अमेरिकी नेतृत्वमा सिरियामाथि भिषण हवाई आक्रमण

दमास्कस । अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन् । यो कारबाही गत शनिबार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले ‘बर्बरता र क्रुरताविरुद्ध उचित शक्ति प्रयोग’ गरेको बताएका छन् ।

अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो । रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएकोमा अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएको छ । भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई ‘हस्तक्षेपकारी कार्य’ भन्दै तत्कालै संयुक्त राष्ट्रसंघको बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

अमेरिकाका लागि रुसका राजदूत आनाटोली आन्टोनोभले आक्रमणको दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भएको बताएको छ ।ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमणलाई ‘उचित र वैधानिक’ भन्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन् ।

मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको सोल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् – ‘तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र प्रयोगको मापदण्डको अनादर गरेका छन् ।’

हवाई हमलाप्रति इजरायलीको समर्थन

‘गत वर्ष राष्ट्रपति ट्रम्पले रासायनिक अस्त्रको प्रयोगले सीमा नाघेको प्रष्ट पारेका थिए । आज अमेरिकी नेतृत्वमा संयुक्त राज्य अमेरिका, फ्रान्स र संयुक्त अधिराज्यले त्यो सीमाको पालना गराएका छन् । ‘सिरिया घातक गतिविधिमा संलग्न भइरहेको छ र उसले इरानसहितका मुुलुकका लागि त्यस्तो गर्ने आधार पनि दिइरहेको छ । यसले सिरियाको सीमा, उसको फौज र नेतृत्वलाई जोखिममा पारेको छ ।’

कोही हताहत भएका छैनन् : रुस
रुसको रक्षा मन्त्रालयले आफूले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार सिरियामा भएको हवाई आक्रमणमा कोही पनि हताहत नभएको बताएको छ । प्रहार गरिएका १ सय ३ मध्ये ७१ वटा क्रुज क्षेप्यास्त्र सिरियाली पक्षले रोकिदिएको उसले जनाएको छ । चारवटा हवाई अखडालाई लक्ष्य गरी प्रहार गरिएका सबै र अरू दुई हवाई अखडातिर प्रहार गरिएकामध्ये आधाभन्दा बढी क्षेप्यास्त्रहरू खसालिएको उसको भनाइ छ ।

सिरिया हमलाबारे संसदमा बोल्छु : मे
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सिरियामा गरिएको हमलामा सहभागी हुने आफ्नो निर्णयको बचाउ गर्दै त्यसबारे संसद्मा सोमबार बोल्ने बताएकी छन् । उनले भनिन्, ‘यो घटनाक्रम र सैन्य गोपनीयताको सन्दर्भमा हामीले जे गर्यौं त्यो उचित थियो भन्ने मलाई लाग्छ ।’

हवाई हमलामा मर्केलको समर्थन
जर्मन चान्सलर एंगेला मर्केलले सिरियामा भएको हवाई हमलाप्रति आफ्नो समर्थन जनाएकी छन् । उनले उक्त हमला थप रासायनिक अस्त्र प्रयोगविरुद्ध राष्ट्रपति असदलाई सचेत गराउनका लागि ‘आवश्यक र उपयुक्त’ रहेको बताएकी हुन् ।

दमास्कस कस्तो देखियो ?
दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन् । जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन । पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन् ।  सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिस भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति असदको पक्षमा नाराबाजी गरिरहेका छन् ।
उनीहरू आफू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्न चाहन्छन् र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको आफ्नो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन नसक्ने बताउँदैछन् । उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन् ।

रासायनिक हमलामा सिरियाली सरकारनै संलग्न : ब्रिटिस प्रधानमन्त्री
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले गत साता डुमामा भएको रासायनिक हमला सिरिया सरकारबाहेक अरू कुनै समूहले गर्न नसक्ने बताएकी छन् । एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् ‘हामीलाई थाहा छ सिरियाली शासनले आफ्नै जनताविरुद्ध रासायनिक अस्त्र प्रयोग गर्ने गरेको घृणित इतिहास छ ।’

सिरियाली सरकारविरुद्ध गरिएको कारबाहीलाई ‘उचित र वैधानिक’ भन्दै उनले यो कदम त्यहाँको गृहयुद्धमा हस्तक्षेप गर्न भने नचालिएको बताइन् । ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ब्रिटेनले सिरियामा गरेको हमला ‘अत्यधिक सफल’ भएको बताउँदै हमलामा संलग्न चारवटा लडाकु विमानका सबै चालक दल सकुशल फर्किएको बताएका छन् ।

बिबिसीसँग कुराकानी गर्दै उनले भने, ‘प्रत्येक प्रारम्भिक संकेतले उक्त मिसन अत्यधिक सफल भएको बताउँछ.।’ हाम्रा सुरक्षाकर्मीको महत्वपूर्ण भूमिकाले भविष्यमा रासायनिक हतियारको प्रयोग गर्न सक्ने सिरियाली शासन क्षमतालाई कमजोर पारेको छ ।’

पश्चिमा हमला ‘असद शासनलाई एउटा स्पष्ट चेतावनी’
यो हमला झण्डै एक वर्षअघि सिरियाको हवाई अड्डामा अमेरिकी हमलाभन्दा उल्लेखनीय थियो तर प्रारम्भिकरूपमा हेर्दा राष्ट्रपति ट्रम्पको भनाइभन्दा हमला निकै सीमित छ । गत वर्ष ५९ वटा क्षेप्यास्त्र प्रहार गरिएका थिए । यसपटक करिब दोब्बर संख्यामा क्षेप्यास्त्रहरू प्रयोग भएका छन् । हालका लागि हमलाको क्रम रोकिएको छ ।

तर, यदि असद सत्ता पुनः रासायनिक हमलामा उत्रिएमा अरू हमलाले निरन्तरता पाउने छन् । अमेरिकी भनाइमा सिरियाली सर्वसाधारण र रुसीहरू नपरुन् भनेर सावधानी अपनाइएको छ । तर मौलिक प्रश्न कायम नै छ कि के सिरियाली राष्ट्रपति असद विचलित हुनेछन् ? गत वर्षको हवाई आक्रमणले उनको आचरणमा कुनै परिवर्तन ल्याउन सकेन । के यसपटक केही फरक हुनेछ ?

सिरिया हमला ‘कानुनीरूपमा प्रश्न उठाउन सकिने खालको’ : ब्रिटिस विपक्षी नेता
ब्रिटेनका विपक्षी नेता जेरेमी कोर्बिनले सिरियाविरुद्ध हमला गर्ने निर्णय ‘कानुनीरूपमा प्रश्न गर्न सकिने कदम’ भएको बताएका छन् । उनले प्रधानमन्त्री टरिजा मेले वासिंगटनबाट निर्देशन लिनुको सट्टा संसदबाट स्वीकृति खोजेको भए हुने बताएका हुन् ।

हवाई हमलामा ब्रिटेनको संलग्नता के थियो ?
ब्रिटेनका चार वटा ‘टोर्नेडो’ जेटहरू एकाबिहानै साइप्रस आरएएफ अक्रोटीरीबाट उडे । प्रत्येक जेटमा एक–एकवटा ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्रहरू रहेका थिए । क्रुज क्षेप्यास्त्र पाँच मिटर (१६ फिट) लामो रहेको छ र तीन सय माइल(चार सय ८० किलोमिटर) सम्म प्रहार गर्न सक्छ ।

जिपिएसको माध्यमबाट तिनिहरूले आफ्नो निसानामा हान्न सक्ने गरी मिलाइएको थियो । चार जेटहरूले निकै टाढादेखि सिरियाको हवाई अखडामा प्रहार गरे र सुरक्षितरूपमा फर्किए । रक्षामन्त्री ग्याभिन विलियम्सनका अनुसार उक्त हमलामा ब्रिटेनको भूमिका सानो देखिन सक्छ तर यो संयुक्त प्रयासले राष्ट्रपति असदलाई स्पष्ट सन्देश दिएको छ ।

सैन्य हमलाहरू अपराध हो स् इरानी सर्वोच्च नेता
इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले सिरियामा पश्चिमाहरूको हमला अपराध भएको र त्यसबाट कुनै उपलब्धि हासिल नहुने बताएका छन् । उनले भने, ‘अमेरिकाका साझेदारहरूले केही उपलब्धि हासिल गर्ने छैनन् । सिरियामा भएको आक्रमण अपराध हो ।’

इरानी टेलिभिजनद्वारा उद्धृत उनको भनाइमा ‘अमेरिकी राष्ट्रपति, ब्रिटेनकी प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपति अपराधी हुन् ।’इरान राष्ट्रपति बसर अल असदको बलियो समर्थक हो । उसले सिरियाली सरकारलाई मद्दत गर्न आफ्ना फौजहरू परिचालन गरेको छ र अर्बौं डलर खर्च गरेको ठानिएको छ ।

टर्कीले स्वागत गर्दै भन्यो, ‘उपयुक्त’ हवाई हमला’
टर्कीको विदेश मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् राष्ट्रपति बसर अल असदको शासनविरुद्ध गरिएको हवाई आक्रमणलाई ‘उपयुक्त प्रतिक्रिया’ भन्दै त्यसको स्वागत गरेको छ । गत साता डुमामा सिरियाली पक्षले गरेको भनिएको रासायनिक अस्त्रको प्रसंग उल्लेख गर्दै टर्कीले ब्रिटेन, अमेरिका र फ्रान्सले चालेको कदमले ‘मानवीय चेतनालाई सहज’ तुल्याएको टिप्पणी गरेको छ ।
अंकाराका दृष्टिमा डुमामा सर्वसाधारणविरुद्ध भएको आक्रमण ‘मानवताविरुद्धको अपराध’ सरह थियो र त्यसलाई दण्डित गर्नैपर्छ भन्ने उनको अडान छ । सिरिया सरकारले उक्त घटनालाई बढाइचढाइ गरिएको दाबी गरेको छ । उसको साझेदार रुसले भने त्यो घटनामा ब्रिटेनको पनि संलग्नता भएको आरोप लगाएको छ । टर्कीले सिरियाली सरकारविरुद्ध लडिरहेका विद्रोहीहरूलाई सघाएको छ । तर, उसले उत्तरी सिरियामा रहेका कुर्द फौजविरुद्ध पनि सैन्य कारबाही सुरु गरेको छ ।

उत्तरी सिरियामा हवाई आक्रमण गर्नका लागि टर्कीले रुससँग एउटा सहमति गरेको बताइएको छ । ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सिरियाविरूद्धको कारबाहीमा ब्रिटेन संलग्न भएकोमा स्वागत गरेका छन् । उनले भने, ‘रासायनिक अस्त्रको जस्तोसुकै प्रयोगविरूद्ध उत्रिन विश्व एकताबद्ध छ, खासगरी सर्वसाधारणविरूद्ध प्रयोग गरिँदा ।’ इरानद्वारा समर्थित लेबननी लडाकु समूह हिज्बुल्लाहले हमलाको निन्दा गरेको छ ।

उसका हजारौँ लडाकुहरूले सिरियाली युद्धमा त्यहाँको सेनालाई सघाउँदै आएको छ । हिज्बुल्लाहले एउटा वक्तव्यमा भनेको छ, ‘अमेरिकाले जुन युद्ध सिरिया, त्यस क्षेत्रका जनता, प्रतिरोध र मुक्ति आन्दोलनविरूद्ध गरिरहेको छ त्यसले आफ्नो उद्देश्य पुष्टि गर्नेछैन ।’

रुसी अखडाहरू ‘अछुतो’
अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकको क्षेत्रहरूलाई निशाना नबनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । सिरियाली राष्ट्रपति बसर अल असदको समर्थनमा रुसी सेनाले सन् २०१५ मा हवाई आक्रमण सुरू गरेको थियो जुन असदको पक्षमा युद्ध पार्नका लागि महत्वपूर्ण सावित भयो ।

समर्थकहरूसँग इयु एकताबद्ध रहन्छ : डोनल्ड टुस्क
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले शनिबार बिहान ट्वीटरमार्फत सिरियामा पश्चिमा शक्तिहरूले गरेको हवाई हमलाबारे प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्, ‘अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको हमलाले स्पष्ट पारेको छ कि सिरियाली सत्ता रुस र इरानसँग मिलेर अब यो मानवीय विपद्लाई निरन्तरता दिन सक्दैन, कम्तीमा कुनै मूल्य नचुकाइ ।’

संयम अपनाउन आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये तीन मुलुक अमेरिका, ब्रिटेन र फ्रान्सले आक्रमण गरेका विवरणहरूलाई नियालिरहेको बताएका छन् । उनले ‘राष्ट्रसंघीय बडापत्र तथा सामान्य अन्तर्राष्ट्रिय कानुनअनुसार कदम चाल्न’ उनीहरू जिम्मेवार रहेको बताए ।

गुटेरसले थपे, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी हो । म परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकढिक्का हुन र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दछु ।’ ‘म सबै सदस्य राष्ट्रहरूलाई यो खतरनाक स्थितिमा संयम अपनाउन र त्यहाँको स्थिति तथा सिरियाली जनताको पीडालाई झन् बिगार्न सक्ने अवस्था आउन नदिन आग्रह गर्दछु ।’

दुष्परिणाम निम्तिने इरानी चेतावनी

इरानले आफ्नो विश्वासिलो सरकारविरूद्धको ‘त्रिपक्षीय हमला’ को निन्दा गरेको छ र क्षेत्रीय दुष्परिणाम निम्त्याउने’ चेतावनी दिएको हिज्बुल्लाहको अल–मनार टेलिभिजनले जनाएको छ । समाचार संस्था एएफपीले इरानी विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, ‘संयुक्त राज्य अमेरिका र उसका साझेदार मुलुकहरूसँग कुनै प्रमाण छैन र उनीहरूले रासायनिक अस्त्र नियन्त्रणसम्बन्धी निकाय (ओपिसिडब्ल्यू) ले धारणा नबनाउँदै आक्रमण गरेका छन् ।

र, उनीहरू क्षेत्रीय दुष्परिणामका लागि जिम्मेवार छन् ।’ सिरियाको गृहयुद्धमा राष्ट्रपति बशर अल असदलाई सघाउन इरानले आफ्ना सयौँ फौज खटाएको र अर्बौं डलर सहयोग गरेको बताइन्छ ।

सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको छ ?
राष्ट्रपति बसर अल असदको सरकारले रासायनिक हतियार कहिल्यै प्रयोग नगरेको दोहोर्याउँदै आएको छ र गत शनिबार डुमामा विद्रोहीहरूले जालसाजी गरेर उक्त घटना गराएको बताएको छ । सरकारले उसको सम्पूर्ण रासायनिक अस्त्र निर्माणगृह सन् २०१३ को आक्रमणलगत्तै अमेरिका र रुसले गरेको मध्यस्थतापछि ध्वस्त पारेको बताउँछ ।

त्यसपछि स्नायुप्रणालीमा असर पार्ने सरिन तत्व भरिएको रकेट दमास्कस सहरबाहिर रहेका विपक्षी नियन्त्रित क्षेत्रमा प्रहार गरिएको थियो जसबाट सयौँ मानिस मारिएका थिए । तर, रासायनियक अस्त्रविरुद्धको राष्ट्रसंघीय निकाय ओपिसिडब्लुले त्यसपछि भएका चारवटा रासायनिक अस्त्र आक्रमणमा सरकारको संलग्नता रहेको बताएको छ । त्यसमध्ये अप्रिल २०१७ मा विद्रोही नियन्त्रित नगर खान शेखुनमाथि भएको आक्रमण पनि एक हो । त्यस आक्रमणमा पनि सरिन प्रयोग गरिएको थियो र ८० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया