औद्योगिक ग्राम अति आवश्यक

घरेलु तथा साना उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले साना व्यावसायीहरूको प्रवद्र्धन तथा नेपाली वस्तुको व्यापार बढाउनुपर्छ भन्दै १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न गरेको छ । 

डम्बरप्रसाद रेग्मी, महासचिव नेपाल घरेलु तथा साना उद्योग महासंघ

१४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला
नेपालजस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको वेला यस्ता उद्योगहरू आउने पुस्तामा हस्तान्तरण गर्नु अति आवश्यक रहेको छ ।

यसै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडिदेखि नै नियमित रूपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आइरहेको छ ।

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ भन्ने मुख्य नारा राखिएको ‘१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५’ आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले आयोजना गरेका हौँ ।

उक्त १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक उपलब्धिमूलक सम्पन्न गरेका छौँ । यस मेलामा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपियाँको कारोबार भएको छ । मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । घरेलु उद्यमको विकास तथा स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्यमीहरूलाई प्रोत्साहन गर्न निकै मद्दत पुगेको महासंघको निष्कर्ष छ ।

गत शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा चलेको ५ दिने मेलाको समापन समारोहमा उत्कृष्ट बाजुराको हिमालयन अल्लो, झापाको रानीदेमा अग्र्यानिक प्लेट उद्योग, भक्तपुरको हेल्पिङ हेन्ड फेल्ट क्राफ्ट, बुटवलको लाङ्घाली अचार प्रोडक्सन एन्ड सप्लायर्स, ललितपुरको सविता कपडा उद्योग र लाहानको महिला हस्तकला उद्योगलाई उत्कृष्ट उद्यमी तथा उद्योगी सम्मानद्वारा सम्मानित गरिएको छ ।

त्यस्तै, तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गरिएको प्रदर्शनीले मुलुकको औद्योगीकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी, बिटुजी जस्ता अन्तक्र्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहेका थिए ।

नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा दुई सय ५० वटा स्टलको व्यवस्था रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजित मेलाको सह–आयोजकको रूपमा नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका थिए ।

स्वाधिन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्न देशमा लहर चलिरहेको वेला घरेलु तथा साना उद्योगले प्राथमिकता पाउनुपर्ने आवश्यकता छ । मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गर्न प्रदर्शनीले मुलुकको औद्योगीकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबै खाले उद्योगको उत्पादनलाई मेलामा समावेश गरिएको थियो ।

मेलामा सबैभन्दा बढी मात्रामा, अचार, कपडा, मौलिक परमपरागत सामग्री, हेन्डिक्राफ्ट तथा अल्लोका सामानहरू बढी मात्रामा बिक्रि भएका छन् । मेलामा तीसदेखि ५० ओटासम्म अन्य मुलुकका रहेका भए पनि नेपाली सामानहरू नै बढी बिक्रि भए ।

घरेलु तथा साना उद्योगहरूको अवस्था
उद्योग नीति ०६७ तथा हाल जारी भएको ऐनअनुसार भन्ने हो भने ५० हजारदेखि ५ लाखसम्मको पुँजी लगानी भएका उद्योगहरू लघु उद्यम अन्तर्गत पर्दछन्, भने ५ लाखदेखि १० करोडसम्म लगानी भएका उद्योग साना उद्योगमा पर्दछन् । ०७१÷७२ को सरकारी तथ्यांकअनुसार करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग स्थापना भएका थिए । पछि नवीकरण गर्ने वेलामा दुई लाखको हाराहारीमा नवीकरण गरिएका र सञ्चालना अझै कम रहेका थिए । हाल भने केही थप भएको हुन सक्छ ।

महांसघमा आबद्ध भएका उद्योगहरू हेर्ने हो भने औषतमा दुई हजारदेखि पाँच हजारसम्म उद्योग रहेका छन् । समग्रमा भन्नुपर्दा करिब करिब ४० हजार उद्यमी नेपाल घरेलु तथा साना उद्योग महासंघमा आबद्ध छन् । त्यस्तै, महासंघ अन्तर्गतकै केन्द्रीय महिला उद्यमी संघमा देशभरिबाट १५ हजार भन्दा बढी महिला उद्यमी आबद्ध रहेका छन् ।

हाल नेपालमा सञ्चालित घरेलु तथा साना उद्योगहरू गाउँ गाउँमा पहाडमा तथा दुर्गम क्षेत्रमा छरिएर रहेका छन् । सानो सानो रकमबाट महिलाहरूले सञ्चालन गरेका यस्ता उद्योगबाट उत्पादित वस्तुले बजार पाइरहेका छैनन् । लाखौँको संख्यामा उद्योग रहे पनि दर्ता गरेर कानुनी रूपमा आउन सकेका छैनन् । नेपालका घरेलु उद्योगका उत्पादनले विदेशबाट आयात गरिएका वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

घरेलु तथा साना उद्योग प्रवद्र्धनमा महासंघको भूमिका
महासंघले घरेलु तथा साना उद्योग प्रवद्र्धनको लागि अहिलेसम्म १४ ओटा प्रदर्शनी आयोजना गरिसकेको छ । यस्ता प्रदर्शनीमा देशभरिका उत्पादनले चिनिने अवसर पाउछन्, भने व्यापार पनि हुन्छ । बजार विस्तारमा महासंघले सक्दो सहयोग गरिरहेको छ । साना तथा घरेलु उद्योगीको हक हितका लागि बहस गर्ने काम पनि महासंघले गरिरहेको छ । जस्तैः उद्योग ऐन तथा नीति नियम निर्माणमा महासंघको ठूलो भूमिका रहेको छ ।

त्यस्तै, सरकारले विभिन्न प्रकारका कोषहरू सञ्चालन गरेको छ । जस्तैः राष्ट्रपति महिला उत्थान कोष, महिला उद्यमशीलता विकास कोष, लघु घरेलु तथा साना विकास कोषहरू स्थापनाका महासंघले धेरै लविङ तथा पहल गरेको थियो । घरेलु तथा साना उद्यमीहरूको प्रवद्र्धन गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो ।

घरेलु तथा साना उद्योगका समस्या तथा चुनौतीहरू
घरेलु तथा साना उद्योगको संख्या दूर दराजमा बढी छ । दूरदराजमा सञ्चालित उद्योगहरूलाई एकीकृत गर्न सकिएको छैन । दूर दराजमा उत्पादन गरिएका वस्तुहरूको बजार छैन कतिपय ठाउँमा उद्योग सञ्चालन गरे पनि विकासका भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको छ । सुरक्षाको चुनौती पनि छ ।

त्यसैगरी, ५ लाखसम्म लगानी गरेर महिलाहरूले उद्योग सञ्चालन गर्नुपरेमा स्थानीय वडा कार्यालयमा दर्ता गरे पुग्छ भनेर उद्योग नीतिमा लेखिए पनि व्यहारमा लागू भएको छैन । उल्टै वडा कार्यालयले घरभाडा भन्दै एकमुष्ट रकम लिने गर्छन् ।विभिन्न वाहानामा वडा स्तरवाट पैसा असुल्ने काम हुँदै आएको छ । त्यसैगरी, उद्यमीहरूको वित्तीय पहुँच छैन । प्रविधि को अभाव छ ।

काम गर्न सक्ने युवाहरू विदेश पलायन हुँदा जनशक्तिको अभाव छ । दक्ष जनशक्तिको अभाव छ । त्यस्तै, उद्योगहरू स्थापना गर्नु अगाडि विभिन्न सर्तहरू पालना गर्नुपर्ने हुन्छ । जस्तैः कच्चा पदार्थको स्रोत, जनशक्ति व्यवस्थापन इत्यादि यी सर्तहरूको बारेमा गाउँ–गाउँमा जानकारी दिन सरकारले कुनै पहल गरेको छैन । त्यस्तै, सरकारले कर छुट तथा आर्कषक योजना ल्याए पनि व्यवहारमा लागू भएका छैनन ।

सरकारसँग घरेलु तथा साना उद्योगीका अपेक्षाः
स्वदेशी कच्चा पदार्थबाट उत्पादित सामाग्रीहरूको प्रवद्र्धन तथा बजारीकरण गर्न सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता छ । नेपालभित्रै पाइने कच्चापदार्थबाट उत्पादित सामाग्रीहरूलाई प्रोत्साहन गर्न सरकारले विशेष योजना निर्माण गरी कार्यानवयन गर्नु पर्दछ ।

त्यस्तै, हाल विद्यमान ७ सय ५३ ओटा स्थानीय तहहरूमा घरेलु उद्योग ग्राम स्थापना गर्न सरकारले पहल गरिदिनुपर्छ । छरपष्ट रहेका उद्योगहरूलाई एकीकृत गर्नु आवश्यक छ । जसको लागि अबको ५ वर्षमा ७७ ओटै जिल्लामा एउटा एउटा घरेलु उद्योग ग्राम स्थापना गर्नुपर्दछ । नीति नियममा लेखिएका कुराहरू व्यवहारमा कार्यान्वयन गर्नुपर्दछ । उद्योगीहरूलाई समय समयमा प्रविधिसम्बन्धी तालिम दिनु आवश्यक छ ।

यी यावत कुराहरूमा सरकारले चाहेमा हामी महासंघको तर्फवाट सघाउन तयार छौँ । सरकारले भुकम्प पिडित उद्यमीलाई सहुलियतमा ऋण दिने व्यवस्था गरे पनि साना उद्यमीले उक्त सहयोग पाएका छैनन् । यसको व्यवस्था गर्नुपर्छ । त्यस्तै, साना उद्यमी तथा महिला उद्यमीलाई सहयोग गर्न ल्याइएका कार्यक्रमहरूमा बजेट घटाउने काम गर्नु हँुदैन ।

महासंघका भावी योजनाः
साना तथा घरेलु व्यावसायीहरूको हक हितको लागि तथा समस्यामा पर्दा आवश्यक सहयोग गर्न स्थापित संस्था भएकाले महासंघ उद्यागीको पक्षमा तथा उत्पादनको पक्षमा काम गर्छ । आगामी दिनमा महासंघको सदश्यतालाई वढाउने योजना छ ।

उद्यागीका समस्याहरूमा सांथ दिन हामी विस्तारमा छौं । नेपालि साना उद्योग प्रवद्र्धन गर्न विभिन्न योजना वनाएर सरकार संग कुराकानी गरिरहेका छौं । नेपाली उत्पादनको वजार विस्तारको लागि सक्दो पहल गरिरहेका छौं । अद्यौगीक ग्राम स्थापनामा पहल गर्दै छौं ।

अन्तमा
घरेलु तथा साना उद्यमीहरूलाई वजारमा प्रतिश्पष्र्धा गर्न सक्ने खालका सामाग्री उत्पादन गर्न आग्रह गर्दछु । गुण्स्तरीय वस्तु उत्पादन गर्न अनुरोध छ । व्यापार घाटा कम गर्न नेपालका घरेलु उत्पादनले महत्वपूर्ण योगदान गनुपर्दछ । यस्ता वस्तुको वजार विस्तारमा महासंघले सहयोग गर्ने छ ।  (केशव भट्टले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया