उत्तर कोरियाद्वारा ट्रम्प–किम वार्ता कार्यसूची तय

एजेन्सी । आफ्ना नेता किम जङ–अनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा ‘स्थायी शान्ति स्थापना संयन्त्र’ का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ ।

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन् ।

उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्रका विषयमा छलफल गर्ने उल्लेख गरेको छ ।

दुई पक्षबीच कोरियाली प्रायद्वीपमा ‘परमाणु अस्त्र निशस्त्रीकरण’ र ‘आपसी हित’ का विषयमा छलफल हुने भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘अब एउटा परिवर्तित युग सुरु भएको छ ।’

किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन् ।

अमेरिका चाहन्छः उत्तर कोरियाले आफ्ना परमाणु अस्त्र सदाका लागि त्यागि देओस् । तर, प्योङयाङ के चाहन्छ त्यो प्रस्ट भइसकेको छैन ।

दुवै नेता फरक होटलमा बसिरहेका छन् । तर, ती एक अर्काभन्दा धेरै टाढा भने छैनन् । किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन् ।

बीबीसीका उत्तर कोरिया सम्पादक भन्छन, ‘परम्परागत राजनीतिले यस्तो बैठक सम्भव भएको होइन । नेता किमसँगको यो बैठक लामो यात्राको सुरुवात हुन सक्छ ।’

शिखरवार्ताबाट के चाहन्छन् किम ?

यसबारेमा सोपेल लेख्छन्, ‘ट्रम्प भन्छन् उनी कसैसँग मिल्न सक्छन् वा सक्दैनन् भनेर थाहा पाउन उनलाई पाँच सेकेण्ड लाग्ने गर्दछ । अब किम र ट्रम्पबीच कुराकानी अघि बढोस् भनेर आस मात्र गर्न सकिन्छ ।’

प्रतिक्रिया