बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा सुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।
शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १ सय ८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए । एकीकृत घुम्ती शिविरमा दोगडाकेदार गाउँपालिका–३ का ८० वर्षीय देउडीदेवी नाथले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
यस्तै स्वास्थ्य शिविरमा ९ सय ९४ जनाले सेवा लिएका छन् । सामाजिक विकास तथा सचेतना समाज स्वदेशको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक र प्रदेश सातको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाककान घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा आएकामध्ये १ सय ९१ जना महिलाको पाठेघर खसेको पाइएको र १७ जनाको शल्यक्रिया गर्नुपर्ने बैतडीका प्रशासकीय अधिकृत राधिका भट्टले जानकारी दिइन् ।
पाठेघर खसेका महिलामध्ये शल्यक्रिया गर्नुपर्ने महिलाको निःशुल्करुपमा नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया गरिने उनले बताइन्। शिविरमा ३ सय २१ जनाको नाक, कान, घाँटीको उपचार, २ सय २६ जनाको समान्य स्वास्थ्य परीक्षण, १ सय ३८ जनालाई दन्तसेवा प्रदान गरिएको थियो ।
प्रतिक्रिया