ललितपुर । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानको बीउमा विभिन्न समस्या आएका कारण किसान हैरान भएका छन् ।
छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ ।
एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्को वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन् । एक वर्ष पर्याप्त उत्पादन दिने धानको जातले अर्को वर्ष नदिन सक्ने महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् ।
‘अरू मुलुकबाट आयातित धानको बीउ यहाँका लागि सुहाउँदो नहुन सक्छ,’ उनले भने, ‘समस्या आउन नदिन किसानले राम्रोसँग बुझेर मात्रै धानको बीउ खरिद गर्नुपर्छ ।’
नार्क अन्तर्गतको धान अनुसन्धान कार्यक्रम, हर्दिनाथ र महाशाखाले धानका विभिन्न जातको अनुसन्धान गरेर पर्याप्त उत्पादन लिन सकिने बीउ सिफारिश गरिरेहको छ । हर्दिनाथले तराईका लागि एक\दुई वटा हाइब्रिड जात सिफारिश गरेको छ ।
उन्नत बीउभन्दा हाइब्रिड चार÷पाँच गुणासम्म महँगो पर्छ । पराजुली भन्छन्, ‘पर्याप्त उत्पादन लिनका लागि महँगो तिर्ने तर उत्पादन कम हुँदा किसान हैरान हुन्छन् ।’
हाइब्रिड जात वर्षेनी फेरिरहनुपर्ने हुँदा किसानले बुझेर मात्रै किन्नुपर्ने उनको सुझाव छ । केही वर्षयता उन्नत र हाइब्रिडको प्रयोग बढ्दा स्थानीय जात लोप हुँदै गएका छन् ।
प्रतिक्रिया