युलिया अस्पतालबाट डिस्चार्ज

लन्डन । इंग्ल्यान्डस्थित सोल्जबरी डिस्ट्रिक्ट अस्पतालबाट ३३ वर्षिया युलियालाई सोमबार डिस्चार्ज गरिएको र उनलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ । अस्पतालले उनको उपचार यतिमै नसकिने, तर उनको स्वास्थ्यमा निकै सुधार भएको बताएको छ । उनका ६६ वर्षीय बुबा अस्पतालमै छन् ।

उनले छोरी युलियाभन्दा सुस्त गतिमा स्वास्थ्यलाभ गरिरहेका बताइएको छ । गत ४ मार्चमा सेर्गेइ र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर गर्ने नोभिचक नामक रासायनिक पदार्थबाट आक्रमण गरिएपछि अस्पताल भर्ना गरिएको थियो ।  सेर्गेइ र उनकी छोरीलाई सोल्जबरी सहरको मध्यभागमा रहेको एउटा पार्कको बेन्चमा अचेत अवस्थामा भेटिएको थियो ।

गत हप्ता युके प्रहरीले युलियाको तर्फबाट एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा दैनिक सुधार भइरहेको जनाएको थियो ।  सेर्गेइ स्क्रिपाल भने सोल्जबरी अस्पतालमै छन्, तर उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ ।

अस्पतालकी निर्देशक डा. क्रिस्टिन ब्लानसार्डले युलियाको भन्दा सेर्गेइको स्वास्थ्य ढिलो गतिमा सुधार भए पनि सेर्गेइले अब केही दिनमै अस्पताल छाड्ने आशा लिएको बताइन् । ब्रिटिस सरकारले उक्त घटनाको पछाडि रुसको हात रहेको बताउँदै आएको छ । तर, रुसी सरकारले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र ब्रिटेनले झुटो कथा बनाएर प्रस्तुत गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया