‘टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन‘ -पाण्डे (केन्द्रीय सदस्य, कांग्रेस)

०७० सालको आमनिर्वाचनमा २९ प्रतिशत मतदाताले हामीलाई भोट दिएका थिए । यसपटक लगभग ३४ प्रतिशत जनताले हामीलाई भोट दिएका छन् । विगतमा भन्दा पाँच प्रतिशत मत त हाम्रो बढेकै छ नि । कांग्रेसमाथि चुनौती भने थपिएको छ । आगामी दिनमा अझ ती दुई ठूला दल एक हुँदै छन् ।

उनीहरू एक भएपछि हामीलाई झन् चुनौतीपूर्ण हुनेछ । अब चुनाव जित्नका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । त्यसका लागि हामीले हामी आफैँलाई पनि करेक्सन गर्न जरुरी छ । हाम्रो आन्तरिक संगठन बलियो बनाउने, बिगतमा भएका कमीकमजोरीलाई हटाएर अघि बढ्ने, आफूलाई सुदृढ, प्रभावकारी र बलियो बनाउने गरी संगठनका संरचना बनाउने लगायतका कुरामा पनि ध्यान दिनुपर्छ ।

बद्री पाण्डे नेपाली कांग्रेसका प्रखर युवा नेता हुन् । मुलुककै दुर्गममध्येको जाजरकोटमा जन्मेका पाण्डे कुशलवक्ता मात्रै होइनन् सिद्धहस्त लेखक पनि हुन् ।  नेविसंघको राजनीतिमा माथिल्लो तहमा पुगेका पाण्डे दुई कार्यकाल नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य र एक कार्यकाल संविधानसभा सदस्यको बने ।

आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पाण्डे अहिले राष्ट्रिय सभा सांसद् छन् । पछिल्लो समय नेपाली कांग्रेसभित्र आफूलाई अब्बल सावित गर्दै अघि बढिरहेका पाण्डे स्पष्ट विचार राख्ने नेतामध्ये पर्छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था, कांग्रेसभित्रको आपसी विवाद र आगामी रणनीतिको विषयमा सौर्यकर्मीले पाण्डेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीका सम्पादित अंश ।

ओली सरकार र यसले अघि बढाएको कामलाई कसरी हेरिरहनुभएको छ ?
बहुमत प्राप्त गर्नेले सरकार सञ्चालन गर्ने र अल्पमतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने परिपाटी नै बहुदलीय लोकतन्त्र हो । नेपाली कांग्रेस बहुदलीय लोकतन्त्र स्थापनाका लागि सबैभन्दा लामो संघर्ष गरेको पार्टी हो । बहुदलीय लोकतन्त्रको संस्थागत विकासका लागि सरकारको प्रतिवद्धतालाई हामीले चासोका साथ हेरेका छौँ ।

दलीय व्यवस्थामा कुनै पनि दल सत्तामा र बाहिर पनि बस्न तयार हुनुपर्छ भन्ने कुराको उदाहरणका रूपमा पनि मैले यसलाई लिएको छु । सरकारको भूमिकामा लोकतान्त्रिक दलहरू रहेन भने पनि निकै उत्साहका साथ प्रतिपक्षको भूमिकामा पनि रहनुपर्छ भन्ने उदाहरणका रूपमा समेत यो अवस्थालाई लिनुपर्छ भन्ने मेरो मान्यता छ ।

अहिले हामी प्रमुख प्रतिपक्षी दलका रूपमा छौँ । मेरो विचारमा हामीले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्नुपर्छ । मुख्य गरेर दुई ओटा कुरामा प्रतिपक्षले खबरदारी गर्न आवश्यक हुन्छ । पहिलो भनेको सत्ता पक्षलाई गलत बाटोमा जानबाट रोकिरहने अर्थात् त्यसका लागि निरन्तर दबाब सिर्जना गरिरहने अनि दोस्रोचाहिँ प्रतिपक्षमा रहेर सकारात्मक विधिको विकास गर्ने ।

जसले गर्दा आगामी दिनमा हामी सत्तामा पुग्दा पनि प्रतिपक्षलाई त्यहि भूमिकामा बस्न बाध्य बनाउन सक्छौँ । अहिले हामीले सकारात्मक र रचनात्मक प्रतिपक्षको भूमिका खेल्यौँ भने त्यो पछिका प्रतिपक्षीलाई पनि सकारात्मक भूमिका खेल्नका लागि नजीर बस्छ ।

प्रतिपक्षमा तपाईंहरूको भूमिका कस्तो हुन्छ ?
प्रतिपक्षमा जाने बित्तिकै उत्ताउलो बन्नुपर्छ भन्ने होइन । प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने कांग्रेसको पहिलादेखिकै मान्यता हो । विगतमा पनि धेरैपटक नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । प्रतिपक्षको भूमिकामा नेपाली कांग्रेस कहिल्यै पनि उत्ताउलो ढंगले प्रस्तुत भएको छैन । म त भन्छु, अझ प्रतिपक्षमा बसेपछि उच्च महत्वकांक्षाका साथ रचनात्मक भूमिकासहित काम गर्नुपर्छ । हाम्रो पार्टी नेपाली कांग्रेस त्यही भूमिकामा अघि बढ्छ भन्नेमा म विश्वस्त छु ।

कांग्रेस आफैँ चुनावी हारको जिम्मा त लिन सक्ने अवस्थामा छैन, सकारात्मक प्रतिपक्षको भूमिका कसरी संभव होला ?
हामीले सबै पक्षमाथि छलफल गरेका छौँ । हालै सम्पन्न लामो केन्द्रीय समितिको लामो बैठकमा हामीले निकै छलफल र बहस गर्यौँ । हामीले यसो भन्दै गर्दा केही कुराहरूमा ध्यान दिन पनि जरुरी छ । पहिलो भनेको हामीले आन्तरिक सुदृढीकरणमा ध्यान दिन जरुरी छ ।

जनताले पनि हामीलाई तिमीहरू आन्तरिक संगठन निर्माणमा कमजोर भयौँ है भनेर यो निर्वाचनमा झकझक्याउनुभएको छ । हामीले अत्यन्तै गम्भीर भएर यसमा लाग्न आवश्यक छ । योसँगै हामीले अर्को कुरा पनि भुल्नु हुँदैन । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक ठाउँमा बसेर चुनाव लडेका थिए । त्यस्तो अवस्थामा हामी कमजोर बन्नु स्वाभाविक हो ।

त्यसैले अब हामीले मुख्य गरेर दुई ओटा कुरामा ध्यान दिन जरुरी छ । मैले माथि पनि उल्लेख गरेँ । तालमेल गरेका दुई ठूला कम्युनिस्ट पार्टीसँग हामी एक्लै निर्वाचन लडेका थियौँ । यस्तो बेलामा प्रत्यक्षतर्फको परिणाममा हामी कमजोर बन्नु अस्वाभाविक होइन । तर, समानुपातिक तर्फको मत हेर्ने हो भने विगतको निर्वाचनको तुलनामा हामीले जनताको ठूलो साथ पाएका छौँ ।

०७० सालको आमनिर्वाचनमा २९ प्रतिशत मतदाताले हामीलाई भोट दिएका थिए । यसपटक लगभग ३४ प्रतिशत जनताले हामीलाई भोट दिएका छन् । विगतमा भन्दा पाँच प्रतिशत मत त हाम्रो बढेकै छ नि । तर चुनौती भने थपिएको छ । आगामी दिनमा अझ ती दुई ठूला दल एक हुँदै छन् । उनीहरू एक भएपछि हामीलाई झन् चुनौतीपूर्ण हुनेछ । अब चुनाव जित्नका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । त्यसका लागि हामीले हामी आफैँलाई पनि करेक्सन गर्न जरुरी छ ।

हाम्रो आन्तरिक संगठन बलियो बनाउने, विगतमा भएका कमीकमजोरीलाई हटाएर अघि बढ्ने, आफूलाई सुदृढ, प्रभावकारी र बलियो बनाउने गरी संगठनका संरचना बनाउने लगायतका कुरामा पनि ध्यान दिनुपर्छ । आगामी दिनमा पार्टीले अझ शक्ति आर्जन गरेर नजाने हो भने हामीलाई आगामी दिन अझ चुनौतीपूर्ण हुने निश्चित छ । अहिले केन्द्रीय तहदेखि क्षेत्रीय र तल्लो तहसम्म कार्यकर्तामा छटपटी छ ।

यसलाई पनि समाधान गरेर अघि बढ्नुपर्ने चुनौती कांग्रेसलाई छ । यो कामसँगै निष्ठावान कार्यकर्ताको मूल्यांकन गरेर संगठन सुदृढीकरण गरी हामी अघि बढ्नु नै अहिलेको सबैभन्दा उत्तम विकल्प हो । बैठकमा पनि हामीले यो विषयमा निकै मिहीन ढंगले छलफल र बहस गरेका छौँ । त्यो बहस र छलफलले पार्टीलाई सुधार गर्नका लागि भित्रैबाट एक खालको चेतना पैदा भएको महसुस पनि हामीले गरेका छौँ ।

अब कांग्रेस सच्चिएर आउला त ?
म तपाईंलाई विश्वास दिलाउन चाहन्छु । हामी मूल राजनीतिमा कतै पनि चुकेका छैनौँ । कांग्रेस दोस्रो पार्टी हुँदा पहिलो संविधानसभा असफल भयो । कांग्रेस पहिलो पार्टी बनेकै कारण दोस्रो संविधानसभा सफल भयो । संविधान निर्माण मात्रै होइन अहिलेसम्म मुलुकमा जे जति अग्रगामी परिवर्तन भएको छ सबैमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ । नेपाली कांग्रेसको नेतृत्वविना मुलुकमा अहिलेसम्म एउटा पनि क्रान्ति तथा आन्दोलन एवं अग्रगामी परिवर्तनको प्रयास सफल भएको छैन ।

यो सफलताको श्रेय जनता दिन चाहन्थे तर हाम्रो प्रचार संयन्त्र फितलो भयो । पछिल्लो समय हाम्रा सभापतिको नेतृत्वमा सरकार गठन हुँदा प्रदेश–२ मा आन्दोलनको आगो बलिरहेको थियो । त्यहाँ शक्तिशाली दलहरू आन्दोलनमा थिए । ती सबै दललाई पनि समेटेर स्थानीय तहको निर्वाचन हुँदै प्रदेश र संघीय निर्वाचनमा उत्साहपूर्वक सहभागी हुने वातावरण कांग्रेसले नै गरेको थियो ।

हामीले त्यो तथ्यलाई पनि भुल्नु हुँदैन । संविधान पनि नेपाली कांग्रेस नेतृत्वको सरकार रहेकै बेला जारी भएको हो । संविधान जारी हुँदै गर्दा यो संक्रमणकाल कति समयसम्म गुज्रिने हो भन्ने धेरैले आशंका गरेका थिए । तर, ती सबै आशंकालाई चिर्दै कांग्रेसकै अगुवाइमा अहिले देश संविधान पूर्ण कार्यान्वयनको चरणमा अघि बढेको छ । कांग्रेसको अगुवाई कै कारण प्रदेश निर्वाचन, संघीय निर्वाचन, स्थानीय निर्वाचन सम्पन्न भएसँगै देश अहिले स्थीरताको दिशामा अघि आधार खडा गरेका छौँ ।

यसकारण पनि हामी राजनीतिक कारणले सफल भएका छौँ । हामीले कमजोर भयौँ भनेर दिल खुम्च्याउनुपर्ने केही कारण छैन । हामीले गौरव गर्ने नै भूमिका खेलेका छौँ । यति भन्दै गर्दा हामी गणितीय हिसाबमा भने केही पछि परेका छौँ । त्यसैले यसलाई सुधार गर्नका लागि हामीले हाम्रो कार्यशैली सुधार गर्नु जरुरी छ ।

हामीले संघ र प्रदेशको निर्वाचमा पनि धेरै कुराको ख्याल गरेको भए वाम गठबन्धनको बाबजुद पनि नतिजा यो भन्दा राम्रो आउन सक्ने थियो होला भन्ने अनुमान गर्न सक्छौँ । म अहिले पनि ढुक्कका साथ भन्न सक्छु, हामीले कांग्रेसलाई केही करेक्सन गरेर अघि बढ्ने हो भने आगामी पाँच वर्षपछिको निर्वाचनमा निकै राम्रो पोजिसनमा लैजान सक्छौँ ।

सरकारले बजेटको तयारी थालेको छ । बजेटमा तपाईंहरूको सहयोग कस्तो हुन्छ ?
वाध्यात्मक व्यवस्थाअनुसार पनि १५ जेठमा बजेट ल्याउनुपर्ने हुन्छ । जहाँसम्म बजेट ल्याउन नदिने, अवरुद्ध गर्ने भन्ने प्रश्न छ । संसद्भित्र गरिने बहस, छलफललाई नै नकरात्मक रूपमा हेर्नु हँुदैन भन्ने मेरो मान्यता छ । सामान्य वादविवादलाई समेत हामीले लोकतन्त्रको सुन्दर पक्ष मान्नुपर्छ । हामीले अहिले मात्र होइन, विगतमा पनि भन्दै आएका छौँ ।

देशको हित हुने, जनताको पक्षमा बजेट आयो, सरकार जनताको पक्षमा इमानदार भयो भने हामीले स्वागत नै गर्ने हो । सहयोग नै गर्ने हो । तर, एकलौटी ढंगले चल्न खोज्यो भने हामीले टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन । हामी त्यो अवस्थामा रचनात्मक प्रतिपक्षीको भूमिका खेल्छौँ ।

रचनात्मक भनेको के नि ?
सरकारलाई जनताको पक्षमा काम गर्नकै लागि हामीले सम्झाउने र दबाब दिने हो । सरकारले राम्रो गर्दासम्म कांग्रेसले साथ नै दिने हो । नराम्रो काम भए गलत भयो, यसलाई सच्याउनु पर्छ भनेर आफ्नो पोजिसन क्लियर गर्ने नै हो ।

प्रतिक्रिया