१३ सय करोडको ठगीमा पाँच सय वर्ष कैद

दुबई । दुबई अदालतले आइतबार दुई भारतीयलाई १३ सय करोड रुपैयाँ ठगी गरेको आरोपमा ५ सय वर्षको सजाय सुनाएको छ । गोवाका सिडनी लिमोस र उनका सिनियर लेखा विशेषज्ञ रियाना डिसुजाको बडो फुर्तिफार्ती थियो । फुटबल क्लबको दुनियाँमा उनको ठूला ठूला खेलाडीहरूसँग चिनजान थियो । लिमोस र रियान मिलेर पोञ्जी स्किममार्फत हजारौँ लगानीकर्तालाई ठगी गरे ।

यो स्किममार्फत लिमोसले लगानीकर्तालाई यस्तो लोभ देखाएका थिए की उनको कम्पनीमा २५ हजार डलर लगानी गर्नेलाई १ सय २० प्रतिशत वार्षिक भुक्तानी गरिनेछ । सुरुमा लिमोसको कम्पनीले लगानीकर्तालाई धेरै फाइदा पुर्यायो । तर, २०१६ मा पोञ्जी स्किम आरालो लाग्न थालेपछि कम्पनीले लगानीकर्तालाई भुक्तानी दिन बन्द गर्याे । मार्च २०१६ मा पोञ्जी स्किम धराशायी भएपछि दुबई आर्थिक विभागले सोही वर्ष जुलाइमा कम्पनीको कार्यालय पनि बन्द गरायो ।

यस विषयमा लिमोसकी पत्नीविरुद्ध पनि मुद्दा हालिएको छ । लिमोसकी पत्नीमाथि सिलबन्दी गरिएको कार्यालयमा गैरकानुनी ढंगले प्रवेश गरेर कागजात लगेको आरोप छ । २०१५ मा इन्डियन सुपर लिगमा गोवा फ्रेन्चाइजको एफसी गोवाको स्पोन्सर बनेपछि लिमोस चर्चामा आएका हुन् । उनको चिनजान यो लिगसँग जोडिएका चर्चित अनुहारसँग पनि थियो । जसमा सचिन तेन्दुलकर, अभिषेक बच्चन, र रणविर कपुरसम्म थिए ।

गोवाका मपुसाका वासिन्दा सिडनी लिमोसलाई डिसेम्बर २०१६ मा गिरफ्तार गरिएको थियो, तर उनी त्यतिखेर जमानतमा रिहा भएका थिए । गत जनवरीमा उनलाई फेरि पक्राउ गरियो । लिमोसमा सिनियर लेखा म्यानेजर रियानलाई गत वर्ष फेब्रुअरीमा दुवई एयरपोर्टबाट पक्राउ गरिसकिएको थियो । त्यतिबेला उनी भारत आउन लागेका थिए । तर लिमोसकी पत्नी भने भाग्न सफल भएकी थिइन् ।

प्रतिक्रिया