएको उनीहरूले बताएका हुन् । यसप्रति खुसी व्यक्त गर्दै त्यहीँका २८ वर्षीय अब्दुल अजिजले भने, ‘अहिले म लोकतन्त्रमा बाँचिरहेको छु र लोकतन्त्रमा सबैले पाइन्ट लगाउँछन् ।’ यसअघि म्यानमार बस्दा आफूले कहिल्यै पाइन्ट नलगाएको उनले बताए । शनिबार त्यहाँका मानिसहरूले उत्साहपूर्वक मुसलमानहरूको महान् चाड इद मनाएका हुन् जस क्रममा उनीहरूले नयाँ कपडा किन्ने गरेका छन् ।
सधैँ अपहेलनामा बाँच्न बाध्य यस जातिले यो एक मात्र दिन चिन्तामुक्त भएर खुसीसाथ आफ्नो पर्व मनाएको हो । यसै हर्षित वातावरणमा अब्दुललगायत अन्य थुप्रै रोहिंग्या पुरुषहरूले लुंगी छाडेर पहिलोपटक जिन्सको पाइन्ट र लामो सेतो सर्ट लगाएका हुन् । उनीहरूले आफ्नो दुई दिनको कमाई बापत गतहप्ता मात्र बजार गएर यसरी पहिलोपटक प्यान्ट किनेको बताए ।
अहिले उनीहरू बसिरहेको शिविरमा गैरसरकारी संस्थाहरूले उनीहरूलाई रोजगारी दिइरहेको छ भने डोनेट गरिएका कपडाबाट पनि उनीहरूले यस्ता लुगा प्राप्त गर्ने गरेका छन् । म्यानमारमा प्यान्टलाई पश्चिमी परम्पराका रूपमा लिइने हुनाले त्यसलाई शिक्षा र धनको संकेतक मानिन्छ । यसैकारण पनि म्यानमारको राखिनेमा बस्दा रोहिंग्याहरूले विवाह, बालबालिकाको जन्मदेखि घर, फोन, सनग्लास, मोटरसाइकलजस्ता धेरै कुराहरूबाट वञ्चित हुनुपरेको थियो ।
उनीहरूले उपयोग गर्ने कुनै पनि वस्तुले धन वा उच्च जीवनस्तरको संकेत गराएमा तिनीहरूलाई पक्राउ गरि जरिवाना तिर्न लगाइने र पिटेर यातना दिने गरिएको उनीहरूको भनाइ छ । औपचारिक कानुनमा प्यान्ट लगाउनमाथि कुनै प्रतिबन्ध नलगाइएको भए पनि गाउँगाउँमा तैनाथ सुरक्षाकर्मी र सरकारी अधिकारीहरूले उनीहरूलाई प्यान्ट नलगाउन धम्की दिने गरेको र लगाएको फेला पारेमा आतंककारी घोषित गर्ने गरेको उनीहरू बताउँछन् ।
विशेषगरी राखिनेको ग्रामिण क्षेत्रमा यो नियम कडाइपूर्वक लागू हुने गरेको उनीहरूले बताए । एक व्यक्तिका अनुसार उनी घरभित्रै लुकेर पाइन्ट लगाउँथे तर, त्यो पहिरनमा उनले बाहिर हिँड्ने हिम्मत कहिल्यै गरेनन् । र त्यस्तै अर्का व्यक्तिका अनुसार २०१६ मा उनले यो नियम पालन नगर्दा ३५ डलर जरिवाना तिर्नुपरेको थियो । यस विषयमा १५ वर्षीय साइद अल अमिन भन्छन् , ‘त्यो पनि हामीलाई अरूभन्दा फरक र असमान देखाउने तरिका थियो ।’
मुसनमानहरू अन्य जातिभन्दा तल्लो स्तरको भन्ने जनाउन यस्तो गरिएको उनको भनाइ छ । अहिले भने यो समूहमा कतिपय म्यानमार नै फर्कने तयारी गरिरहेका छन् भने कतिचाहिँ बंगलादेशमै बस्न चाहेको बताइरहेका छन् । अजिजले भने बंगलादेशको संस्कृति र परम्परा सिकेर उनीहरू जसरी नै बाँच्न चाहेको बताए । त्यसैले यस्तो परिस्थितिमा पाइन्ट लगाउन पाउनु उनीहरूका लागि निकै गर्वको कुरा भएको उनीहरू बताउँछन् ।
यसै सम्बन्धी ७३ वर्षीय सोएब अलोमलाई रोहिग्या पुरुषहरूले लुंगी छाडेर पाइन्ट लगाएको देख्दा कस्तो लाग्यो भन्ने प्रश्न गर्दा भावुक भएर आँसु झार्दै उनले भने, ‘मैले यहाँ सबै शिक्षित र सम्पन्न बंगलादेशीहरूले प्यान्ट लगाएको देखेँ, त्यसैले रोहिंग्याहरूले पनि त्यही लगाएको हेर्दा म अत्यन्तै खुसी छु । म पनि कुनै दिन यो लगाउन चाहन्छु ।’
प्रतिक्रिया