जनताको आशा अनुसार काम गर्छौं

सामाजिक क्षेत्रमा काम गरिरहेका जगतबहादुर सुनार (विश्वकर्मा) ०५४ सालबाट सक्रिय राजनीतिमा सहभागी भए । वर्तमान अवस्थामा नेकपा एमालेको पोलिटब्युरो सदस्य रहेका उनी प्रदेश–४ का सचिव हुन् । कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् ।

केही दिनअघि मात्र मन्त्रालयले सार्वजनिक गरेको सय दिने कार्यक्रमको कार्यान्वयनमा बढी समय दिन थालेको बताउने उनले महाकवी लक्ष्मीप्रसाद देवकोटाको भनाइअनुसार ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने अवधारणाका साथ महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको र त्यसलाई जसरी पनि कार्यान्वयन गर्ने पक्षमा आफू र मन्त्रालय रहेको बताएका छन् ।

उनले आफूलाई कार्यसम्पादनको बन्धनका बाँध्नका लागि पनि महत्वकांक्षी कार्यक्रम ल्याएको बताए । यसै विषयमा केन्द्रित रहेर विश्वकर्मासँग सौर्य दैनिकले गरेको कुराकानीको सम्पादित अंश ।

युवा तथा खेलकुद मन्त्रालयले अहिले के गरिरहेको छ ?
मैले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको धेरै समय भएको छैन । यो समयमा हामी यस मन्त्रालयमा चालु रहेका योजना तथा कार्यक्रम कसरी अघि बढिरहेका छन् । हाम्रो कार्यशैली कस्तो हुन्छ ? हामीले गर्ने कामको प्राथमिकता के हो भन्ने विषयमा मन्त्रालयमा रहेका कर्मचारीलाई ब्रिफिङ गर्नेलगायतका काममा नै सीमित भइरहेको अवस्था छ । हिजोका नीति र प्रावधान के के छन् । केलाई परिमार्जनको आवश्यकता छ भन्ने विषयमा अध्ययन पनि गरिरहेका छौँ ।

सँगसँगै हामी बजेटको संघारमा पनि छौँ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । त्यो बजेटमा हामीले जनतासमक्ष गरेका प्रतिबद्धता, वर्तमान सरकारसँग जनताले राखेका आशा, अपेक्षालाई सम्बोधन गर्दै राष्ट्रसामुका चुनौती समाधानलाई केन्द्रभागमा राखेर राष्ट्रका आवश्यकताहरू सुशासन, विकास र समृद्धि कायम गरी सरकारले राखेको लक्ष्य समृद्ध नेपाल सुखी नेपालीलाई मुख्य लक्ष्य बनाएर काम गरिरहेको छ ।

त्यसका लागि आगामी बजेटमा समावेश गर्ने कुराहरू के के हुन सक्छन् भनेर अध्ययन र छलफलकै क्रममा छौँ । त्यस्तै हामीकहाँ आउनुहुने महानुभावहरूलाई पनि मैले समृद्ध नेपाल बनाउने तपाईंको योजना के हो हामीलाई लेखेर दिनुहोस् भन्ने गरेको छु । त्यसलाई पनि हामी समेटेर अघि बढ्नेछौँ ।

तपाईंले केहीदिन अघि सय दिने कार्यक्रम पनि सार्वजनिक गर्नुभएको छ, ती कार्यक्रममा केके समावेश गर्नुभएको छ ?
हाम्रा अघि रहेका चुनौती र जनताको आशाअपेक्षालाई ध्यानमा राखेर हामीसँग भएको थोरै समयमा धेरै काम गर्नुपर्ने जिम्मेवारी छ । अझै भनौँ अहिलेको सरकारका लागि सेकेन्ड सेकेन्डकै महत्व छ । त्यसैले हामीले हाम्रा जिम्मेवारीलाई पूरा गर्न आफूले आफूलाई बाँध्नुपर्ने जरुरी पनि छ । यसैको एक उदाहरण हो । सय दिने कार्यक्रम सार्वजनिक । हामीले सय दिने कार्यक्रममा निम्म कुरा समावेश गरेका छौँ ।

राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र नेपाल स्काउटको संगठनलाई संघीय ढाँचामा पुनः संरचना गर्ने, लैंगिक सम्पर्क बिन्दुहरूको अन्तरक्रिया गर्ने, मन्त्रालयलाई आवश्यक पर्ने ऐन निर्माण गर्ने तथा आवश्यक संशोधन गर्ने, हाई अल्टिच्यूट स्पोर्टस्को अध्ययन सुरु गर्ने, खेलकुदको राष्ट्रिय संघहरूको अभिलेख तयार गर्ने, खेल पूर्वाधार निर्माण तथा सञ्चालनमा सार्वजनिक निजी साझेदारीको सम्भाव्यता अध्ययन गर्ने, मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान गर्दै निर्माण सुरु गर्ने, संघीयता अनुकूल हुनेगरी राष्ट्रिय खेलकुद नीति, ०६७ लाई परिमार्जन गर्ने, खेलकुद गुरुयोजना तर्जुमा गर्ने कार्यक्रम समावेश गरेका छौँ ।

त्यस्तै युवा उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालन गर्ने, अपांगता भएका युवालाई सहयोग साम्रगी उपलब्ध गराउने, राष्ट्रपति महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने, युवा संसद् अभ्यासको थालनी गर्ने, खेल प्रशिक्षकको व्यवस्था गर्ने, स्पोर्टस् हस्पिटलको निर्माण प्रक्रिया थाल्ने, प्रादेशिक रंगशाला निर्माणको काम सुरु गर्ने, खेलाडीको प्रोत्साहत, अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीको सम्मान तथा प्रोत्साहन, नेपाल क्रिकेट संघको विवाद समाधानसहितका कार्यक्रम गर्ने योजना बनाएका छौँ ।  एउटा युवाले युवा तथा खेलकुद मन्त्रालय मेरो मन्त्रालय हो भन्ने आभास हुने गरी काम गर्नेसहितका योजना हामीले सार्वजनिक गरेका छौँ ।

केही महत्वकांक्षी जस्ता देखिने यी कार्यक्रम सय दिनमा पूरा होला त ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै भन्नुभएको छ नि ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ हामीले पनि फराकिलो उद्देश्य लिएका हौँ । अनि अर्को कुरा तपाईंहरूजस्तो मिडियालाई नै साक्षी राखेर कार्यक्रम सार्वजनिक गरेका छौँ । सय दिन पुगेपछि फेरि हामी आमसञ्चारका माध्यमलाई बोलाएर हाम्रा कार्यक्रम कस्ता भए, कहाँकहाँ हामी चुक्याैँ, कहाँकहाँ सफलता प्राप्त भयो भनेर सार्वजनिक गर्नेछौँ । अब हाम्रा कार्यक्रमको खबरदारी गर्ने, घच्घच्याउने जिम्मेवारी पनि तपाईंहरूलाई नै छ ।

अझैं भनौँ हाम्रा संकल्प पूरा गर्नका लागि पनि यो कार्यक्रम सार्वजनिक गरिएको हो । हामीले तपाईंले भनेजस्तै अलि महत्वकांक्षी कुरालाई पनि कार्यक्रममा समावेश गरेका छौँ । यो महत्वकांक्षा भनेको हामीलाई जनताले दिएको म्यान्डेड र उहाँहरूले गर्नुभएको आशा अपेक्षालाई पाँच वर्षमा पूरा गर्ने गरी सय दिनमा गर्नुपर्ने कामको सूची बनाइएको हो । मलाई लाग्छ हामी अझै ‘टिम स्प्रिट’ का साथ काम गर्नेछौँ । यो कार्यक्रममा समावेश नभएका अरू केही थप कार्यक्रम पनि यो बीचमा सम्पन्न हुनेछन् ।

सार्वजनिक गरिएका कार्यक्रम लोकप्रियताका लागि होइनन्, पक्कै पनि कार्यशैली थोरै परिवर्तन गर्नुपर्ला, अलि मिहिनेत गर्नुपर्ला । हामी हाम्रो प्रतिबद्धता जसरी पनि पूरा गर्ने गरी काम गर्नेछौँ । आउँदो १७ जेठमा यो कामको प्रगति प्रतिवेदन जनतासमक्ष पुर्याउनेछौँ । अनि मूल्यांकनको जिम्मा पनि उहाँहरूलाई नै दिनेछौँ ।

नेपालको सबैभन्दा ठूलो सम्पती भनेका युवा नै हुन् । पछिल्लो जनगणनाअनुसार ४० प्रतिशतभन्दा युवा छन् । तर, रोजगारीको अभावमा सबै विदेश जान बाध्य छन् । उनीहरूलाई यो बाध्यताबाट मुक्त गराउन, विदेशमा सीप सिकेका युवालाई स्वदेशमै आएर काम गर्ने वातावरण बनाउन तपाईंहरूले चालेका योजना के हुन् ?
हो आज हामी पछाडि परेका छौँ । नेपाल पछाडि परेको छ । देश विकासका क्रममा गति लिन सकिएको छैन । यसको पछाडि पनि तिनै युवाको कुरा छ । देशको विकासमा परिचालन गरिनुपर्ने युवापुस्ता विदेश रहँदा यो समस्या आएको अवश्य पनि हो । नेपालमा भएको प्राकृतिक साधन जति छन् तिनीहरूलाई देश र जनताको हितमा उचित व्यवस्थापन गर्नुपर्छ ।

स्रोतसाधनमा भरिपूर्ण भए पनि अहिले हामी नेपाली अभाव र गरिबीमा रुमलिएका छौँ । यो अवस्था अन्त्य गर्नका लागि हामीसँग प्रसस्त सम्भावना पनि छन् । सबैभन्दा ठूलो शक्ति भनेको युवा तपाईंले भनेजस्तै ४० प्रतिशतभन्दा बढी छन् । तिनीहरूलाई विकास र समृद्धिका लागि परिचालन गर्न सक्दा हामीले लिएको लक्ष्य पूरा हुन सक्छ ।

अबका दिनमा हामी युवा शक्तिलाई कसरी दक्ष बनाउने, युवाको क्षमता कसरी बढाउने, युवाको सीपलाई कसरी श्रमसँग जोड्ने, उत्पादनमा कसरी जोड्ने भन्ने विषयमा हामीले राम्रो अध्ययन गरेर नीति नै निर्माण गर्नेछौँ । जसका कारण उहाँहरूमा राष्ट्रिय भावना जागृत गराई आफ्नो देश बनाउने अभियानमा जुटौँ भन्ने लक्ष्यका साथ काम गर्नेछौँ । जसले विदेश जाने युवाको संख्या क्रमशः घट्नेछ ।

अनि विदेशमा रहेका युवाहरूलाई पनि स्वदेश फर्कने र नेपालमै काम गर्ने वातावरण बनाउनका लागि पनि हामीले काम गर्नेछौँ । अर्को कुरा सीप, क्षमता र दक्षता भएका युवा विदेशिने क्रम बढेको छ । यो क्रमबाट हामी पनि चिन्तित छौँ । यसलाई व्यवस्थापन गर्नु जरुरी छ । नत्र देशभक्तिको नारा नारामै सीमित हुन्छ । दक्ष जनशक्तिलाई जसरी पनि स्वदेशमै आकर्षित गराउनुपर्छ ।

हाम्रो देशको समृद्धिको महत्वपूर्ण आधार भनेको ऊर्जा, पर्यटन र कृषि हो ।यिनै तीन क्षेत्रमा अहिले विदेश जाने र विदेशमा रहेका युवालाई आकर्षित गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालयले पनि योजना बनाइहेको नै छ । हामी पनि आवश्यक समन्वय गर्नेछौँ ।

यसरी युवाहरूलाई देश निर्माण अभियानमा जुटाउने गरी नयाँ युवा नीति पनि हामी अघि सार्नेछौँ । देशको संघीय संरचना अनुसार अहिले भएको युवा नीतिलाई आवश्यक परिमार्जनसहित अघि बढाउनेछौँ ।

खेल क्षेत्रको विकासका लागि के गरिरहनुभएको छ ?
हामीले खेलकुदको क्षेत्रबाट पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ । त्यसैले खेलको विकास र समृद्धिका लागि खेलाडीको आवश्यक वातावरण निर्माण गर्नका लागि, खेलका लागि चाहिने भौतिक पूर्वाधार निर्माण गर्नका लागि आवश्यक कदम चाल्नु जरुरी छ भनेर नै हामीले काठमडौं उपत्यकालाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा सम्पन्न आधुनिक रंगशाला निर्माण गर्नेकुरा, सात वटै प्रदेशमा आधुनिक सेवासुविधासहितका रंगशाला बनाउने कुरा आगामी बजेटमा समावेश गर्नेछौँ भनेर सार्वजनिकरूपमै प्रतिबद्धता गरिरहेकै छौँ ।

यसमा हामी दृढ संकल्पित छौँ । मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान छ, त्यहाँ जग्गाको केही समस्याका कारण निर्माण अवरुद्ध भएको अवस्था छ । यो जग्गाको समस्या समाधान पनि छिट्टै हुनेछ । समस्या समाधानको प्रक्रिया हामीले अघि बढाइसकेका छौं । यो खेल मैदान आगामी दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यका साथ अघि बढेका छौँ ।

प्राविधिक कारणले चाहिने समयका लागि हामीले दुई वर्षको अवधि भनेका हौं । अनि खेल क्षेत्रका विभिन्न संघ, सबैभन्दा बढी उठ्ने विषय क्रिकेटसंघ क्यान यसमा रहेको विवाद समाधानका लागि आवश्यक कदम चाल्दै छौँ ।

आधुनिक रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसन अघि बढेको छ । सरकारले गर्न नसक्ने काम उनीहरूले गरे भनेर सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना छ । यो विषयलाई कसरी लिनुभएको छ ?

हो मैले पनि यस विषयमा सामाजिक सञ्जालमा आएका टीकाटिप्पणी सुनेको छु, पढेको छु । तर, उहाँहरू नै मलाई भेट्न आएर, रंगशाला बनाउने विषयमा जुन अवधारणा सुनाउनुभयो त्यसले मलाई सकारात्मक बनाएको छ । उहाँहरूको भनाई र योजना सुन्दा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको जस्तो नकारात्मक कुरा हो जस्तो मलाई लागेन । हामी उहाँहरूसँग अझै छलफल गर्ने नै छौँ ।

देशको विकासका लागि केही गरौँ भनेर कुनै नेपालीले भन्नेकुरा त्यो अभियानको नेतृत्व लिएर अघि बढ्ने कुरा जसले गरे पनि देशको हीतमा हुने कुरा नै हो । उहाँहरूले हामीलाई बताए अनुरूप के छ भने, ‘क्रिकेट खेलमैदान बनाउनका निम्ति भूमिका खेल्न हामी तयार छौँ । त्यसका लागि राज्यले हामीलाई आवश्यकता अनुसारको जग्गा उपलब्ध गराओस् । हामीले पैसा जम्मा गरेर यो काम गर्न खोजेको होइन ।

हामीले नेतृत्व गर्दा देश विदेशमा भएका नेपाली, नेपालको माया गर्ने जो कोहीले लगानी गर्न चाहनुभयो भने, हामी त्यसलाई स्वागत गर्नेछौँ । अनि सरकारी तवरबाट पनि धेरै सहयोगको अपेक्षा गर्छौं,’ भन्नुभएको छ । नेपालीले नै बगाएको पसिनाको मूल्यबाट मैदान बनाउने र त्यसको नेतृत्व मात्रै आफूले गर्न खोजेको भन्दै उहाँहरूले सरकारसँग साझेदार गरेर नै अघि बढ्ने बताउनुभयो ।

यसरी उहाँहरूको कुरा सुन्दा अरु क्षेत्रको विकास र समृद्धिका लागि निजी क्षेत्र साझेदारी बन्न सक्छ, निजी क्षेत्रकै स्रोत साधनलाई प्रयोग गरिरहेकै छौं । विदेशबाट दातृ निकायमको सहयोग खोजिरहेका छौँ, भने खेलको विकास र समृद्धिका लागि पनि निजी क्षेत्रलाई किन प्रयोग नगर्ने । यसर्थ धुर्मुस–सुन्तली फाउन्डेसन पनि खेलको विकास र समृद्धिका लागि सरकारको साझेदार बन्न सक्छ ।

उहाँहरूले राख्नुभएको अवधारणमा उल्लेख भएको कुरा के छ भने, निर्माण सम्पन्न भएको मैदान देश, जनता र खेलाडीका लागि मात्रै हुनेछ । कुनै व्यक्ति वा संस्थाको हीतमा हुनेछैन भन्नुभएको छ । यसरी सार्वजनिक हितका लागि काम गर्ने जो कोही नागरिक, संस्थाले हामीसँग सहकार्य गरेर अघि बढ्न सक्नेछ ।

स्थायी सरकारको नेतृत्व गर्ने मन्त्रीहरू भाषणमा सीमित भए, प्रतिफल दिने काम गर्न सकेनन् भन्ने टिप्पणी छ नि ?

हो, यसलाई मैले नकारात्मक रूपमा धेरै बुझेको छैन । आमसमुदाय, सरोकारवाला निकाय तथा जनताले हामीलाई गलत बाटोमा नहिँड है भनेर गरिएको खबरदारीका रूपमा लिएको छु । म सबैलाई विश्वास दिलाउन चाहन्छु, सबैलाई अपिल पनि गर्न चाहन्छु, सरकारको सय दिने कार्ययोजना विभिन्न मन्त्रालयबाट जे जे जारी भएको छ । यो छोटो अवधि छ । यो अवधिसम्म धैर्यधारणा गर्न आग्रह गर्दछु ।

सरकारले अघि सारेका जुन कार्ययोजना छन्, यी सफलता हुँदा हामी सबैलाई फाइदा गर्नेछ । यो राष्ट्रिय उपलब्धी हो, सम्पूर्ण नेपालीको उपलब्धी हो । यसलाई साँच्चै नै कार्यान्वयन गरेर उपलब्धी मुलक बनाउनका लागि हामी सबै लागौं, सबैले साथ समर्थन दिऔँ । सबैले संकल्प गरेर नै देश निर्माण हुने हो । देशको विकास र समृद्धि हासिल गर्ने हो । यही अनुरूप बुझिदिनुहुन समग्र क्षेत्रलाई एकमुष्ठ रूपमा अनुरोध गर्दछु ।

प्रतिक्रिया