देउवाको ‘सेलेक्सन’ नै राम्रो भएन

एक महिना सात दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा युवा नेताहरूले नेतृत्वलाई निकै कसे । संघीय र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजय, नेपाली कांग्रेसको शुद्धीकरण लगायतका विषयमा गम्भीरतापुर्वक कुरा राखे । गहन छलफल भयो । बैठकमा कांग्रेसको हारको जिम्मा कसले लिने भन्नेमा पनि निकै चर्को बहस भयो । तर कसैले लिएन जिम्मेवारी । यो बैठकमा भएका छलफल, बहस र निष्कर्षको विषय अझै अन्योलमै छ । यसै विषयमा हामीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।

निक्कै लामो समयसम्म बस्यो केन्द्रीय कार्यसमितिको बैठक । बैठकमा भएको छलफलको विषयलाई कसरी लिनुभएको छ ?
नेपाली कांग्रेसको इतिहास, नेपाली कांग्रेसका नेताहरूले विगतमा गरेको योगदानको इतिहास, विभिन्न कालखण्डमा नेपालाई हिंसाबाट मुक्त गर्नका लागि कांग्रेसले खेलेको भूमिका, संविधान जारी र कार्यान्वयनका लागि खेलेको भूमिका यी सबैको मूल्यांकन नेपाली जनताले गर्न सकेनन् अर्थात् पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई निकै सानो आकारमा खुम्च्याइयो ।

अहिले पनि हामीले मनन गर्दा नेपाली कांग्रेस सिद्धान्त र विचारको हिसाबमा ठूलो छ । तर, व्यवहारमा त्यो देखिएन । जनताले पनि व्यवहारमा कांग्रेसलाई निकै सानो आकारमा चित्त बुझाउन बाध्य बनाए । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयले पनि प्राथमिकता पायो अर्थात छलफल भयो ।  कांग्रेस यसरी कमजोर बन्नुको जिम्मेवारी नेतृत्वले लिनुपर्छ भन्नेमा पनि छलफल भयो । सिद्धान्त छ, तर चुनावी परिणाम किन सकारात्मक आउन सकेन ?

यहि विषयलाई मध्यनजर गर्दै १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई ९ बुँदे प्रस्ताव राख्यौँ । अर्को कुरा हामी केही केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा गर्दै ५२ पृष्ठको प्रस्ताव राख्यौँ । ती लगभग सबै प्रस्ताव कार्यान्वयन भए । केही हामीलाई चित्त नबुझेका कुरा पनि छन् । हामी त्यो विषयमा पनि सकारात्मक र वैधानिक ढंगले छलफल गर्न नेतृत्वलाई सुझाव दिएका छौँ ।

नेपाली कांग्रेसको चुनावी हारको जिम्मा कसले लिने ?
मैले पहिला पनि भन्ने गरेको छु । एउटा नेता राम्रो भयो भने चीन बन्छ । तर, एउटा नेता खराब भयो भने अफगानिस्तान, पाकिस्तान बन्छ र नेपाल बन्छ । त्यसैले आफ्नो दोकानमा राखेको सामान राम्रो भयो भने ग्राहक पनि किन्न आउने हुन् । तर, सामान नै खराब भयो भने त्यहाँ कुनै पनि ग्राहक आउँदैनन् ।

मेरो आशय पनि यही हो । म ७५ वर्ष पुगेका नेतालाई अहिले गाली गर्ने पक्षमा छैन । यद्यपि, मेरो भनाइ के–छ भने नेतृत्व राम्रो भयो भने पार्टी, संगठन राम्रो हुने हो । नेतृत्व नै राम्रो भएन भने संगठन र पार्टी पनि राम्रो हुँदैन । नेतृत्वको यस्तो कुरामा ध्यान जानुपर्छ, अहिलेसम्म ध्यान जान सकेको छैन ।

नेतृत्व निरंकुश भयो भन्ने आरोप छ । सभापतिले एकलौटी रूपमा पदाधिकारी मनोनयनको तयारी गर्नुभएको छ भन्ने हल्ला पनि छ ।
नेतृत्वले एकलौटी चल्न खोज्यो भने समस्या हुन्छ । नेतृत्व विधानभित्र रहेर चल्नुपर्छ । विधान भन्दा नेतृत्व कहिल्यै माथि हुन सक्दैन । म अलिकति स्मरण गराउन चाहन्छु । हिजो सुशील कोइराला पार्टी सभापति हुँदा देउवाजीहरूले नै ९–१० महिना पार्टीलाई राम्ररी अघि बढ्न पनि नदिनु भएको इतिहास छ । उहाँहरूले निकै लामो सयमसम्म केन्द्रीय कमिटी बैठकसमेत बस्न दिनुभएन ।

त्यो अवरोध उहाँका मान्छेहरूलाई दिनुपर्ने मागको थियो । तर, उहाँले कहिल्यै पनि राम्रो मान्छे सेलेक्सन गर्न सक्नुभएन अर्थात् उहाँको सेलेक्सन नै राम्रो भएन । उहाँले सेलेक्सन गरेका व्यक्तिहरू कोही राजाको साथमा गए, कोही भ्रष्ट्राचारी भए । उहाँको सेलेक्सन नै गलत छ ।

नेतृत्वका विषयमा आलोलना पनि भयो । तर ठोस निर्णय केही भएन ?
उहाँलाई हामीले महाअभियोग लगाएर फाल्न सकेनौँ । तर, कम्तिमा पनि उहाँ अब केन्द्रीय कमिटीको औपचारिक बैठकपछि एउटा दायरामा आउनुभएको छ । उहाँले अब कतिपय कमजोरीलाई सच्याएर भविष्यमा नदोहोरिने गरी अघि बढ्नु नै सबै भन्दा श्रेयकर हुन्छ ।

निर्वाचनका क्रममा अन्र्तरघात गर्ने र अनुशासन उल्लघंन गर्नेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन होला ?
नेपाली कांग्रेसको पराजयको हामीले समीक्षा गरेका छौँ । सबैभन्दा टिकट वितरणमा गडबडी भयो भन्ने हामीले ठहर गरेका छौँ । त्योसँगै प्रदेशहरूको सिमांकनमा पनि केही कमिकमजोरी भएको छ । यी कारण पनि चुनावी हारका कारण हुन् ।

नेतृत्वले अब एकले अर्कालाई गाली गर्ने भन्दा पनि हारबाट पाठ सिकेर गल्तीलाई सुधार गर्दै जानुपर्छ । हो, वाम गठबन्धनको चुनावी तालमेलले पनि हामीलाई मनोवैज्ञानिक रूपमा केही कमजोर बनाएकै हो । योसँगै बागी र अन्तर्घात पनि हाम्रो चुनावी हारको अर्को कारण हो । हामीले यी सबै विषयमा गम्भीर छलफल गरेका छौँ ।

जेठमा हुने सभापति भेलाको एजेन्डा के ?
हामीले चुनावी हारको कारण, अन्तर्घात, गुट–उपगुटले पारेको प्रभावका बारेमा अब खुलेर बहस गर्नुको अर्को विकल्प छैन । त्यो भेलामा पनि हामी गम्भीर ढंगले कुरा राख्ने छौँ । हामीले कांग्रेसलाई सांगठनिक रूपमा बलियो बनाउनका लागि पनि यी विषयमा गम्भीर हुन जरुरी छ ।

पार्टीको सुदृढीकरण, शुद्धिकरण कसरी होला अब ?
हो हामीले त्यही कारण नेतृत्वलाई ५२ बुँदे पत्र बुझाएका हौँ । अब हामी कांग्रेसबाट दिक्क भएका कार्यकर्तालाई फेरि कांग्रेसमा ल्याउने वातावरण कसरी सिर्जना गर्ने ? संगठनको तल्लो तहदेखि नै संरचना कसरी बलियो बनाउलान् ? लगायतका विषयमा हामी समिति नै बनाएर अघि बढ्छौँ ।

संसदमा अब कांग्रेसको भूमिका कस्तो रहन्छ ?
हामी मूल्य र मान्यताको राजनीति गर्ने पार्टीको नेता हौँ । त्यसैले हामी अरूले विगतमा के गरे भनेर त्यतातिर लाग्दैनौँ । हामी रचनात्मक र सिर्जनात्मक ढंगले नै अघि बढ्छौँ । हामी बृफकेस च्यात्ने, कुर्सी हान्ने पक्षमा छैनौँ । सरकारले राम्रो काम गरे हाम्रो समर्थन रहन्छ । नराम्रो काम गरे विरोध हुन्छ । भारतमा पिबी नरसिंह रावल प्रधानमन्त्री हुँदा अटल विहारी बाजपेयीलाई राष्ट्रको नेतृत्व गराउँदै संयुक्त राष्ट्र संघमा पठाएका थिए ।

प्रतिपक्षको नेतालाई गरेको त्यस्तो सम्मान संसारकै नयाँ संस्कार पनि हो । नेहरू प्रधानमन्त्री हुँदा पनि प्रतिपक्ष दलका नेताले उनीसँग दुई वटा आफ्ना माग पूरा भए पाँच वर्ष सरकारको विरोध नगर्ने भनेका थिए । उनको पहिलो माग सरकारले सबै भारतीयहरूको घर–घरमा शौचालयको व्यवस्था गर्नुपर्ने थियो भने दोस्रो उनले सबै खाली जमिनमा सिंचाई पुर्याउनु पर्ने माग राखेका थिए ।

मैले भन्न खोजेको सरकार जनताका माग पूरा गर्नेतर्फ केन्द्रित भयो भने हामीले विरोध गर्नुपर्ने कारण नै हुँदैन तर त्यस्तो भएन भने हामी चुप लागेर बस्ने कुरा पनि हुँदैन ।

प्रतिक्रिया