किम–ट्रम्प शिखरवार्तामा डेढ करोड डलर खर्च

एजेन्सी । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन् । उक्त रमकको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ ।

सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन् । साथै उक्त शिखरवार्तामार्फत् आफ्नो देशको राम्रो प्रचार हुने पनि उनले बताएका छन् । उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको उक्त प्रतिक्रिया आएको हो ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहु–प्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन् । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो पहिलो हो ।

परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने आशा वासिङ्टनले गरिरहेको छ ।

सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उनकै शब्दमा दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाएका छन् ।

प्रतिक्रिया