अमेरिकी प्रस्तावमा रुसको ’भिटो’


राष्ट्र संघ । सिरियाको विद्रोही नियन्त्रित डुमा नगरमा भएको भनिएको रासायनिक हमलाबारे स्वतन्त्र छानबिन गर्नुपर्ने अमेरिकी मागविरूद्ध रुसले सुरक्षा परिषद्मा भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेको छ । योसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको देखिएको बिबिसीका राष्ट्रसंघीय मामिला संवाददाताले बताएका छन् । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्तावलाई न्यूनतम प्रतिक्रियाको रूपमा व्याख्या गरेकी छन् ।

डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत भएका छन् । तर, राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वासिङटनलाई आग्रह गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिएको शंकास्पद रायासनिक हमलाप्रति आफ्नो मुलुकले जनाउने प्रतिक्रियामा केन्द्रित हुन भन्दै ल्याटिन अमेरिकाको आफ्नो पहिलो भ्रमण रद्द गरेका छन् ।

ह्वाइट हाउसले भनेको छ, ‘सिरियाप्रतिको अमेरिकी प्रतिक्रियाको अनुगमन गर्न’ राष्ट्रपति ट्रम्प वासिङटनमै रहनेछन् । यसैबीच विश्वव्यापी रासायनिक अस्त्रको निगरानी गर्ने निकायले डुमामा सत्यतथ्य पत्ता लगाउन एउटा टोली पठाएको जनाएको छ । स्वास्थ्य सेवा दिने स्रोतहरूका अनुसार आरोपित रासायनिक हमलाबाट थुप्रै मानिसहरू मारिएका छन् । तर त्यसको पुष्टि गर्न चाहिँ सम्भव छैन ।

अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्ल्यू) ले आफ्नो टोली ‘छिट्टै’ सिरियामा परिचालित हुने बताएको हो ।  सिरिया र उसको सैन्य साझेदार रुसले जाँचकर्ताहरूको भ्रमणमा सघाउने जनाएपछि ओपिसिडब्ल्यूले आफ्नो टोली खटाउने समाचार प्रकाशमा आएको हो ।

प्रतिक्रिया