तत्काल अमेरिकी फौज सिरियाबाट नफर्कने


वासिंगटन । सिरियामाथि भएको ताजा आक्रमणले त्याहाँ शान्ति स्थापनाको सम्भावनामा चिसो पानी खनिएको छ । अब, सिरियामा अमेरिकी सेना यथावत् रहने निर्णय गरेर दुई साताअघि आफैँले गरेको निर्णय अमेरिकाले उल्ट्याएको छ । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीका अनुसार सिरियामा अमेरिकी सेना यथावत् रहने कुरामा फ्रान्सको पनि सहमति रहेको छ ।

यसबाहेक अमेरिकाले सिरियासमेत रुसका विरुद्ध नयाँ प्रतिबन्ध पनि लगाउने भएको छ, जसको घोषणा चाँडै गरिने भएको छ । यो प्रतिबन्ध रुसले सिरियालाई लगातार समर्थन दिइरहेबापत लगाइने भएको छ । सबैलाई थाहा भएकै कुरा हो, ४ अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए । सो घोषणमा उनले सिरियाबाट आइएस समाप्त नभएसम्म दुई हजार सेना भने त्यहीँ रहनेसमेत बताएका थिए ।

तर, सोमबार मात्र संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो उद्देश्य पूरा नभएसम्म सिरियाबाट अमेरिकी सेना फिर्ता नहुने र कुनै किसिमको कटौती पनि नगरिने बताइन् । सिरियामाथि गरिएको ताजा आक्रमणपछि परिवर्तित परिस्थितिमा अमेरिकाले रुसलाई एक्ल्याउने भरपूर प्रयास गर्यो र त्यसमा केही हदसम्म ऊ सफल पनि रह्यो ।

संयुक्त राष्ट्र संघमा सिरियामा भएको आक्रमणविरुद्ध रुसले राखेको प्रस्तावमा कम समर्थन हुनु अमेरिकाका लागि ठूलो सफलता हो । त्यही सुरक्षा परिषद्को बैठकमा उसले सिरियाली राष्ट्रपति बसर आल असद अझै मानेनन् भने सिरियामा थप आक्रमण गर्ने प्रस्ट पारिएको छ । रुसका लागि यी दुवै कुरा कुनै ठूलो पराजयजस्तै भएको हो । अहिलेको अवस्थामा अमेरिका र रुसबीच शीतयुद्धको दोश्रो संस्करण चलिरहेको छ ।

राष्ट्र संघमा अमेरिकाले सिरियामा आफ्नो तीन उदेश्य रहेको प्रस्ट पारेको छ । जसमा, पहिलो सिरियामा फेरि रासायनिक आक्रमण हुनेछैन भन्ने ग्यारेन्टी, दोश्रो आतंकवादी संगठन आइएसलाई समाप्त गर्नु र तेश्रो इरानमाथि दृष्टि राख्नु रहेको छ । एउटा कुराकानीमा अमेरिकी राजदूत निक्की हेलीले सिरियाले अमेरिकासँग वा टु वान वार्ता गर्न पहिले नै अस्वीकार गरिसकेको छ ।  सिरिया अमेरिकासँग कुरै गर्न चाहँदैन भन्ने उनको भनाइ थियो । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले यस्तो कुरा बताएकी हुन् ।

प्रतिक्रिया