जनतासँगकाे वाचा पूरा गरेरै छाड्छु: उपमेयर सत्याल


के गर्दै हुनुहुन्छ ?
यतिवेला महानगरमा योजना तर्जुमा गर्ने वेला छ । भावी योजना तर्जुमाको तयारीमा लागेका छौँ भनौँ हामी धमाधम योजना तर्जुमाको काममा व्यस्त नै छौँ । वास्तवमा भन्नुपर्दा ललितपुर महानगरपालिकावासीको आशा र भरोशाको निम्ति काम गर्दै आएका छौँ । हामी यस महानगरलाई एउटा नमुना महानगर बनाउने योजनामा छाैँ ।

त्यसैले पनि जनताको पक्षमा काम गर्नुपर्छ भन्ने हो । महानगरमा म एउटा छुट्टै धारणा बनाएर अघि बढिरहेकी छु । ‘अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने’ भन्ने धारणा अनुरूप काम गर्दै आएको छु, त्यसकारण व्यस्त नै छु भन्नुपर्छ ।

उपमेयर बन्नुभएको पनि १४ महिना बितिसकेको छ । कसरी समीक्षा गर्नुहुन्छ ?
यस अवधिमा हामीले जति गर्नुपर्ने कामहरू थियो । वास्तवमा त्यति कामहरू हुन सकिरहेको अवस्था छैन । त्यसैले पनि हामी यी कार्यहरूलाई तदारुकताका साथ अगाडि बढाउँदै आएका छौँ । जुन हामीले सोचेका थियौँ त्यो कुरा त हुन नसकिरहेको अवस्थामा बाँकी रहेकोे समय अवधिमा चाहिँ पूरा गर्ने प्रतिबद्धताका साथ लागिरहेका छौँ । इच्छाशक्ति हुनुपर्छ, निरन्तर लागिपरेको खण्डमा पूरा गर्न सकिन्छ ।

सोचे अनुरूप काम भएको छैन भन्नुभयो के के काम पूरा भए र के चाहिँ पूरा हुन सकेनन् त ?
वास्तवमा भन्नुपर्छ के काम भयो के काम भएन भन्दा पनि कामहरू त धेरै भएका छन् जति हामीले सोचेका थियाैँ त्यति मात्र हुन नसकेको हो । हामीले निर्वाचित भएर आएको तीन महिनामै केही कायापलट गर्न सकिन्छ कि भन्ने सोचका साथ पदबहाली गरेका थियौँ ।

तर, त्यो पदबहाली सँगसँगै यहाँ आएर काम गर्दै गर्दा ती कार्यहरू चाहिँ पूरा हुन नसिकरहेको अवस्था हो । जति सोचेका थियौँ त्यो हुन सकिरहेको छैन । त्यसकारण पनि मलाइचाँहि लाग्छ, मैले यो पदमा बसेर सोचेजस्तो मात्र नभएको हो हुँदै नभएको भने होइन । पूर्ण लक्ष्य प्राप्ति मात्र हुन नसकेको हो । हुनतः हामीले धेरै कार्यहरू गरिसकेका छौँ ।

उपमेयरको कार्यभार सम्हाल्नुअघिको समय र हालको समयलाई कतिको फरक पाउनुभएको छ ?
त्यो त बिल्कुलै फरक छ । किनभने हिजो म आफ्नो स्वतन्त्र जीवनयापन गरिरहेको थिएँ भने अब अहिले त हामी पब्लिक फिगरमा देखिएका छौँ । परिवारको मात्र आवश्यकता हेर्दै आएका थियौँ भने हाल महानगरको नै नेतृत्व गरिरहेका छौँ । साँच्चै भन्नुपर्दा ललितपुर महानगरको अभिभावक बनेर काम गरिरहेका छौँ । यस्ता हरेक कारणले फरक छ । यो त्यो भन्दा पनि आफूले सरसर्ती हेर्दा पनि देखिने कुरा हो । हरेक कुरा फरक छ ।

ललितपुर महानगरपालिका कला र संस्कृतिले सम्पन्न भएको महानगर हो यसको संरक्षण र प्रवद्र्धनका लागि महानगरपालिकाले कस्तो कदम चालेको छ ? र, आगामि दिनमा कसरी अगाडि बढ्नुहुन्छ ?
हो ललितपुर महानगरपालिका ललितकलाको भण्डार नै हो । नामैले यसलाई प्रस्ट पार्छ कि ललितपुर भन्ने बित्तिकै ललितकलाको भण्डार छ । यहाँ पारदर्शी र अपारदर्शी धेरै स्मारकहरू रहेका छन् त्यस्तो स्मारकहरूलाई संरक्षण संवद्र्धन प्रवद्र्धन गर्ने हाम्रो अहं भूमिका रहेको छ । र, ती कला संस्कृतिलाई संरक्षण संवद्र्धन गर्नका लागि भूकम्पबाट भत्किएका भवनहरूको पुनर्निर्माण गरिरहेका छाैँ ।

त्यस्तै अन्य बाजागाजा, सांस्कृतिक मठ मन्दिर, देवल, बहाल जस्ता हाम्रा धेरै सम्पदाहरू छन् । यस्ता सम्पदाका पुनर्निमाण गर्ने र यसलाई कसरी निर्माण गर्दा पुरानै मौलिकपन देख्न पाइन्छ । सो अनुरूप नै काम गर्ने निर्णय गरेका छौ । जस्तो छ त्यस्तै बनाउने काममा लागिरहेका छौँ । लगभग लगभग हामीले ६० प्रतिशत पुननिर्मार्णको काम सकिसकेका छौँ ।
ललितपुर महानगरपालिकामा कति सम्पदाहरू भूकम्पबाट क्षतिग्रस्त भएका थिए ?
हाम्रो महानगरभित्र १९ वटा स्मारकहरू विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएका थिए । अब घरहरू त यहाँ थुप्रै भत्किए साँच्चै भन्नुपर्दा ललितपुर महानगरपालिकाभित्र हरिसिद्धि, बुग्मति, खोकना त ध्वस्त नै भएका थिए । ती ध्वस्त भएका संरचनाहरू मैले अघि पनि भने ६० प्रतिशत काम सकिसकेको छ । भने घरहरू चाहिँ बनिसकेको छैन ।

कारण के हो त भन्दा हरिसिद्धि, बुग्मति, खोकनामा चाहिँ स्व वासी धेरै भएकाको कारणले उहाँहरूको आफ्नो नाममा पूर्जा पनि छैन । त्यो पूर्जा नभएको कारणले पनि उहाँहरूलाई नक्सा बनाउनेदेखि यावत कुराहरूमा केही समस्या आइरहेको छ । त्यसलाई हामीले सहजीकरण पनि गरिरहेका छौँ ।

साथै अर्काे कुरा के हो त भन्दा ललितपुर महानगरपालिका विश्वसम्पदा सूचीमा रहेको हुनाले पनि जस्तो थियो त्यस्तै अबस्थामा निर्माण गर्नुपर्ने भएकाले पनि यसलाई धेरै प्रभाव परिरहेको छ अहिले । पहिलाकै संरचनामा ल्याउनुपर्ने भएकाले अलि कठिन त भई नै हाल्छ ।

तपाईं स्वयं न्यायिक समितिको अध्यक्ष हुनुहुन्छ । न्याय सम्पादनका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
हामीले पहिलो नगरसभाले नै न्यायिक समिति गठन गरिसकेका थियौँ । यस न्यायिक समितिमा विशेष गरेर साँध–सिमाना, कुलो, खोल्सा मिचिएका, मानाचामल भराई पाउँ र सम्बन्धविच्छेद जस्ता मुद्दाहरू आएका छन् । त्यसको अलावा जमिनमुनिको पानीलाई बिक्री वितरण गर्न पाउने कि नपाउनेजस्ता समस्याहरू पनि हामीमा आइपरेको छ ।

यस्ता समस्याहरूलाई समाधान गर्नका लागि हामीले न्यायिक समितिले धेरै यस्ता विषयलाई निरुपण पनि गरिसकेका छौँ ।हामीले धेरै विषयमा निरुपण पनि गरिसक्यौँ । ऐन कानुको अभाव गर्दा सुरुका सात महिनासम्म हामीलाई काम गर्न गाह्रो भने भएको थियो । हाल आएर यससम्बन्धीका कानुनको निर्माणसँगै भन्डै १२ देखि १५ वटा मुद्दाहरू किनारा लगाइसकेका छाैँ । आगामि दिनमा पनि यसलाई निरन्तरता दिनेछाैँ ।

कस्ता प्रकारका उजुरी बढी आएका छन् ?
विशेष गरी साँध–सिमाना र सम्बन्धबिच्छेदका मुद्दाहरू बढी आएका छन् । सम्बन्धविच्छेदको सम्बन्धमा महिलाले सिधै अदालत जनो व्यवस्था भए पनि पुरुषले स्थानीयतहबाटै जानुपर्ने हुन्छ ।

न्यायिक समितिमा बसेर काम गर्दै गर्दाको कुनै कठिन, अनौठो वा स्मरण गर्न लायक कुनै पल छ ?
खासै मलाई त्यस्तो कठिन भन्ने त लाागेको छैन । यहाँले एकदम सही प्रश्न राख्नुभयो । यस्ताखालका केस आएमा निरीक्षण तथा यथार्थ वस्तुस्थिति बुझ्नका लागि न्यायिक समितिका सदस्यहरू स्थलगत निरीक्षण गर्न जानुहुन्छ । उहाँहरूले दिएको रिपोर्टको आधारमा मुद्दाको किनारा लगाउने गरेका छौँ ।

साँचै भन्नुपर्दा मुद्दामा आउँदा कुनै वेला त पुलिससमेत राख्नुपर्ने अवस्था पनि आउँछ । के खालको सोच हुँदो रहेछ भने जनमानसमा हाम्रो जनप्रतिनिधि हो। अहिलेको अहिले नै मुद्दाको किनारा लगाइदिनुपर्छ नत्र भने जनप्रतिनिधिलाई स्थानीय तहमा त्यो मुद्दा दिएको अर्थ के हो त भन्ने खालका जनमानसको भावना हुन्छ ।

तर, मुद्दाजस्तो कुरा विनाप्रमाण टुंग्याउने कुरा होइन । हरेक प्रमाणहरू जुटाएर त्यो प्रमाणको आधारलाई केलाएर मात्र हामीले सत्यतथ्य उजागर गर्नुपर्ने हुन्छ । यसरी सत्यतथ्य बुझ्दा, प्रमाण जुटाउँदा केही समय लाग्छ यसैलाई कतिले चाहिँ ढिलाइ भएको सोच्दै अब गर्दैन कि भन्ने पनि सोच भेटिन्छ ।

समग्रमा भन्नुपर्दा विकास निर्माणको कामलाई कतिको प्रथमिकतामा राख्नुभएको छ ?
ललितपुर महानगरपालिकाको पहिलो प्रथमिकता भनेको विकास निर्माण हो । ‘जब विकास हुन्छ तब महानगरपालिका समृद्ध हुन्छ’ भन्ने मूल नाराका साथ हामी अगाडि बढी नै रहेका छाैँ । जसले गर्दा पनि हामीले विकास निर्माणको कार्यका ढल, बाटो, खानेपानीजस्ता कुराहरूलाई प्रमुख प्राथमिकता दिएका छौँ ।

विशेष गरी महानगरका वडा १३, १४, १४, १५, २३, २४, २६ र २७ मा खानीपानीको पाइपलाई वृद्धि गरेर खानेपानीको व्यवस्थालाई सञ्चालन गरिरहेका छौँ । गोदावरी नगरपालिकामा महानगरपालिका र केयुकेएलसँगको संयुक्त सम्झौतामा हामीले पानीको स्रोत नै बढाउने तर्फ लागिरहेका छौँ । खानेपानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर हामी अगाडि बढिरहेका छौँ । त्यस्तै, सडक निर्माणका कार्यलाई पनि प्राथमिकतामा राखी हामीले अगाडि बढाइरहेका छौँ ।

दिनभरकोे त कुरै छौडौँ एक घण्टा मात्र पानी पर्यो भने सडकमै स्विमिङ पुल बन्छ यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
ललितपुर महानगरपालिकामा त्यस्तो अवस्था नै चाहीँ छैन । देख्नसक्नुहुन्छ सडक कालोपत्रे गर्दा ४० एमएमको भन्दाबाहेक गर्न पाइँदैन । कम्तिमा एकचोटी गरेको पिचले १० देखि १५ वर्षका लागि थेग्ने खालको होस् भन्नका लागि काम गरिरहेका छौँ । आज गरेको पिच भोलि नै उक्कने खालको नहोस् भनेर नै दिगो विकासको लक्ष अनुरूप काम गरिहेका छौँ ।

यस विषयमा मेयर साब र म आफैँ पनि न तदारुकताका साथ लागिपरेका छौँ । गरेका कामहरू कतिको प्रभावकारी छ भन्ने मूल्यांकन गर्न समिति गठन गरी अनुसन्धान गरिहेका छौँ । जनताको कर सरकारको रकम एउटै काममा दोहोरो खर्च नहोस् दुरुपयोग नहोस् भन्ने उद्देश्यका साथ लागिपरेका छाैँ ।

पाँच वर्ष कार्यभार सम्हाल्न आउँदा महानगरलाई कस्तो बनाउँछु भन्ने उद्देश्यका साथ आउनुभएको थियो ? आफ्नो कार्यकाल सकिँदा ललितपुरलाई कस्तो बनाएर जानुहुन्छ ?
हिजो यो कुर्सीमा बस्दा जे सोचेर आएको थिएँ र भोलि जाँदा पनि त्यति काम पूरा गरेरै जान्छु । ललितपुरलाई हरियाली सहर बनाउने, फोहोरमैलालाई व्यवस्थापन गर्छु भनेर बोलेको थिएँ, त्यसका लागि लागिरहेको छु जुनसुकै तरिकाले भए पनि फोहोरमैलालाई व्यवस्थापन गरेरै जान्छु । यो मेरो धेय भयो र तेस्रो कुरा के छ भने महिला स्वयंसेविकाहरूको बारेमा पनि मैले बोलेको थिए ।

महिला स्वयंसेविकाहरूलाई सेवा सुविधाहरू पनि केही थप गर्न सकिन्छ कि ? उनीहरूले समाजसेवाको भावनामा ओतप्रोत भएर काम गरिरहेका छन् । कसरी व्यवस्थापन गर्ने कुरा मैले सोचेको थिएँ । त्यो पनि व्यवस्थापन गरेरै जान्छु । र, अन्य ढल, खानेपानी र बाटोका विषयलाई पनि अगाडि बढाएर जान्छु । जति बोलेको थिएँ त्यति गरेरै छाड्छु यो मेरौ प्रतिबद्धता भयो । निरन्तर लागिपरेको खण्डमा गर्न सकिन्छ । र, गर्छु पनि ।

प्रतिक्रिया